पछिल्लो समय नेपालमा ग्राफ्टिङ प्रविधि (कलमी)बाट बिरुवा रोप्ने चलन बढ्दो छ । यस प्रविधिबाट एउटै बिरुवामा अनेकौँ फल फलाउन सकिने भएकाले थोरै जमिनमा पनि धेरै उत्पादन गर्न सकिन्छ । जसकारण सहरी क्षेत्रमा यो प्रविधि प्रयोग गर्नेको संख्या बढ्दो छ ।
यस प्रविधिमार्फत एउटै बिरुवामा कम्तीमा चार–पाँच प्रजातिका फलफूल फलाउन मिल्छ । काठमाडौंमा फलफूलको कलमी बिरुवा उत्पादन तथा बिक्री–वितरण बढ्दै गएको ढाँचीस्थित एसएस एग्रिकल्चर फार्मका सञ्चालक प्रदीप सिम्खडाले बताए । ‘अहिले कलमी प्रविधिले तयार गरिएका बिरुवाको माग बढेको छ । यससँगै उत्पादन पनि बढ्दो छ,’ उनले भने, ‘घरमा जग्गाको क्षेत्रफल थोरै छ भने पनि विभिन्न थरीका बिरुवा रोप्न सकिन्छ । बगैँचाले घरलाई सुन्दर देखाउँछ, ताजा फलफूल खान पाइन्छ ।’ उनका अनुसार कागती, सुन्तला, मुन्तला, जुनार, हलुवाबेद, स्याउ, जापानिज सुन्तला, जापानिज नास्पातीलगायत विभिन्न प्रजातिका कलमी गरिएका बिरुवाको माग बढ्दो छ ।
कलमी किन ?
कलमी गर्दा एकै प्रकार वा किसिमका दुई बिरुवालाई जोडेर नयाँ बिरुवा तयार गरिन्छ । यस प्रविधिमा एउटा बिरुवालाई जरासहित लिइन्छ र अर्को बिरुवाको हाँगासँग त्यसलाई जोडिन्छ । त्यसपछि नयाँ बिरुवा विकसित हुन्छ । यस्तो बिरुवामा दुवै बोटको गुण र विशेषता हुन्छ । जस्तो, दुई फरक प्रजातिका स्याउ वा नास्पातीका बिरुवालाई कलमी गरेर नयाँ बिरुवा तयार गर्न सकिन्छ । आरु, बदाम, आलुबखडालगायत बिरुवालाई पनि कलमी गर्न सकिन्छ । दुई फरक प्रजातिका गुलाफलाई कलमी गरेर नयाँ बिरुवा उत्पादन गर्न पनि सकिन्छ । तर, एक–अर्कासँग सम्बन्धित प्रजातिका बिरुवालाई मात्रै यसरी कलमी गर्न सकिन्छ । असम्बन्धित प्रजाति, जस्तो– गुलाफमा हलुवाबेदलाई कलमी गर्न सकिँदैन । कलमी गर्दा बिरुवाको रोगप्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ, त्यसैले बोटमा रोग लाग्ने सम्भावना कम रहन्छ, स्याहार पनि धेरै गर्नुपर्दैन ।
खासगरी गुणस्तरीय र छिटो फल्ने फलफूलका लागि कलमी गरिने कीर्तिपुरस्थित थापा नर्सरीका सञ्चालक कृष्ण थापा बताउँछन् । उनी भन्छन्, ‘बिउबाट उम्रेका फलफूलका बिरुवा फल्न वर्षाैं लाग्छ, तर कलमी गरेर सारिएको बिरुवाले एक–दुई वर्षमै फल दिन्छ । त्यसैले व्यावसायिक उत्पादनका लागि यो प्रविधि उपयुक्त हुन्छ ।’
कुन प्रजातिका कस्ता फलफूल ?
‘एउटै बिरुवामा तीन थरीका चेरी, तीन प्रजातिका स्याउलगायत फल फलाउन सकिन्छ,’ एसएस एग्रिकल्चरका सिम्खडाले भने, ‘जग्गाको क्षेत्रफल कम छ भने पनि स्याउ, आरु, आरुबखडा, चेरीलगायत तीन–चार थरीका बोट रोप्न सकिन्छ ।’
कलमी गरिएका बिरुवा गमलामा रोप्दा तीन–चार फिटसम्म र जमिनमा ५–६ फिटसम्म अग्लो हुने थापाले बताए । उनी भन्छन्, हाइब्रिड फलफूलका बिरुवामा धेरै फल लाग्छ, धेरै झाँगिँदैन पनि । साना बिरुवाले घरलाई आकर्षक त बनाउँछन्, बिरुवालाई हुर्काउन पनि सजिलो हुने भयो ।’ आफ्नो रुचिअनुसार कस्ता बिरुवा रोप्ने र कति अग्लो बनाउने भन्ने निर्धारण गर्न सकिने उनले बताए । ‘यसको विशेषता भनेको बिरुवाको उचाइ पनि तपाईं आफैँले तय गर्न सक्नुहुन्छ,’ उनले भने ।
ठूलो भर्याङस्थित मुस्कान नर्सरीका सञ्चालक महेन्द्र सुवेदी यस प्रविधिको प्रयोग गर्दै घरका छतमा विभिन्न थरीका फलफूल फलाउनेको संख्या बढ्दै गएको बताउँछन् ।
‘कलमी गरेर १६ देखि १८ इन्चको गमलामा १० केजीसम्म सुन्तला फलाउन सकिन्छ । १६ देखि १८ इन्चको गमलामा अम्बा रोप्दा १५ केजीसम्म फल फल्छ,’ सुवेदीले भने, ‘आरु, आरुबखडा, नास्पाती भने गमलामा ५–६ केजीसम्म मात्रै फलाउन सकिन्छ ।’ आरु, अनार, आरुबखडा, एभोकाडो, हलुवाबेद, स्ट्रबेरी, अंगुरलगायतका हाइब्रिड जातका कलमी गरिएका बिरुवा गमला, छत वा जमिनमै पनि सानो क्षेत्रफलमा हुर्काउन सकिने उनले बताए ।