के तपाईंका बालबालिका गीत–संगीतमा आकर्षित छन् ? यदि छन् भने उनीहरूलाई संगीतमा लाग्न हौसला दिनुस् । किनकि, संगीतले उनीहरूलाई खुसी र सक्षम बनाउन भूमिका खेल्छ । संगीत प्रशिक्षणले उनीहरूको कल्पना शक्ति, शब्द सिक्ने कला र भाषालाई सुधार्न महत्वपूर्ण भूमिका खेल्छ, प्रतिफलस्वरूप उनीहरूको पढाइ पनि राम्रो हुँदै जान्छ । यसले उनीहरूमा भावनात्मक विकास, आत्मविश्वास र सामाजिक रूपमा घुलमिल हुन सक्ने खुबी बढाउँछ । टिमवर्कमा उनीहरूलाई विश्वास गर्न सिकाउँछ । अनुशासन, प्रतिबद्धता र समस्या समाधान गर्ने खुबीको पनि विकास गर्छ । त्यसैले समग्र जीवनका लागि संगीत उपयोगी छ । ‘संगीतले संसार बदल्छ’ त्यसै भनिएको होइन । संगीत सिक्न थालेपछि बालबालिकामा देखिने केही सकारात्मक परिवर्तन यस्ता छन् :
स्मार्ट बनाउँछ धेरै अध्ययनले बालबालिकाको मानसिक विकासमा संगीत उपयोगी छ भन्ने देखाएको छ । जसकारण बालबालिकाको समग्र विकास राम्ररी हुन पाउँछ । संगीतले बौद्धिक, सामाजिक व्यक्तित्व विकासमा सघाउँछ । बच्चालाई सिर्जनशील, आत्मविश्वासी बनाउँछ । जसकारण, उनीहरू भविष्यमा राम्रो व्यक्ति बन्न सक्छन् । सबैभन्दा राम्रो कुरा, उनीहरू थाहै नपाई राम्रो बाटोमा लागिरहेका हुन्छन् । बच्चाहरू जति धेरै सांगीतिक गतिविधिमा संलग्न हुन्छन्, त्यति नै उनीहरूको समग्र व्यक्तित्व निखारिँदै जान्छ । वाद्यवादन, गायन वा गीत सिर्जना संगीतका जुनसुकै विधामा लाग्दा पनि बालबालिका खुसी र सिर्जनशील हुन्छन् । उनीहरूको धैर्य बढेर जान्छ । नियमित अभ्यास र सांगीतिक गतिविधिमा संलग्न हुँदा उनीहरूको आत्मविश्वास र आत्मजागरण बढेर जान्छ । हुन त संगीतका लागि उमेरको हद छैन, जुनसुकै उमेरका मानिसले पनि संगीतको अभ्यास गरेर आफूलाई शान्त राख्न सक्छन् । तर, बच्चैबाट संगीत सुरु गर्दा यसै क्षेत्रमा करिअर बनाउन पनि सहज हुन्छ ।
सिर्जनशीलता : फरक तरिकाले सोच्ने र कल्पना गर्ने बानी बस्छ । पृथक् योजना र दृष्टिकोण बनाउनका लागि यो उपयोगी छ ।
सामाजिक बनाउँछ : संगीत समूहमा बसेर सिकिन्छ । समूहमै बसेर प्रस्तुत गरिन्छ । जसकारण सामाजिक रूपमा घुलमिल हुने, समूहमा विश्वास गर्ने र सहकार्य गर्ने खुबी विकास भएर जान्छ ।
भावनात्मक विकास : भावनामा संगीतको शक्तिशाली प्रभाव रहन्छ । संगीतमार्फत आफूलाई अभिव्यक्त गर्न सक्ने खुबी बालबालिकामा विकास हुनु भनेको उनीहरूको भावनात्मक बौद्धिकता र बुझाइ विकास हुनु हो ।
खुसी : भविष्यमा संगीतमै करिअर बनाउने वा सौखका रूपमा भए पनि यसलाई निरन्तरता दिने बानी विकास हुन्छ । संगीतमा लाग्नेहरू खुसी र भरिपूर्ण हुन्छन् ।
सुन्ने कला : संगीतमा लाग्नेमा ध्यानपूर्वक सुन्ने बानीको विकास हुन्छ । त्यस्तै, भाषाको दखल पनि राम्रो हुन्छ । राम्रोसँग सुन्ने र त्यसलाई मस्तिष्कमा पनि राम्ररी स्मरण गर्ने खुबी विकास हुन्छ । उदाहरणका लागि, गीतमार्फत ए, बी, सी, डी वा क, ख, ग, घ सिकाउँदा बालबालिकाले चाँडै सिक्छन् र सम्झन्छन् पनि । अध्ययनहरूले देखाएका छन्, कुनै विदेशी भाषामा बोल्नभन्दा गाउन सहज हुन्छ ।
शान्ति : मस्तिष्क, शरीर र आत्माका लागि संगीत लाभदायी छ । यसले मानिसलाई शान्त राख्छ । तसर्थ, बच्चालाई जीवनका महत्वपूर्ण पाठ बुझाउनका लागि अभिभावकले उनीहरूको रुटिनमा खेलकुदसँगै संगीतलाई पनि समावेश गराउन जरुरी हुन्छ । उनीहरूको मानसिक, शारीरिक र सामाजिक कला सुधार भएर जान्छ ।