क्लिंकर सार्ने बेल्टले हात काटिएर मृत्यु भएका भारतीय इन्जिनियरको शव परिवारलाई बुझाइयो

शुक्रबार, २९ बैशाख, २०८०
डिजिटल संस्करण

सिराहाको गोलबजार नगरपालिका– ९ चोहर्वास्थित मारुती सिमेन्ट उद्योगमा क्लिंकर माथि सार्ने बेल्टमा हात च्यापिएर चुँडिएपछि मृत्यु भएका भारतीय मेकानिकल इन्जिनियरको शव परिवारलाई बुझाइएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार बेल्टले दाहिने हात चुँडिएर मृत्यु भएका भारतको मध्यप्रदेश सतना जिल्लाका करिब २५ वर्षीय इन्जिनियर अनुराग तिवारीको शव मृतकका आफन्तलाई जिम्मा लगाई भारत पठाइएको हो।

जिल्ला सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पतालमा शवको पोस्टमार्टम गरी बिहीबार साँझ करिब ६ बजेतिर परिवारको जिम्मा लगाइएको उनले बताए। उद्योगस्थित अखिल नेपाल औद्योगिक मजदुर संघका अध्यक्ष ओपिन्द्रकुमार महतोका अनुसार उद्योगले मृतक परिवारलाई शव घर पुर्याएर दाहसंस्कार र काजकिरियाका लागि तत्काल सवा लाख रुपैयाँ उपलब्ध गराएको छ। 

करिब महिना दिनअघि उद्योगमा आएका मेकानिकल इन्जिनियर तिवारी बुधबार अपराह्न ४ बजेतिर क्लिंकर बोकेर बेगर (भकारी)सम्म पुर्याउने बेल्टको नटबोल्ट चेकजाँच गर्ने क्रममा चिप्लिएर दाहिने हात बेल्टले च्यापेपछि हात चुँडिएको थियो। ‘एक्लै भएकाले बेल्ट माथि सर्नबाट रोक्ने स्विच दबाउने पनि कोही भएनछन्,’ महतोले भने, ‘हात नै चुँडिएर अत्यधिक रक्तस्राव भएपछि तत्काल उद्धार गरी कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरे।’

उद्योगको हेलचेक्य्राइँले मजदुरको मृत्यु
गोलबजार नगरपालिका– ९ का निवर्तमान वडाध्यक्ष तथा मजदुरको हकहितमा आवाज उठाउँदै आएका रामपुकार कामतीका अनुसार उद्योगमा कार्यरत मजदुरहरूको सुरक्षा प्रबन्धमा उद्योग प्रशासनले हेलचेक्य्राइँ गर्दा मजदुरहरूको दुर्घटनामा मृत्यु  हुने क्रम नरोकिएको आरोप लगाए।

‘पछिल्लो दुई वर्षको अवधिमा मात्र तीन नेपाली र तीन भारतीय गरी ६ जना मजदुरको मृत्यु भएको छ,’ उनले भने, ‘उद्योग प्रशासनले सुरक्षा प्रबन्ध राम्रो बनाउनुभन्दा मृतक परिवारलाई सामान्य आर्थिक सहयोग गरेर पन्छिने गरेको छ।’

भारतीय इन्जिनियरको तत्काल उद्धार गरी उपचारमा पुर्याइएको भए बाँच्न सक्ने दाबी गर्दै उनले भने, ‘तर, उद्योग प्रशासनले लापरबाही गर्याे।’ उद्योग प्रशासनकै लापरबाही र बेवास्ताले मजदुरहरू दुर्घटनामा परेर मर्ने क्रम रोकिएको छैन। तर, कुनै पनि घटनाको छानबिन र कारबाही हुँदैन, उद्योग प्रशासनको अगाडि सबै संयन्त्र निरीह छ।’

उद्योगमा प्राविधिक, क्लिंकर तथा सिमेन्ट उत्पादनमा ६५ भारतीयसहित एक सय ९० मजदुर कार्यरत रहेको संघले जनाएको छ। ०६३ सालमा क्लिंकर उत्पादनबाट सुरु भएको यो उद्योगले त्यसको तीन वर्षपछि मारुती ओपिसी ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ।

सुझावित समाचार