नेपालले पहिलोपटक औपचारिक संयन्त्रको बैठकमार्फत रुसी सेनामा भर्ती भएर ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकबारे रुससँग चासो जनाउँदै परिवारलाई क्षतिपूर्ति दिन आग्रह गरेको छ । नेपाल र रुसबिच परराष्ट्रसचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्रको बुधबार काठमाडौंमा भएको बैठकमा नेपालले बेपत्ताहरूको खोजी गरिदिन र नेपालीको शव ल्याउने व्यवस्था गरिदिनसमेत अनुरोध गरेको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव अमृतबहादुर राई तथा रुसी प्रतिनिधिमण्डलको नेतृत्व उपविदेशमन्त्री रुदेन्को आन्द्रेई युरेभिचले गरेका थिए । बैठकमा सहभागी हुन रुसी उपविदेशमन्त्री (परराष्ट्रसचिव ओहोदाको) रुदेन्को मंगलबार आइपुगेका थिए । रुसी उपविदेशमन्त्री रुदेन्कोले सन् २०२३ पछि (तीन वर्षदेखि) रुसी सेनामा नेपालीको भर्ती नभएको जवाफ दिएको बैठकमा सहभागी कूटनीतिक अधिकारीले बताए ।
युद्धमा मारिएका नेपालीको शव नेपाल पठाउन, नेपालीलाई सेनामा भर्ती नगर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन र बेपत्ता भएका नेपालीको अवस्था यकिन गरेर परिवारजनलाई जानकारी गराउन पनि नेपालले अनुरोध गरेको छ । ‘रुसी सेनामा रहेका नेपाली नागरिकका मुद्दाहरू (जसमा बेपत्ता नेपाली नागरिक, युक्रेनमा युद्धबन्दीका रूपमा थुनामा रहेका नेपाली नागरिक र क्षतिपूर्ति समावेश थिए)मा छलफल भयो,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ, ‘जलवायु परिवर्तन र बहुपक्षीय प्रणालीहरूमा सहकार्यलगायत आपसी हितका विभिन्न क्षेत्रीय तथा बहुपक्षीय मामिलामा पनि विचार आदानप्रदान भएका छन् ।’
रुसी सेनामा कार्यरत नेपालीको संख्या अझै पनि यकिन छैन । नेपालले यसबारे जानकारी माग्दै आए पनि रुसले उपलब्ध गराएको छैन । भर्ती भएका व्यक्तिका कुल ३६४ जना परिवारले हालसम्म परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमार्फत खोजी गरिदिन लिखित निवेदन दिएका छन् । विभागका अनुसार रुसले हालसम्म १३४ नेपालीको मृत्यु भएको जानकारी पठाएको छ । बेपत्ता भएका ४० जनाका परिवारको डिएनए परीक्षण नमुना पठाएकाले उनीहरूको पनि मृत्यु भएको आशंका छ । यीबाहेक १९० जना थप बेपत्ता व्यक्तिका परिवारले विभागलाई अनुरोध गरेका छन् ।
‘कुल ३६४ निवेदनमध्ये मृतक, बेपत्ता, डिएनए परीक्षणको नमुना पठाएका व्यक्ति सबै समेटिन्छन् । यीबाहेक नौजना नेपाली युद्धबन्दीका रूपमा युक्रेनमा छन्,’ विभागका एक अधिकारीले भने । सरकारी तथ्यांकअनुसार युक्रेनमा नौजना युद्धबन्दी रहेको भए पनि पारिवारिक च्यानलका अनुसार कम्तीमा १३ जना युद्धबन्दी युक्रेनमा छन् । ‘रुसी उपविदेशमन्त्रीले सन् २०२३ देखि नेपाली भर्ती भएका छैनन् भन्ने स्पष्ट जवाफ दिनुभयो,’ बैठकमा सहभागी एक कूटनीतिक अधिकारीले भने, ‘मृतकका परिवारलाई क्षतिपूर्ति दिन्छौँ । मृतकहरूलाई योद्धाका रूपमा सम्मान गर्छौँ । परिवारलाई रुसमा क्षतिपूर्तिका लागि जान सहज गर्छौँ भन्ने रुस पक्षको जवाफ आएको छ ।’ हाल मृतकका दुईजना परिवारका सदस्यलाई तीन महिनाका लागि निःशुल्क भिसा दिएकोमा यो अवधि थपिदिन नेपालले अनुरोध गरेको छ । यसमा रुसले सकारात्मक जवाफ दिएको छ । मृतकका परिवारलाई क्षतिपूर्ति रकम भुक्तानी रुसमा सहज रहेको, तर नेपालमा रकम पठाइदिन अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण अप्ठेरो रहेको पनि बैठकमा छलफल भएको थियो ।
नेपाल र रुसबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा बुधबार आयोजित समरोहमा रुसी उपविदेशमन्त्री आन्द्रेईले आठ वर्षपछि बैठक बसेको तथा द्विपक्षीय र बहुपक्षीय विषयमा छलफल भएको बताए ।