निरा पाण्डे हत्या प्रकरण : एक साता बितिसक्दा पनि अनुसन्धान निष्कर्षमा पुगेन

बिहिबार, १४ बैशाख, २०८०
डिजिटल संस्करण

राजधानीको व्यस्त बजार कपनस्थित सरस्वती नगरमा दिनदहाडै भएको हत्या अनुसन्धान एक साता बितिसक्दा पनि पूरा हुन सकेको छैन । गत ७ वैशाख दिउँसो ३ बजे सरस्वतीनगरस्थित भाँडा पसलमा बाग्लुङ बडीगाडकी ३५ वर्षीया निरा पाण्डे आचार्यको हत्या भएको थियो । पसलको काउन्टर नजिकै अचेत अवस्थामा फेला परेकी उनको शरीर रगतमा लतपतिएको थियो । 

शरीरभरि धारिलो हतियारका निसाना देखिन्थे । घटनालगत्तै जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं उपत्यका प्रहरी कार्यालयका टोली अनुसन्धान खटिएका छन् । तर, घटनाको रहस्य अझै खुल्न सकेको छैन । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले घटनाको रहस्य खुलिनसकेको बताए । ‘दिनदहाडै महिलाको हत्या घटना सम्बन्धमा सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौँ । विभिन्न कोणबाट अनुसन्धान अघि बढेको छ । तर, अझै निष्कर्ष निस्कन सकेको छैन,’ उनले भने ।

प्रहरीले अनुसन्धानका क्रममा शंकास्पद ५० जनाभन्दा धेरैसँग सोधपुछ गरिसकेको छ ।  हत्या भएको दिन घटनास्थल आसपास सक्रिय टेलिफोन विश्लेषणमा पनि प्रहरी लागेको छ । तर, ‘क्लु’ फेला नपर्दा प्रहरी अन्योलमा परेको छ । ‘घटना सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । शंकास्पद व्यक्तिसँग सोधपुछ तथा उनीहरूलाई निगरानीमा राख्ने विषय त हुने भए । त्यसबाहेक ‘टेक्निकल’ पक्षबाट पनि हामी अनुसन्धानलाई अघि बढाइरहेका छौँ’, केसीले भने ।

सुझावित समाचार