अमेरिकाबाट टाढिँदै असंलग्न विदेश नीतिको परीक्षण गर्दै साउदी युवराज

आइतबार, २४ बैशाख, २०८०
डिजिटल संस्करण

तेलको बढेको मूल्यका कारण ठूलो धनराशी भित्राएका साउदी युवराज मोहम्मद बिन सलमान अहिले उनको मुलुकका लागि एक नवीन परीक्षणमा लागेका छन् । विश्व परिप्रेक्ष्यमा अमेरिका र रुस–चीनबीच बढ्दो कटुतासँगै उनी यीमध्ये कुनै एकको पक्ष नलिने विदेश नीति अंगीकार गर्न चाहन्छन् । केहीअघि मात्र साउदी अरेबियाले चीनको मध्यस्थतामा उसको चीर प्रतिद्वन्द्वी इरानसँग कूटनीतिक सम्बन्ध नवीकरण गर्ने सहमति गर्यो । यसलाई धेरैले साउदी अरबका वास्तविक शासकका रूपमा हेरिने ३७ वर्षीय बिन सलमानको चतुर व्यावहारिकता मानेका छन् । जबकि उनका विगतका आक्रामक निर्णयको आलोचना हुने गथ्र्यो । साउदी–इरान सम्झौताले खाडीमा जारी कैयौँ तनाव मत्थर गर्नेछ । सम्झौतामा चीनको भूमिकाले साउदी अरब उसको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनको नजिक पुगेको छ । तर, यस क्रममा उसले आफ्नो प्रमुख सुरक्षा साझेदार वासिंटनलाई पनि चिढ्याएन, जहाँका अधिकारीले साउदी–इरान साझेदारीलाई सकारात्मक रूपमा देखेका छन् ।

भारत, टर्की र संयुक्त अरब इमिरेट्स (युएई) जस्तै साउदी अरब पनि एक मध्यम स्तरको शक्ति–राष्ट्र हो, जो अमेरिकी नेतृत्वको विश्व व्यवस्थाविरुद्ध चीन र रुसबाट परेको चुनौतीबाट फाइदा लिन प्रयासमा रहेको विश्लेषकको ठम्याइ छ । साउदी नेता अहिलेको तेलको उच्च आयलाई प्रयोग गरी तेल बिक्रीमाथि आश्रित नहुने भावी वैश्विक प्रतिस्पर्धी अर्थतन्त्र बन्न खोज्दै छन् । यसपटकको तेलको मूल्यवृद्धि अन्तिम हुन सक्ने तिनको प्रक्षेपण छ । प्रतिस्पर्धी अर्थतन्त्र निर्माणको उद्देश्यका लागि युवराज मोहम्मदले एक अलग राष्ट्रिय वायुसेवा घोषणा गरिसकेका छन् । यसका लागि साउदी सार्वभौम–धन कोषले बोइङ कम्पनीसँग ३५ अर्ब डलरको विमान खरिदसम्बन्धी सम्झौता गरिसकेको छ ।

साउदी सल्लाहकारका अनुसार बोइङसँग भएको सम्झौता आंशिक रूपमा वासिंटनमा उसको छवि सुधार्ने उद्देश्यबाट प्रेरित छ । पछिल्लो समय अमेरिकाका दुवै प्रमुख दलमाझ साउदी अरबको छविमा धमिलिएको छ । बोइङसँगको सम्झौताले अमेरिकामा दसौँ हजार रोजगारी सिर्जना गर्नेछ । यसले अक्टोबरमा साउदी अरबले रुसको साथ लिएर वासिंटनको इच्छाविपरीत तेल उत्पादनमा उलेख्य कटौती गर्ने सहमति गरेपछि उत्पन्न वासिंटनसँगको कटुतालाई मत्थर गर्न सघाउनेछ । साउदी अरबको बढ्दो विश्वव्यापी प्रभाव र अमेरिकी स्वार्थविपरति जान सक्ने हैसियत तेलको मूल्य बढेपछि बढेको वित्तीय स्थितिले निर्माण गरेको हो । अमेरिका, युरोप र कैयौा विकासोन्मुख अर्थतन्त्रले मुद्रास्फीति र मन्दीको सामना गरिरहेका वेला साउदी अर्थतन्त्र भने द्रुत दरमा विस्तार भइरहेको छ । यो सब कुराले युवराज मोहम्मद बिन सलमानलाई विश्व मञ्चमा साउदी अरेबियाको प्रभाव उसको आकार र अर्थतन्त्रअनुरूप हुनुपर्ने विश्वास बढाउन सघाएको छ । ‘धेरै हदसम्म यसलाई ‘सबैभन्दा पहिले साउदी अरब’ विचारधारा भन्न सकिन्छ,’ कोलम्बिया विश्वविद्यालयका वरिष्ठ अनुसन्धान प्राज्ञ करेन यंगले भनिन्, ‘उनीहरूले वर्तमान विश्वलाई साउदी हितलाई बढावा दिन र प्रभाव विस्तार गर्न परिपक्व भएको मनेका छन् ।’ 

भर्खरै प्रतिद्वन्द्वी इरानसँग कूटनीतिक सम्बन्ध नवीकरण गर्ने सम्झौता गरेर युवराज मोहम्मद बिन सलमानले चतुर व्यावहारिकता प्रदर्शन गरे । सम्झौतामा चीनको भूमिकाले साउदी अरब उसको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनको नजिक पुगेको छ । तर, यस क्रममा उनले आफ्नो प्रमुख सुरक्षा साझेदार वासिंटनलाई पनि चिढ्याएनन् ।

रियादले लामो समयदेखि आफूमाथिको सबैभन्दा ठूलो सुरक्षा खतरा तेहरान र छिमेकी मुलुकमा सक्रिय तेहरान समर्थित सशस्त्र समूहबाट महसुस गथ्र्यो । त्यो खतराको भावना सन् २०१९ मा साउदी तेल भण्डार क्षेत्रमा भएको ड्रोन तथा मिसाइल हमलाबाट थप बलियो बन्यो । छिमेकी यमनका इरान समर्थित हुथी विद्रोहीले गरेको उक्त आक्रमणले पाँच प्रतिशत विश्वव्यापी ऊर्जा आपूर्ति अस्थायी रूपमा अवरुद्ध हुन पुग्यो । अमेरिकाले यस घटनाविरुद्ध कुनै स्पष्ट सैन्य प्रतिक्रिया देखाएन । आक्रमण र त्यसप्रति अमेरिकाको बेवास्ताले युवराज मोहम्मद नराम्ररी प्रभावित भएको मानिन्छ । त्यसै घटनापछि, अमेरिकाको प्राथमिकता अन्य भागमा केन्द्रित हुन लागेकाले अब साउदी अरब अमेरिकाको ऐतिहासिक सुरक्षा प्रत्याभूतिमा मात्र निर्भर रहन नसक्ने विश्वास युवराजमा प्रबल बन्यो । 

साउदी युवराजले सन् २०१६ अप्रिलमा उनको मुलुकलाई सन् २०३० सम्म तेलमा मात्र निर्भर नरहने अर्थतन्त्र बनाउने ‘भिजन २०३०’ नामक महत्वाकांक्षी आर्थिक विकास योजना अघि सारेका थिए । हुथी ड्रोन आक्रमणपछि उनलाई आफ्नो योजनालाई सुरक्षित गर्न पूर्वी एसियामा नयाँ साझेदार बनाउनुपर्ने आवश्यकताबोध भएको साउदी अधिकारी बताउँछन् । हालैका वर्षमा चीनले साउदी अरेबियालाई ब्यालेस्टिक मिसाइल निर्माण गर्न मद्दत गरेको छ । त्यसबाहेक उसले साउदी आणविक कार्यक्रमका लागि परामर्श सेवा दिन थालेको छ भने युवराज मोहम्मदका परियोजनामा पनि लगानी सुरु गरेको छ । चीनले साउदी अधिकारीसँग देशभित्रै रक्षासम्बन्धी उद्योग निर्माणमा सहकार्य गर्न मनाउन थालेको छ । उता रुसले अलग रूपमा साउदी अरबसँग आणविक सहयोग सम्झौतामा हस्ताक्षर गरिसकेको छ । 

साउदी अरबको विदेशी नीतिमा परिवर्तनको संकेत युवराज मोहम्मदको उदयसँगै देखिन थालेको हो । नत्र त्यसअघि दशकौँसम्म उसले अमेरिकी नीतिलाई दृढतासाथ समर्थन गर्दै आएको थियो र नाटकीय परिवर्तनमाझ पनि उसको समर्थन डगमगाएको देखिएन । तर, युवराज मोहम्मदलाई सत्ता सञ्चालनको वास्तविक अधिकार दिइएसँगै उनले यमनमा चलिरहेको गृहयुद्धमा हस्तक्षेप गरे । त्यसपछि उनले केही छिमेकी मुलुकलाई साथमा लिएर कतारविरुद्ध नाकाबन्दीमा उत्रिए । लेबनानका प्रधानमन्त्रीलाई दबाबमा राजीनामा दिन लगाए । ती कदमले अन्तर्राष्ट्रिय आलोचना निम्त्यायो । ती आलोचनाले युवराजको आक्रामकतामा कुनै कमी आएन । 

युवराज मोहम्मद बिन सलमानको आक्रामकताको सबैभन्दा चरम रूप सन् २०१८ मा देखियो, जब उनले अमेरिकाका नागरिकता लिइसकेका साउदी मूलका पत्रकार जमाल खसोग्गीको टर्कीस्थित साउदी दूतावासमा हत्या गरिदिए । त्यसपछि अमेरिकाको प्रयासमा युवराज विश्व कूटनीतिक क्षेत्रमा एक्लिए । गत वर्ष जुलाईमा राष्ट्रपति बाइडेनको साउदी भ्रमणसँगै युवराज मोहम्मदको कूटनीतिक पृथकीकरण समाप्त भयो । युक्रेन युद्धपछि साउदी अरबले विश्वमा आफ्नो स्वार्थ विस्तार गर्ने नयाँ अवसरको रूपमा हेरेको छ । अब अमेरिका विश्वको निर्विवादित महाशक्ति नरहेको भन्दै उसले युद्धमा युक्रेनलाई समर्थन गर्ने र ओपेकमा रसियासँग सहकार्य गर्ने मार्ग अवलम्बन गरेको छ । अक्टोबरमा तेलको उत्पादनमा उलेख्य कटौती गर्ने निर्णय गरेर वासिंटनलाई चिढ्याएयता साउदी अधिकारीले युद्धमा थप तटस्थता अवलम्बन गर्ने प्रयास गरेका छन् । 

फेब्रुअरीमा युवराज मोहम्मदले उनको विदेशमन्त्रीलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्तामा पठाए । भेटमा साउदी अरबले युक्रेनलाई ४० करोड डलरको मानवीय सहयोग दिने घोषणा गर्यो । दुई हप्तापछि, उनै साउदी मन्त्रीले मस्कोमा आफ्ना रुसी समकक्षसँग वार्तामा बसेका थिए, जहाँ साउदी अरबले द्वन्द्वको अन्त्यका लागि मध्यस्थता गर्न सघाउने प्रस्ताव राख्यो । केही विश्लेषक युवराज मोहम्मदले चीन र रुससँगको घनिष्ठ सम्बन्धलाई देखाएर अमेरिकासँग थप सुरक्षाको लाभ उठाउन खोजेको आरोप लगाएका छन् । यसको वासिंटनमा केहीले विरोध पनि गरेका छन् । सँगसँगै साउदी अधिकारीले अझै पनि अमेरिकी सुरक्षा प्रत्याभूतिका लागि वार्ता गरिरहेका छन् । 

‘साउदी अधिकारी अहिले सबैसँग उठबस गरिरहेका छन्, सबैसँग कुराकानीमा छन् । तिनमा इजरायल र इरान, चीन र अमेरिका, रुस र युरोप सबै छन् । यसैले अन्योल सिर्जना गरेको छ । सबैजना अहिले तिनीहरू के गर्न चाहिरहेको हो, तिनको अन्तिम लक्ष्य के हो भन्नेबारे अनुमान मात्र गर्न सक्ने स्थितिमा छन्,’ युरोपियन काउन्सिल अन फरेन रिलेसन्सकी खाडी अनुसन्धान फेलो सिन्जिया बियान्कोले भनिन् । निजी भेटमा साउदी अधिकारी युवराज मोहम्मद खासमा ठूलो शक्ति राष्ट्रलाई एकअर्काको विरुद्धमा खेलाएर अन्ततः अमेरिकी उन्नत हतियार र आणविक प्रविधि दिन वासिंटनलाई दबाब सिर्जना गर्न सकिन्छ भन्ने आशामा रहेको बताउँछन् । अमेरिकाले निर्णायक कदम चालेन भने चीन र रुससँगको सम्बन्धलाई थप गहिरो बनाउनबाट रियाद पछि हट्ने सम्भावना छैन । ‘अमेरिकाले साउदी कदमलाई अस्थायी हो भनेर बसिरह्यो भने एक दिन उसले खाडी र समग्र मध्यपूर्व क्षेत्रमाथिको पश्चिमी वर्चस्व गुमाउन सक्छ,’ बियान्कोले भनिन् ।

(द वाल स्ट्रिट जर्नलका लागि स्टेफन कलिन र समर सइदको रिपोर्ट)

See More On

सुझावित समाचार