आत्मालोचना गर्दै मेसीले मागे माफी

आइतबार, २४ बैशाख, २०८०
डिजिटल संस्करण

पिएसजीलाई जानकारी नदिई साउदी अरेबिया पुगेका लियोनल मेसीले क्लब र समर्थकसँग माफी मागेका छन्

लियोनल मेसीले यसै साता साउदी अरेबिया भ्रमण गरेका थिए । मेसीआबद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई यसको जानकारी थिएन । पिएसजीबाट अनुमति नलिई साउदी अरेबिया पुगेका मेसीको यस भ्रमण निकै विवादास्पद बनिरहेको छ । पिएसजीले मेसी अनधिकृत रूपमा साउदी अरेबिया गएको जनाउँदै कारबाही गरेको छ । पिएसजीले दुई साता फुटबल खेल्न नपाउने भनी मेसीलाई कारबाहीसमेत गरेको हो । मेसीले शनिबार आफ्नो सोसल मिडियाबाट आत्मालोचना गर्दैै समर्थक तथा क्लबसँग माफी मागेका छन् । 

‘म मेरो कामका लागि माफी माग्न चाहन्छु,’ मेसीले आत्मालोचना गर्दै लेखेका छन्, ‘यो सत्य कुरा हो, मैले साउदी अरेबिया भ्रमण गर्दा क्लबसँगको स्वीकृति लिएको थिइनँ, अझ क्लबलाई यसबारेमा जानकारी नै छैन ।’ मेसीले साउदी अरेबिया जानुको कारण उल्लेख गरेका छैनन् । तर, पिएसजीले खेलपछि बिदा दिने भएकाले आफू साउदी गएको उनको भनाइ छ । ‘हामीले अघिल्लो साता खेलपछि बिदा पाएका थियौँ, यस साता पनि यस्तै हुने सम्झिएँ, यसै कारण म बिदा मनाउन साउदी अरेबिया गएको थिएँ,’ मेसी भन्छन् ।

मेसीले पहिलोपटक भ्रमण त्यागे
मेसीले यसअघि साउदी अरेबियाको भ्रमण रद्द गरेका थिए । यसपटक भने आफूलाई साउदी अरेबिया जान रोक्न नसकेको उनले दाबी गरेका छन् । ‘पछिल्लोपटक भ्रमण रद्द गरेको थिएँ, यसपटक मैले आफूलाई रोक्न सकिनँ,’ उनले भने । वास्तवमा पिएसजी लोरियन्टसँग ३–१ ले पराजित भएपछि मेसी साउदी अरेबियाको भ्रमणमा निस्किएका थिए । यससँगै क्लबले उनलाई कारबाही गरेको हो । निलम्बनमा रहेका मेसीले प्रशिक्षण गरेका छैनन् । 

‘मेरो कारण क्लब, समर्थक र साथीहरूलाई चोट पुगेको रहेछ, यस कार्यप्रति माफी माग्छु,’ उनले भने, ‘अब क्लबले ममाथि के गर्न चाहन्छ भनेर पर्खिरहेको छु ।’ पिएसजीले अनुमतिविना साउदी अरेबिया भ्रमण गरेका मेसीको कार्यलाई गलत भनेको छ । पिएसजीका समर्थकहरूले मेसीको विरोध गरेका छन् । 

क्लब र समर्थकले मेसी एउटा निश्चित योजनाका साथ साउदी अरेबिया गएको अनुमान लगाएका छन् । गत साता मात्र ‘द टेलिग्राफ’ले मेसीलाई साउदी अरेबियन क्लब अल हिलालले ६०० मिलियन युरोको प्रस्ताव राखेको समाचार प्रकाशन गरेको थियो । त्यसपछि मेसीका प्रत्येक गतिविधिलाई पिएसजीले सूक्ष्म रूपमा हेरिरहेको छ । मेसीले यस सिजनपछि पिएसजी छाड्ने सम्भावना पनि छ । बेलायती र फ्रेन्च मिडियाले मेसीले यसपटक सम्झौता नवीकरण गर्ने जनाएका छन् । 

मेसी स्वयंले आधिकारिक रूपमा केही प्रतिक्रिया दिएका छैनन् । फ्रेन्च लिग वानमा अब पाँच खेल बाँकी छ । पिएसजी शीर्ष स्थानमा छ । यस सिजन पिएसजी युरोपियन च्याम्पियन्स लिग र फ्रेन्च कपको प्रिक्वार्टरफाइनलबाट बाहिरिएको थियो । मेसीको पिएसजीमा यो तेस्रो कार्यकाल हो । पिएसजी यसपटक मेसीसँग सम्झौता नगर्ने पक्षमा छ । 

सुझावित समाचार