कसरी धराशयी भए भाइस र बजफिड ?

देश/विदेश

आइतबार, ७ जेठ, २०८०
डिजिटल संस्करण

भाइस र बजफिड सधैँजसो तिनको व्यावसायिक मार्गमा अस्पष्ट रहँदा दीर्घकालमा लगानीकर्ता विकर्षित भए र दुवै धराशयी भए

सन् २०१३ मा रुपर्ट मर्डोकले भाइस मिडियामा लाखौँ पाउन्ड लगानी गरेपछि सो मिडिया संस्थाका मालिक सेन स्मिथले सबै परम्परागत मिडिया कम्पनी उनको व्यवसायको हिस्सा बन्ने होडमा रहेको भन्दै व्यंग्य गरेका थिए । नयाँ मिडियाको दौडमा पछि पर्ने डरले पुराना मिडियाले आफूहरूलाई अर्बौँ डलरको खरिद प्रस्ताव गर्ने भविष्यवाणी गर्दै स्मिथले भनेका थिए, ‘तर हामी निरन्तर अस्वीकार गरिरहनेछौँ ।’ स्मिथले उनको कम्पनीबारे यस्तो दाबी गरिरहँदा उनको मिडिया हाउसका निकट प्रतिद्वन्द्वी बजफिडका प्रमुख जोनाह पेरेटी उनको कम्पनीको विश्वव्यापी विस्तारबारे छलफल गर्न लन्डनमा थिए । पेरेटीले डिजिटल मिडियाप्रति लगानीलाई लिएर ठूलो चासो रहेका,े तर पैसामा मात्र ध्यान दिए आफूहरूको मूल काम छायामा पर्नेमा सतर्क रहेको बताएका थिए ।

अहिले पुनः भाइस मिडिया र बजफिडको मूल्य चर्चामा छ । बजफिडले उसको सामाचार एकाइ बन्द गरेको केही साताअघि यही साताको सुरुमा भाइस मिडियाले ‘टाट पल्टिएपछिको सुरक्षा’का लागि आवेदन दिएको छ । कुनै समय विश्वका ठूला मिडिया संस्थानलाई चुनौतीका रूपमा उदाएका यी दुई डिजिटल मिडिया कम्पनीलाई एक दशकअघिसम्म ‘मिडियाको भविष्य’का रूपमा हेरिएको थियो । तर, आज आए दुवै धराशयी बने । मर्डोकले लाखौँ पाउन्डको लगानी घोषणा गर्दा भाइसको मूल्यांकन करिब ६ अर्ब डलर पुगेको थियो । अहिले ऋणदाताले यसलाई दुई सय २५ मिलियन डलरमा किन्ने अपेक्षा छ । भाइसमा लगानीकर्ताले खर्चेको ठूलो रकम त खेर गयो नै, यसले अझै ८३.४ करोड डलरको विशाल ऋण तिर्नुपर्ने देखिएको छ । यस ऋणको बढ्दो ब्याजले यसको भविष्य अनिश्चित बनायो । उता समाचारका लागि पुरस्कार पाइरहेको बजफिडका लागि ती कुरा आयको पर्याप्त स्रोत थिएनन् ।

यी विशाल ह्रासका कारण तुलनात्मक रूपमा सरल भए पनि ह्रासबाट बेरोजगार भएकाका लागि भने यो हृदयविदारक साबित भएको छ । आखिर गल्ती कहाँबाट सुरु भयो त ? त्यसमा बिग्रँदो आर्थिक वातावरण, कुव्यवस्थापनले मात्र भूमिका खेलेन । खासमा यी दुई डिजिटल मिडियाले अँगालेका भुक्तानी प्रणालीले पनि असफलताको बाटो खनेका थिए । इन्टरनेटले विश्वव्यापी पहुँच विस्तार गर्नुअघि भाइस एक ‘पंक’ म्यागजिन थियो । प्रभाव बढेपछि यसले एक चर्चित बास्केटबल स्टारलाई उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्तामा पठाउन सक्नेसम्म भएको थियो । क्यालिर्फोनियानिवासी एक उदारवादीद्वारा स्थापित बजफिडले इन्टरनेटको ‘द न्युयोर्क टाइम्स’ हुने लक्ष्य बोकेको थियो । 

दुवै संस्थाको मूल दर्शन थियो– सामग्रीले दर्शकसम्मको पहुँच पाउनु नै पर्याप्त हुन्छ । निरन्तर अपडेटको बानीमा हुर्केका नयाँ पुस्तालाई तान्ने सामग्री निर्माणका लागि डिजिटल रूपमा आउने विज्ञापन पर्याप्त हुने तिनको व्यावसायिक मोडेल थियो । यिनै मिडिया सँगसँगै जन्मिएर हुर्किएका सोसल मिडिया कम्पनीले पत्रिका नपढ्ने र टिभी नहेर्ने युवा पाठकको हातहातैमा डिजिटल मिडियाका समाचार लिंक पुर्याउन सघाए । गुगल एनालिटिक्सको तथ्यांकमा १८ देखि ३४ वर्षका अमेरिकीमध्ये आधालाई प्रत्येक महिना आफ्नो वेबपेजमा तान्न सफल बजफिड डट कम प्रभावी मिडियाका रूपमा देखापर्न थाल्यो । भलै प्रयोगकर्ताले ती मिडिया सामग्रीको प्रयोगबापत कुनै पैसा तिर्दैनथे, विज्ञापनले भरपाई गरिरहेको थियो । तर, हरेक सामग्रीमा आइरहने विज्ञापनबाट थकित पाठक बिरक्तिँदै टाढिन थाले । र, पाठकसँगै तिनका विज्ञापनदाता पनि टाडिए । 

इन्डर्स एनालिसिसका टेक्नोलोजी प्रमुख जोसेफ टिस्डेलका अनुसार यी डिजिटल मिडियाले प्रारम्भिक समयमा (जुन समय सामाजिक सञ्जालको समेत प्रारम्भिक दिने थिए ।) सामना गर्नुपरेका प्रमुख समस्यामा ‘कस्तो व्यावसायिक बाटो’ रोज्ने भन्ने अन्योल पनि एक थियो । लगानीकर्ताले भविष्यको सफलताको आशामा लगानी त गर्छन्, तर सीमित समयका लागि मात्र । त्यस्तै, फेसबुक र गुगलजस्ता प्लाटफर्म आयको विश्वसनीय स्रोत साबित भएनन् । कुनै सल्लाहविना, फेसबुकले एकतर्फी रूपमा फेर्ने एल्गोरिदमले समाचार प्रवर्द्धन घट्ने स्थिति बन्न थाले । त्यस्तै, गुगललाई विज्ञापन र सम्पादकीयको भिन्नता तथा मूल्यबारे निरन्तर मनाउनुपर्ने स्थिति आइलाग्यो । बजफिड र भाइस यी स्थितिसँग जुध्ने पहिलो माध्यम थिए । उता यी साइट जुन किशोर तथा युवा समुदायलक्षित थिए, ती आफैँ स्न्यापच्याट र टिकटकजस्ता अझ छोटो भिडियो सामग्रीतर्फ तानिए । 

लगानीकर्ता युवापुस्तालाई सूचना र समाचार प्रदान गर्ने नयाँ उद्यमलाई समर्थन गर्न अनिच्छुक छन् भन्नेचाहिँ होइन । स्मिथले अमेरिकामा सुरु गरेको एक नयाँ अनलाइनदेखि र लन्डन आधार रहेका ‘टोरटोइज’ तथा ‘द न्युज मुभमेन्ट’मा भएका लगानीले पनि त्यो देखाउँछ । भाइस मिडिया र बजफिडले तिनको स्पष्ट व्यापार योजना विकास गर्न प्रयास गर्दै, असफल हुँदै गर्दा परम्परागत मिडिया कम्पनीले घट्दो वितरण र विज्ञापन राजस्वबीच पैसा कमाउने नयाँ तरिका विकासमा ध्यान दिए । अनलाइनमा चर्को आवाज बिक्ने देखेर केही स्थापित मिडिया आफैँ चर्का हुँदै गए । यसको उदाहरण अमेरिकाको फक्स न्युज हो, जसका मालिक मडर्कले भाइसजस्ता दुई मिडिया व्यवसायमा लगानी गरेर अहिले फक्समै सफलता हासिल गरिरहेका छन् । भाइस र बजफिडजस्ता डिजिटल मिडियामा भएका प्रयोगपछि यदि चर्को आवाज मात्र बाँकी रहने हो भने हामी सबैले सोच्ने वेला आएको छ ।

(मार्टिनसन गार्जियनकी स्तम्भकार हुन्) 
द गार्जियनबाट

 

सुझावित समाचार