नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार बिहान राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन्।

भेटमा अध्यक्ष डा. पुनले ‘यात्री’लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। डा. पुनले नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र प्रवर्द्धन गर्ने प्रयोजनका निम्ति सरकारले कानुन ल्याउने तयारी गरेकोमा धन्यवाद दिँदै कानुन निर्माणको काम छिट्टै सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले डा. पुनले उठाएका विषयहरू राष्ट्रिय हित र समृद्धिको पक्षमा रहेको भन्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले विज्ञान–प्रविधिको विकासविना देशको विकास सम्भव नहुनेमा आफू स्पष्ट रहेको भन्दै नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र राष्ट्रिय उत्पादनलाई प्रवर्द्धन गर्ने कानुनको मस्यौदा तयार पार्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

सुझावित समाचार