गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजना विद्युत् कर्मचारीको ज्यान गएको छ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखामा कार्यरत ४१ वर्षीय गोपालकुमार यादवकाे ज्यान गएको हो ।
राति ९ बजेको समयमा चन्द्रनिगाहपुरबाट सर्लाहीस्थित घर जाने क्रममा पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर–बागमती सडकखण्डको लच्कानजिकै उनी चढेकाे प्रदेश २०३०२० प २१९४ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतिर आउँदै गरेको ना.२त २९८३ नम्बरको ट्याक्टर एक–आपसमा ठोक्किएको थियो ।
मृतक यादवको शव चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा रहेको र ठक्कर दिने ट्याक्टरका चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । रातिको हावाहुरी र वर्षाका वेला दुर्घटना भएको थियो । मृतक यादव नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखामा मिटररिडर पदमा कार्यरत रहेका थिए ।