यसरी सुध्रिन्छ हस्तलेखन

सोमबार, २५ बैशाख, २०८०
डिजिटल संस्करण

जसरी गीत गाउन, नाच्न, चित्र बनाउन कलाकारले कठोर साधना गरेका हुन्छन्, त्यसरी नै राम्रो अक्षरमा लेख्नका लागि पनि सीप, साधना र लगाव जरुरी हुन्छ । हस्तलेखन राम्रो भएमा आफ्ना कुरा प्रस्ट रूपमा सञ्चार गर्न सकिन्छ । 

हिजोआज हामी उच्च प्रविधियुक्त अत्याधुनिक युगमा छौँ । विद्यार्थीको हातहातमा मोबाइल, ल्यापटप तथा ई–बुक छन् । तर पनि लेखाइको प्रयोग भने घटेको छैन । हाम्रोमा विद्यार्थीको मूल्यांकन गर्न लिइने परीक्षाको माध्यम नै लेखन भएको हुनाले हस्तलेखन राम्रो हुन अत्यावश्यक छ । 

विश्वका समृद्ध तथा विकसित मुलुकमा पनि कापीमा लेखेर नै परीक्षा दिने गरिन्छ । हामी नेपाली यी राष्ट्रको तुलनामा पछि छौँ । यसर्थ, लेखाइ सीपको महत्व यहाँ अझै धेरै छ । हाम्रो देशमा लोकसेवा र विभिन्न संघ–संस्था, विद्यालय तथा कलेजका परीक्षा प्रायः हातले नै लेखेर दिइन्छ । 

हस्तलेखन राम्रो बनाउने नियम
कलिलो उमेरबाट नै लेख्ने शैली सिकाइयो भने बालबालिकाको हात त्यसमै बस्छ र अक्षर धेरै राम्रो हुन्छ । बालबालिकालाई विद्यालय जानेबित्तिकै सीधै क, ख, ग तथा ए, बी, सी, डी सिकाउनुभन्दा पनि हस्तलेखनको केही प्याटर्न सिकाउनु उपयुक्त हुन्छ । खासगरी, सीधा लाइन, तेर्सो लाइन, गोलाकार र सीजस्ता कर्भ लाइनहरू तान्न सिकाउनुपर्छ । झट्ट हेर्दा राम्रो लाग्ने अक्षर नियमसंगत रूपमा सही नहुन सक्छन् । हरेक खालका अक्षरको उत्कृष्ट लेखाइका लागि केही आधाभूत कुरामा ध्यान दिनुपर्छ । ती यस प्रकार छन् :

  • लिपि
  • अक्षर कता फर्काउने ?
  • कति खाली ठाउँ छोड्ने ?
  • अक्षरको संरचना सही हुनुपर्छ । अक्षर स्पष्ट र सबैले बुझ्ने हुनुपर्छ । 
  • अक्षरको आकार समान हुनुपर्छ ।
  • नेपाली अक्षर लाइनभन्दा मुनि झुन्ड्याएर लेख्नुपर्छ ।
  • अक्षरको माथि अनिवार्य डिको तान्नुपर्छ ।
  • डिको दिँदा सीधा र कापीको तेर्सो धर्को छोपिने हुनुपर्छ । 
  • अक्षरमा दिइने मात्रा (ा, ,ि ी,  ु,  ू, े,  ै, ो, ौ, ं,  ँ,  ृ) आदिले अक्षर छुनुहुँदैन र ती स्पष्ट हुनुपर्छ । 
  • डिकोले सबै अक्षर र मात्रालाई छुनुपर्छ । 
  • एउटा अक्षरले अर्को अक्षर र एउटा शब्दले अर्को शब्द छुनुहुँदैन । 

राम्रो हस्तलेखनका फाइदा

  • हस्तलेखन अभ्यास बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक तथा चारित्रिक विकासका लागि अति आवश्यक हुन्छ ।
  • जुन बालबालिकाको अक्षर राम्रो हुन्छ, उनीहरूको पढाइ पनि राम्रो हुन्छ ।
  • सुन्दर हस्तलेखनले बालबालिकामा एकाग्रता बढाउँछ । 
  • सुन्दर हस्तलेखनले आत्मविश्वास बढाउँछ ।
  • विद्यार्थीको हस्तलेखनले परीक्षाको नतिजामा प्रत्यक्ष असर पार्ने भएकाले उनीहरूको हस्तलेखन राम्रो हुनुपर्छ ।
  • अक्षर राम्रो सोच, विचार र व्यवहारको प्रतिबिम्ब हो ।
  • सुन्दर अक्षर लेख्ने बालबालिका सरल, शिष्ट, मिहिनेती, कर्तव्यवान् र समयको पालना गर्ने स्वभावका हुन्छन् ।
  • सुन्दर हस्तलेखन गर्ने बालबालिका मानसिक रूपमा शान्त, परोपकारी र सिर्जनशील हुन्छन् ।

सुझावित समाचार