अनुसन्धान पेचिलो बन्दै गएपछि कपनकी निरा आचार्य पाण्डे हत्याको छानबिन गर्न प्रहरीले उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)की प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा शुक्रबार प्रहरीले ११ सदस्यीय समिति गठन गरेको हो ।
७ वैशाखमा कपनको सरस्वतीनगरस्थित आफ्नै पसलमा रहेका वेला आचार्यको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । एक साता पुग्दा पनि अनुसन्धानमा प्रगति भएको छैन । मृतकका आफन्त तथा छिमेकीहरूले अपराधी पत्ता लगाउन सडकमा दबाब दिइरहेका छन् भने संसद्मा समेत सोही घटनालाई लिएर शान्तिसुरक्षाको विषयमा प्रश्न उठेपछि प्रहरीले उच्चस्तरीय समिति नै गठन गरेको हो ।
समितिमा सिआइबीका साथै जिल्ला परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारी छन् । ‘हत्याको तत्काल कुनै सुराक पाउन सकिएन, अनुसन्धान अब प्राविधिकतर्फ केन्द्रित भयो,’ एक प्रहरी अधिकारीले भने, ‘संसद्मा समेत कुरा उठेपछि समिति बनेको हो ।’ सोधपुछका क्रममा हत्याको कारण खुल्न नसकेपछि प्रहरीले प्राविधिक बाटोबाट अनुसन्धान अघि बढाइरहेको छ ।
आचार्यले सरस्वतीनगरमा ‘निरू किचन’ नामक पसल चलाउँदै आएकी थिइन् । सोही पसलको काउन्टरमा उनको शव भेटिएको थियो । शरीरका विभिन्न भागमा चक्कुले रोपिएको थियो । दिउँसोको समय त्यसरी क्रूर हत्या हुँदा पनि छिमेकी कसैले थाहा नपाउनुले र अभियुक्त सहजै भाग्दा पनि कसैले नदेख्नुले घटना रहस्यमय बनेको हो । पसलबाट कुनै सामान चोरी नभएकाले लुटपाटभन्दा पनि रिसिबीको कारण हत्या भएको आकलन गरिए पनि प्रहरीले त्यसको कुनै ‘क्लु’ पाउन सकेको छैन ।