प्रहरी हिरासतमा पुग्दासमेत कांग्रेसले गरेन खाणलाई कारबाही

शुक्रबार, २९ बैशाख, २०८०
डिजिटल संस्करण

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई शरणार्थीका नाममा भएको ठगी प्रकरणमा प्रहरीले पक्राउ गरिसक्दासमेत पार्टीले आन्तरिक कारबाही गरेको छैन । जब कि पार्टीभित्रै उनलाई जिम्मेवारीबाट निलम्बन गरेर अनुसन्धानमा सघाउनुपर्ने जोडदार आवाज उठिरहेको छ । 

बिहीबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले खाणलाई जिम्मेवारीबाट मुक्त गराएर अनुसन्धानलाई सघाउनुपर्ने बताएका थिए । ‘अधिकांश पदाधिकारी खाणलाई निलम्बन गर्नुपर्ने पक्षमा उभिनुभएको छ । पार्टीले निलम्बन गर्नेभन्दा पनि उहाँ (खाण) आफैँ जिम्मेवारीबाट अलग भइदिए अझ राम्रो हुन्थ्यो भन्ने थियो,’ बैठकमा सहभागी एक पदाधिकारीले भने । 

बैठकमा देउवाले भने, ‘छलफल गर्दै जाऊँ, जे उपयुक्त हुन्छ, त्यही गरौँला’
पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणमा पार्टीको साझा धारणा बनाउन माग गरेका थिए । ‘केपी ओलीले यो प्रकरणमा सदनमा बोल्छु भन्नुभएको छ । एमालेले आफ्नो धारणा राख्दै गर्दा हामीले पनि हाम्रो धारणा बनाउनुपर्छ । हाम्रो धारणा के हो ? के बोल्ने ? के भन्ने ?’ उनको प्रश्न थियो । जवाफमा सभापति शेरबहादुर देउवाले ‘यस विषयमा छलफल गर्दै जाऊँ, जे उपयुक्त हुन्छ त्यही गरौँला’ भनेका थिए । 

तर, सभापति देउवानिकट नेताहरूले भने आफ्ना नेता अप्ठ्यारोमा परेका वेला पार्टीले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री महेन्द्र यादव र पूर्वउपसभापति विजय गच्छदारले यस्तो धारणा राखेको ती पदाधिकारीले बताए । 

महामन्त्री थापाले भुटानी शरणार्थी प्रकरणमा पार्टीको साझा धारणा बनाउनसमेत माग गरेका थिए । ‘केपी ओलीले यो प्रकरणमा सदनमा बोल्छु भन्नुभएको छ । एमालेले आफ्नो धारणा राख्दै गर्दा हामीले पनि हाम्रो धारणा बनाउनुपर्छ । के बोल्ने, के भन्ने भनेर हामीले साझा धारणा बनाउनुपर्छ,’ थापाले भनेका थिए । जवाफमा सभापति देउवाले ‘यसमा छलफल गर्दै जाउँ, जे उपयुक्त हुन्छ त्यही गरौँ’ भनेका थिए । 

सहमहामन्त्री जीवन परियारले खाणको विषयमा कुनै औपचारिक निर्णय नभएको बताए । ‘उहाँ (खाण)को विषयमा विभिन्न धारणा आए । यही गर्ने भनेर निष्कर्षमा पुगिएको छैन,’ उनले भने, ‘एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गरेकाले हाम्रोमा पनि गर्नुपर्छ भनेर उठेको छ । दोषी ठहरिएपछि के गर्ने भन्ने होला । तर, अहिले विचाराधीन विषयमा धारणा बनाएर जाने कुरा छैन,’ उनले भने ।  

परियारका अनुसार खाणले हिरासतमा बसेर अनुसन्धानमा सघाइरहेको र अदालतबाट निर्णय आइसकेपछि मात्र पार्टीले निर्णय गर्ने समझदारी बनेको छ । ‘नक्कली शरणार्थी बनाएर अमेरिका लाने गिरोहले जुन प्रपञ्च गरेको छ, यसमा सरकारले निष्पक्ष र तटस्थ छानबिन गर्नुपर्छ । दोषीलाई कुनै हालतमा छोड्नुहुँदैन, निर्दाेष कोही पर्नुहुँदैन । यसमा कांग्रेसले खुलेर सहयोग गरेको छ,’ परियारले भने । खाणले गिरफ्तारीमा परेर अनुसन्धानमा सघाएको भन्दै परियारले थपे, ‘कांग्रेस दोषी उम्काउने पक्षमा छैन । अनुसन्धान निष्पक्ष होस्, अदालतले जे निर्णय गर्छ सहयोग गर्छाैँ ।’  

बैठकमा कोसी प्रदेश सरकारमा केन्द्रकै समीकरण मिलाउन पहल गर्ने निर्णय भएको सहमहामन्त्री परियारले बताए । उनका अनुसार बैठकमा बजेट अधिवेशन तथा राष्ट्रपतिकहाँ विचाराधीन नागरिकता विधेयकका विषयमा पनि छलफल भएको थियो । ‘राष्ट्रिय सहमति निर्माण गरेर नागरिकता विधेयक प्रमाणीकरण गर्न वातावरण बनाउने, संसद्बाट पत्र पठाउने कि कसरी जाने भनेर कानुनविद्सँग छलफल गरी राय लिने निर्णय भएको छ,’ उनले भने ।  

सुझावित समाचार