हरियाली डाँडाको बीचमा ठडिएको छ आधुनिक भव्य भवन । भवनको छतमा फहराइरहेको छ नेपालको झन्डा । टाढैबाट विशाल र प्रस्ट देखिने मात्रै होइन, नजिक पुग्दा पनि निकै व्यवस्थित छ । भवनपरिसर सफा र सुन्दर छ । भवनका सबै कोठा बेन्च र सोफाले सजिएका छन् । हेर्दै आकर्षक यो दृश्य ललितपुर गोटीखेलस्थित महाँकाल गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको हो ।
एक महिनाअघि निर्माण सम्पन्न भएयता सेवाप्रवाह पनि निकै चुस्त भएको सेवाग्राही बताउँछन् । सहरी क्षेत्रकै स्थानीय तह भाडाका भवनमा बसिरहेका वेला ग्रामीण भेगका स्थानीय सरकारले सेवा र संरचनामा सेवाग्राहीलाई ‘गाउँमा सिंहदरबारको’ अनुभूत गराइरहेका छन् ।
संघीय राजधानीसँगै जोडिएको ललितपुर जिल्लाको सुदूर क्षेत्रमा पर्ने तीनैवटा गाउँपालिकाको कार्यालय भवन लोभलाग्दो र चिरिच्याट्ट छन् । जिल्लाको दक्षिणमा रहेको कोन्ज्योसोम गाउँपालिकाले पनि प्रशासकीय भवन व्यवस्थित र चिरिच्याट्ट पारेको छ । भवनको बाहिर डिजिटल डिस्प्ले, नागरिक बडापत्र र कार्यालयले प्रदान गर्ने सेवा–सुविधाबारे प्रस्टसँग रंगीन अक्षरसहितको बोर्डमा राखिएका छन् । जसका कारण कोठा–कोठा धाउनुपर्ने बाध्यता अन्त्य भएको सेवाग्राही बताउँछन् ।
दक्षिण भेगकै बागमती गाउँपालिकाले पनि हालै आफ्नै भवन निर्माण गरिसकेको छ । यी गाउँपालिकाहरूले जिल्ला समन्वय समिति, प्रदेश सरकार र पालिकाको बजेटमार्फत व्यवस्थित र सुविधायुक्त भवन बनाएका हुन् । गाउँपालिकाको आफ्नै भवन बनेपछि सेवा प्रवाह सहज भएको कोन्ज्योसोमका कृष्णप्रसाद घिमिरेले बताए । ‘यसअघि तीनवटै गाउँपालिकाका भवन साँघुरा र अव्यवस्थित थिए,’ उनले भने, ‘पहिले–पहिले गाउँपालिकाको कार्यालय कहाँ छ भनेर ठम्याउन पनि मुस्किल थियो, अब टाढैबाट प्रस्ट देखिन्छन् ।’ तीनवटै गाउँपालिकाले यसअघि भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएका थिए । जसका कारण भिडभाड, अव्यवस्थित र भाडामै धेरै रकम तिर्नुपर्ने हुन्थ्यो । नयाँ भवन निर्माणपछि यी सबै समस्या हटेको छ । दक्षिण ललितपुरका यी गाउँपालिकामा खानेपानी, शिक्षा, स्वास्थ्य, यातायातलगायतमा भने अझै पछि नै छ ।
लिफ्टसहित उभियो महाँकाल गापाको भवन
महाँकाल गाउँपालिकाको नवनिर्मित भवन लिफ्टसहित अपांगतामैत्री छ । भवन निर्माणका लागि गाउँपालिकाले एक करोड ३० लाख रुपैयाँको जग्गा खरिद गरेको थियो । भवनमा ४० कोठा छन् भने भवन निर्माणमा करिब सात करोड ५० हजार रुपैयाँ लागेको छ । पालिकाकी उपप्रमुख डोल्मामाया गोलेले नयाँ भवन बनेपछि सेवा प्रवाहमा सहज भइरहेको बताइन् ।
बागमती गाउँपालिकाको भवन बन्यो, पहुँच सडक बनेन
बागमती गाउँपालिकाले पनि हालै नयाँ भवन पाएको छ । छपेलीस्थित नयाँ भवन पाएपछि सेवा प्रवाहमा सुधार भएको छ । यसअघि गाउँपालिका भाडाको भवनमा थियो । आठ करोड ८७ लाख रुपैयाँमा निर्माण भएको तीनतले भवनमा २२ वटा कोठा छन् । तर, पालिकाबाट भवनसम्म जाने पहुँच सडक भने कच्ची र डरलाग्दो छ । भवन निर्माणमा ठूलो रकम खर्च भएकाले तत्काल सडक पिच गर्न सक्ने अवस्था नभएको पालिका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । ‘भौगोलिक हिसाबले यो ठाउँ निकै दुर्गम छ, कतिपय गाउँमा अझै बाटो पुगेको छैन, सेवाग्राहीलाई सहज होस् भनेर पहिला भवन निर्माण गरेका छौँ,’ उनले भने, ‘सेवा प्रवाह पनि व्यवस्थित भएको छ ।’
कोन्ज्योसोम गाउँपालिका टहरो हुँदै सुविधासम्पन्न भवनमा
ललितपुर चौघरेस्थित कोन्ज्योसोम गाउँपालिकाले पनि आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ । चार वर्षअघि टहरोबाट सेवा प्रवाह गरेको यस गाउँपालिकाले डेढ वर्षअघि नयाँ भवन पाएको हो । ‘भवन निर्माण हुनुअघि झोलामै खातापाता बोकेर पनि कार्यालय सञ्चालन भयो,’ गाउँपालिकाका पूर्वअध्यक्ष गोपीलाल सिङ्तानले भने, ‘मेरो कार्यकालको महŒवपूर्ण काम भवन निर्माण थियो, जसले अहिले सेवा प्रवाहमा सहजता भएको छ ।’ प्रदेश सरकार, जिल्ला समन्वय समितिको अनुदानमा बनेको यो भवन निर्माणमा चार करोड ३२ लाख २३ हजार रुपैयाँ खर्च भएको थियो । दुर्गम क्षेत्रमा सुविधायुक्त र चिरिच्याट्ट दुईतले भवन निर्माण भएपछि स्थानीयलाई सहज भएको छ ।
महालक्ष्मी नगरपालिका भाडाको भवनमा, नयाँ भवन निर्माण गर्दै महानगर
ललितपुरका ६ पालिकामध्ये महालक्ष्मी नगरपालिका अझै भाडाको भवनमा छ । नगरपालिकाले मासिक ६ लाख भाडा तिरेर महालक्ष्मी क्षेत्रमा प्रशासनिक भवन चलाउँदै आएको छ । गोदावरी नगरपालिकाले पनि एक वर्षअघि प्रशासनिक भवन तयार पारेको छ भने पुल्चोकस्थित ललितपुर महानगरले अर्को नयाँ भवन बनाउन सुरु गरेको छ । पुरानो भवनमा प्रशासनिक कार्य गर्न साँघुरो भएको र छरिएर सेवा प्रवाह गर्नुपरेको भन्दै महानगरले एक वर्षअघिदेखि नयाँ भवन निर्माण थालेको हो ।