एमाले संसदीय दलको बैठकमा नक्कली भुटानी शरणार्थीबारे छलफल

आइतबार, २४ बैशाख, २०८०
डिजिटल संस्करण

नेकपा एमाले संसदीय दलको बैठकमा पार्टीको नेतृत्वलाई नक्कली भुटानी शरणार्थीलगायत विषयमा सांसदले चासो देखाएका छन्। 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसदहरूले चासो राखेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए। 

बैठकमा अध्यक्ष केपी ओलीले सो घटनामा संलग्न पार्टीका कुनै पनि व्यक्तिलाई संरक्षण नदिने र  अनुसन्धानमा पूर्ण रूपले सहयोग पुर्याउने जानकारी गराएको उनले बताए।  

‘हामी कानुनी हिसाबले अनुसन्धानमा सहयोग गर्छौँ । तर, छानबिनका क्रममा कुनै पनि पूवाग्रह नराखियोस्, छानिबनलाई सहयोग गर्छौँ, छानबिन पारदर्शी र तथ्यपरक हुनुपर्छ, राजनीतिक आग्रहबाट मुक्त हुनुपर्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै सचिव भट्टराईले भने। 

बैठकमा संसदीय दलका नेता ओलीले आजदेखि सुरु भएको बर्खे अधिवेशनमा प्रभावकारी ढंगले प्रस्तुत हुन, विषयवस्तुको राम्रोसँग अध्ययन गर्न, नियमित उपस्थित हुन र हरेक विधेयकदेखि आउने प्रस्तावमा गहन अध्ययन गर्न र ठोस ढंगले प्रस्तुत हुन सांसदलाई निर्देशन दिए। 

बैठकले जनस्तरमा उठिरहेका र दैनिक जीवनमा भोगिरहेका विविध समस्या समाधान गर्न प्रभावकारी ढंगले सदनमा आवाज उठाउने विषयमा पनि जोड दिएको छ।

सुझावित समाचार