टोपबहादुर रायमाझी काठमाडौंमै पक्राउ

आइतबार, ३१ बैशाख, २०८०
डिजिटल संस्करण

नक्कली शरणार्थी बनाएर विदेश लैजाने नाममा भएको ठगी मुद्दामा फरार रहेका एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी आज पक्राउ परेका छन् । फरार भएको ११औँ दिनमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रहरी उच्च स्रोतका अनुसार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लगायत निकायबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । दुई साताअघि उनीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि आत्मसमर्पण गर्न प्रहरीले सहजीकरण गरेपछि झुक्याउँदै उनी फरार भएका थिए । 

गत २० वैशाखमा गृहजिल्ला अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रममा सहभागी हुँदा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो । त्यस दिन काठमाडौं गएर प्रहरीलाई सघाउने उनले बताएका थिए । 

तर, त्यो दिन काठमाडौं आएनन् । भोलिपल्ट पक्राउ गर्न प्रहरी टोली गएकोमा आफैँ प्रहरीमा उपस्थित हुने भन्दै पक्राउ नगर्न आग्रह गरेपछि प्रहरी टोली फर्किएको थियो । 

प्रहरीलाई झुक्याएर उनी फरार भएका थिए । उनका छोरा सन्दीपलाई भने २० वैशाखमै प्रहरीले पक्राउ गरिसकेको छ । रायमाझी बाबु–छोराले बिचौलिया गिरोहबाट पटक–पटक पैसा लिएको पुष्टि भएपछि पक्राउ पुर्जी जारी भएको थियो । 

सो मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाण चार दिनदेखि हिरासतमा छन् । सात बिचौलियासहित यसअघि १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

सुझावित समाचार