विनोद चौधरीले निराशातर्फ अगाडि बढिरहेको नेपाली समाजमा नयाँ आशा र नयाँ विश्वास सिर्जना गर्न समावेशी उपसभापतिमा उम्मेदवारी दिएको बताएका छन् । कांग्रेसलाई आर्थिक क्रान्तिको पनि नेतृत्व गर्ने पार्टीका रूपमा स्थापित गरी नयाँ इतिहास लेख्न, राजनीति र अर्थनीतिलाई सँगसँगै अगाडि बढाउन उपसभापतिमा उम्मेदवारी दिएको चौधरीको दाबी छ ।
बिपी कोइरालाको दूरदर्शी राजनीतिक सोच र सूवर्णशमशेर जबराको आर्थिक विकासको नीतिलाई संयोजन गर्दै कांग्रेसलाई नयाँ उचाइमा पुर्याउन र समुन्नत नेपाल निर्माण गर्ने गगन थापाको सोचलाई सही अर्थमा कार्यान्वयन गर्न आफूले भूमिका खेल्ने चौधरीले बताएका छन् । साथै, उनले कांग्रेस नेतृत्वको सरकारले ०४८ सालमा सुरु गरेको आर्थिक सुधारलाई वर्तमान समयको आवश्यकताअनुरूप तीव्र गतिमा अगाडि बढाउन, युवाहरूलाई सूचना प्रविधि, आर्टिफिसियन इन्टेलिजेन्ससँग आबद्ध गराउँदै देशलाई डिजिटल इकोनोमीतर्फ अगाडि बढाउन, राजनीतिको केन्द्रमा आर्थिक विकासका एजेन्डा स्थापित गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
यस्तै, समावेशी विकास र तीव्र आर्थिक वृद्धिदरका माध्यमद्वारा आर्थिक विकासलाई कांग्रेसको मुख्य प्राथमिकता बनाउन, युवाहरूका लागि स्टार्टअपका पर्याप्त अवसरहरू सिर्जना गर्न र देशमा आन्तरिक लगानीकर्तालाई विनाअवरोध लगानीको वातावरण तयार गर्न आफ्नो उम्मेदवारी रहेको चौधरीको भनाइ छ । उनले प्रत्येक वर्ष रोजगार बजारमा आउने साढे पाँच लाख युवाहरूलाई देशमै रोजगारीका अवसर सिर्जना गर्न सम्भव छ भनेर काम गर्न, क्षेत्रीय आर्थिक असमानता घटाउनका लागि प्रदेश र स्थानीय तहमा उद्योग तथा रोजगारी विस्तार गर्न, सीमान्तकृत र पिछडिएका समुदायलाई आर्थिक अवसरमा जोड्न, उद्यमशीलता, सिप र वित्तीय पहुँचमार्फत आर्थिक सशक्तीकरण गर्न पनि आफ्नो उम्मेदवारी परेको दाबी गरेका छन् ।