एउटै व्यक्तिमा एकभन्दा बढी दीर्घरोग अर्थात् मल्टिपल लङटर्म कन्डिसनको समस्या बढ्दै गएको भन्दै नेपालमा पनि यसबारे अनुसन्धान गरिने भएको छ।
बेलायतको एजेन्सी नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर रिसर्च (एनआइएचआर) र पब्लिक हेल्थ फाउन्डेसन इन्डियाको सहकार्यमा काठमाडौं मेडिकल कलेजले बृहत् अनुसन्धान गर्ने भएको हो।
नेपालमा दुई वा दुईभन्दा बढी दीर्घरोगको समस्या एकैसाथ झेलिरहेकाहरूको अवस्था र उपचार कसरी भइरहेको छ भन्नेसमेत कुनै तथ्यांक नभएकाले यसबारे अनुसन्धान गर्ने तयारी गरिएको काठमाडाैं मेडिकल कलेजले जनाएको हो।
एनआइएचआरको सहयोगमा भारत र नेपालमा ल्याइएको यो पाँचवर्षे परियोजनाले बढ्दो दीर्घरोगको भार कम गर्न सहयोग गर्ने बताइएको छ।
नेपालमा नसर्ने रोगको जोखिम बढी रहेको अवस्थामा मल्टिपल लङटर्म कन्डिसन्सका बिरामीको संख्यासमेत धेरै रहेको अनुमान रहेकाले उपचारमा सहज पहुँचका लागि अनुसन्धानले ठूलो सहयोग पुर्याउने काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले बताएका छन्।
यस्तै, एकभन्दा बढी दीर्घरोगका समस्या हुनेहरूलाई आर्थिक भार, स्वास्थ्यको भार, डाक्टरको समय, उपचार समस्या आदि धेरै खालका समस्या थपिने भन्दै यसलाई कसरी न्यूनीकरण गर्न अनुसन्धान सहयोग गर्ने र उपचार व्यवस्थालाई के–कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा पनि अनुसन्धान केन्द्रित हुने रहने भएकाले परियोजना ल्याइएको काठमाडौं मेडिकल कलेजका प्राडा अभिनव वैद्यले बताएका छन्।
डा. वैद्यका अनुसार परियोजना सुरुवातीमा भक्तपुर र काभ्रेबाट सञ्चालनमा ल्याएर विस्तार गरिनेछ। पहिलो चरणको अनुसन्धानका लागि भक्तपुरका चारवटा पालिकाका ८८ वटा स्वास्थ्य संस्था संलग्न गराएर ७८ हजार आठ सय ५४ जनसंख्यामा सर्वेक्षण गरिनेछ भने काभ्रेमा १३ वटा स्थानीय तहका एक सय ४५ स्वास्थ्य संस्थामार्फत तीन लाख ६६ हजार आठ सय ७९ जनसंख्यामा सर्वेक्षण गरिने बताइएको हो।
मल्टिपल लङटर्म कन्डिसन परियोजना मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै स्वास्थ्यसचिव रोशन पोखरेलले सुरु गरेका हुन्।