विगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी दुई सय २० गैँडा मरेका छन् । आर्थिक वर्ष ०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन । निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुधेर आठ वर्षको समयमा ५१ गैँडा मरेका छन् । यस्तै, बाघको आक्रमणबाट २०, चोरी सिकारीबाट नौ, करेन्ट लागेर आठ, बिरामी तथा रोगी भएर १२, खाडलमा परी तीन, विष सेवनले पाँच तथा कारण नखुलेका २९ गैँडा मरेका उनले जानकारी दिए ।
तिवारीका अनुसार विगत आठ वर्षमा एक सय भाले र ७६ पोथी गैँडा मरेका छन् भने लिंग पहिचान नभएका ४४ गैँडा मरेका छन् । आर्थिक वर्ष ०७२/७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैँडा आव ०७५/७६ मा मरेको कार्यालयको तथ्यांकले देखाएको छ ।
सो आवमा ४३ गैँडा मरेका थिए । सबैभन्दा कम आव ०७२/७३ मा १४ गैँडा मरेको तिवारीले बताए । तिवारीका अनुसार आव ०७३/७४ मा २५, आव ०७४/७५ मा २६, आव ०७६/७७ मा २६, आव ०७७/७८ मा ३३ र आव ०७८/७९ मा ३७ गैँडा मरेका छन् । चालू आवको हालसम्म १६ गैँडा मृतावस्थामा भेटिएको उनले जानकारी दिए ।
निकुञ्जको तथ्यांकअनुसार आव ०६५/६६ देखि आव ०७९/८० सम्म तीन सय २३ गैँडा मरेका छन् । निकुञ्जमा गैँडाको संख्या बढ्दै जाँदा आपसमा जुधेर र बुढो भएर मर्नेको संख्या धेरै रहेको तिवारीले जानकारी दिए । गैँडाको चरनका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापन र पानीको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए । रासस