राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना कम्बोडियाको भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फिर्ता भएका छन् ।
कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिएर अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता भएका हुन् ।
अध्यक्ष तिमिल्सिनालाई त्रिभुवन विमानस्थलमा संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम र राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले स्वागत गरे ।
अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेसनल फेस्टिभल्स एन्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सम्बोधन गरेका थिए ।
उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वर्ल्ड बुद्धिष्ट फाउन्डेसनको पेट्रोन अफ द वर्ल्ड बुद्धिष्ट अनोररी डक्ट्रेट इन ह्युमानिटीको मानार्थ पदावधि प्रदान गरिएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमबीच भेटघाट भएकाे थियाे ।
भेटघाटमा ९७ प्रतिशत बौद्धमार्गी रहेको कम्बोडिया र बुद्धजन्मस्थल लुम्बिनीलाई एक–आपसमा जोड्नका लागि नेपाल–कम्बोडिया सीधा हवाईसेवा सुरु गर्ने र द्वन्द्वोत्तर अनुभव आदान–प्रदान गर्ने विषयमा छलफल भएको थियो ।
अध्यक्ष तिमिल्सिनाको भ्रमण दलमा बागमती प्रदेश सभाका सदस्य अमन मास्के र संघीय संसद् सचिवालयका उपसचिव नुमराज खनाल पनि सहभागी थिए ।