तीन दलका शीर्ष नेता र सचेतकबीच छलफल

आइतबार, ३१ बैशाख, २०८०
डिजिटल संस्करण

संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफल सकिएको छ।

आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफल जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समिति गठन गर्ने विषयमा केन्द्रित भएको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए।

बैठकमा सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई छिटो टुंगाेमा पुर्याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नेलगायतका विषयमा छलफल भएको बताइएको छ।

पाण्डेका अनुसार संसद्का विषयगत समितिहरू गठन गर्न बाँकी रहेको भन्दै सत्यनिरुपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने आवश्यकता रहेको विषयमा बैठकमा छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा एमालेका उपनेता सुवास नेम्वाङ सहभागी थिए।

सुझावित समाचार