चितवनमा तीनदिने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

बुधबार, २० बैशाख, २०८०
डिजिटल संस्करण

‘दिगो आर्थिक विकासका लागि बृहत् अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने नारासहित वैशाख २२ देखि तीनदिने सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० आयोजना हुने भएको छ । भरतपुरमा आयोजना हुने प्रदर्शनीको अन्तिम तयारी भइरहेको हो ।

 औद्योगिक मेसिनरी र प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, पर्यटन, फुड एन्ड बेभरेज तथा अन्य सेवामूलक उद्योगहरूका उत्पादनहरू प्रदर्शनीमा रहने आयोजकले जनाएका छन् । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी एक सय ५० भन्दा बढी स्टलहरू रहने आयोजक संस्था चितवन उद्योग संघले जनाएको छ । 

संघका अध्यक्ष त्रिलोचन कँडेलले उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको समन्वयमा प्रदर्शनी आयोजना हुन लागेको बताए । मिडिया स्पेस सोलुसन्स प्रालि र फुतुरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सले प्रदर्शनीको व्यवस्थापकीय साझेदार रहेको जनाइएको छ । 

कँडेलका अनुसार अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीहरू, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरू औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्ति, व्यावसायिक उत्पादक, नेपाली उद्योगका सञ्चालक, लगानीकर्ता तथा व्यवस्थापकलगायतका सबै क्षेत्रका व्यक्तिहरू अवलोकनकर्ताका रूपमा उपस्थित हुने अपेक्षा गरिएको छ । 

त्यस्तै, उद्यमीहरूलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नवीनतम प्रविधि हस्तान्तरणको वातावरण सिर्जना गर्ने महत्वपूर्ण अवसरका रूपमा प्रदर्शनीलाई लिएको आयोजकले जनाएका छन् । स्वदेशी एवंं विदेशी उद्योगीहरूबीच प्रत्यक्ष भेटघाट तथा छलफल हुन गई औद्योगिक अनुभव तथा ज्ञान आदानप्रदान गर्ने अवसर उपलब्ध गराउने लक्ष्य रहेको कँडेलले बताए ।  

दुईवटा गोष्ठी तथा सेमिनार
प्रदर्शनीको दोस्रो दिन नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर’ विषयमा र नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल स्वदेशी अभियान’ विषयमा गोष्ठी तथा सेमिनार आयोजना गरिने जनाइएको छ । 

सुझावित समाचार