सडक पूर्वाधार व्यवस्थापनसम्बन्धी सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौंका मुख्य सडक खाल्डाखुल्डीका कारण अस्तव्यस्त बनेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, विद्युत् प्राधिकरण, काठमाडौं महानगरबीचको समन्वय अभावले सर्वसाधारण सास्ती भोग्न बाध्य भएका हुन् ।
विशेष गरी टेकु–कलंकी, बागमती करिडोर, धोबीखोला करिडोर, नयाँबजार–बालाजु, थापागाउँ, शंखमूल, नयाँ बानेश्वर–पुरानो बानेश्वर, चाबहिललगायत सडकखण्ड खाल्डाखुल्डीका कारण अस्तव्यस्त बनेका छन् । प्राधिकरण र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले तार भूमिगत र पाइपलाइन विस्तारका क्रममा पारेका खाल्डा नपुरी छाड्दा सवारीसाधन र सर्वसाधारणलाई अवरोध भएको हो ।
प्राधिकरणले तार भूमिगत गर्न सडक खनेपछि अघिकांश ठाउँमा अलपत्र अवस्थामा छाडेको छ । टेकु–कालीमाटी सडक दुई महिनादेखि अस्तव्यस्त छ । अनामनगर, चुच्चेपाटी–महाँकाललगायत सडकमा पनि तार भूमिगत गरेपछि सडकको तह नै नमिलाई झारा टारी कालोपत्रे गरिएको छ । यस्तै, न्युरोड, लैनचौर, बालुवाटारलगायत क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा आवागमन अस्तव्यत बनिरहेको छ ।
सडक बिग्रँदा ट्राफिक जाम बढ्ने, दुर्घटना हुने र सवारीसाधनसमेत बिग्रने गरेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी कार्यालय उपत्यकाका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले सडकमा अवरोध हुँदा सवारी ओहोरदोहोरमा समस्या परेको बताए ।
‘विद्युत् प्राधिकरणले काम गरिरहेका सडकमा अवरोध त छँदै छ, यसबाहेक काम गरिसकेको सडकसमेत राम्ररी मर्मत नहुँदा ओहोरदोहोरमा समस्या परेको देखिन्छ,’ उनले भने । विद्युत् प्राधिकरणले उपत्यकाका तीनै जिल्लामा तार भूमिगतसम्बन्धी काम गरिरहेको छ । जहाँ तार भूमिगत भइरहेको छ, त्यहाँ बढी समस्या भइरहेको छ । साथै, यसको प्रभाव अन्य ठाउँमा पनि पर्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार जहाँ–जहाँ प्राधिकरण र मेलम्चीले काम गरिरहेका छन्, त्यहाँ–त्यहाँ धेरै नै अवरोध हुने गरेको छ । मेलम्चीले धेरैजसो ठाउँमा काम सके पनि पुराना पाइप फुट्दा सडक हिलाम्य हुने गरेको छ । ‘सडक जुन निकायले भत्काउँछ, त्यही निकायले पुरानै अवस्थामा पुर्याउनुपर्छ,’ विभागका महानिर्देशक ढकालले भने, ‘पछिल्लो समय केही सडकमा खाल्डाखुल्डीका कारण अवरोध पुगेको छ ।’
प्राधिकरणको धेरैजसो तार भूमिगत गर्ने काम भित्री सडकमा भइरहेको छ । मुख्य सडकमा काम गर्न विभागले अनुमति नदिएपछि भित्री र साना सडकमा काम भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार हालसम्म तार भूमिगत आयोजनाको २५ प्रतिशत काम भइसकेको छ भने मुख्य सडकसहित भित्री बस्ती जोड्ने भूमिगतको काम बाँकी छ । ‘मुख्य सडकमा अनुमति पाएका छैनौँ, एयरपोर्टदेखि माइती र रिङरोड जोड्ने मुख्य सडकमा तार भूमिगतको काम बाँकी छ,’ उनले भने, ‘विभागले अनुमति नदिँदा मुख्य सडक क्षेत्रमा काम गर्न सकेका छैनौँ ।’ उनका अनुसार १ असारदेखि चार महिनासम्म भूमिगतको काम रोकिन्छ ।
बस्न छाड्यो उच्चस्तरीय समितिको बैठक
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकाका सडकसँग सम्बन्धित समस्या समाधानका लागि मातहतका निकायबीच समन्वय गर्ने गरी समन्वयात्मक उच्चस्तरीय बैठक सुरु गरेका थिए । तर, मन्त्री परिवर्तन भएसँगै उक्त समितिको बैठक स्थगित भएको छ । सडकसँग सम्बन्धिन निकायबीचको बैठक रोकिएपछि सडकमा खाल्डाखुल्डी र अन्य अवरोध देखिन थालेका छन् ।
सडक व्यवस्थित नगरेसम्म नयाँ ठाउँमा खन्न नदिने चेतावनी
विद्युत् प्राधिकरणले तार भूमिगत गर्दा सबैतिर सडक अस्तव्यस्त पारेको भन्दै सडक विभागले अब सडक भत्काउन नदिने चेतावनी दिएको छ । यसअघि तार भूमिगत गर्न खनेका खाल्डा व्यवस्थित तरिकारले नपुरेको भन्दै विभागले पुरानो काम पूरा नगरी नयाँ ठाउँमा खाल्डा खन्न नदिने भएको हो । विभागका महानिर्देशक ढकालले उपत्यकाका सडकका खाल्डा पुर्ने विषय पेचिलो बनेको बताए । प्राधिकरणले हाल बुढानीलकण्ठ र गोकर्ण क्षेत्रमा तार भूमिगतका लागि सडक भत्काउनेबारे विभागसँग अनुमति मागेको छ ।