विलासी जीवनशैली र अस्वस्थकर खानपानका कारण नेपालमा दीर्घरोगीको संख्या बढ्दो छ । पछिल्लो समय मुटुरोग, उच्च रक्तचाप, मधुमेह, मिर्गाैला, कोलेस्ट्रोल, युरिक एसिडजस्ता दीर्घरोगीको संख्या बढ्दै गएको छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो । तर, रोगलाई निको पार्न पनि त्यहीअनुसार आहारविहार हुनुपर्छ ।
उच्च रक्तचाप
उच्च रक्तचाप भएका बिरामीले नुन, चिनीजन्य खाना कम खानुपर्छ । बोसोजन्य खाना सकेसम्म खानुहुँदैन । रातो मासु खानैहुँदैन । यदि मासु खान मन लागेमा सेतो मासु खानुपर्छ । माछा पनि तेलमा तारेको चिल्लो छ भने खानुहुँदैन । मादक पदार्थ खानुहुँदैन, बरु फलफूलको जुस मिलाएर खायो भने राम्रो हुन्छ । त्यस्तै, गेडागुडी, सागसब्जीले पनि उच्च रक्तचाप भएका बिरामीलाई राम्रो गर्छ ।
मुटुका बिरामी
बोसोयुक्त चिल्लो पदार्थ तथा तेलमा पकाएका खानेकुरा मुटुका बिरामीका लागि हानिकारक छ । धेरै चिल्लो र हाई सुगर भएको, पेय पदार्थ र मिठाई खानुहुँदैन । सिजनेबल फलफूल, स्याउ, लोकल फलफूल, गेडागुडी खाने गर्नुपर्छ । सागपात खायो भने राम्रो हुन्छ । ग्यास्ट्रिक, अल्सरका बिरामीका लागि पनि बढी चिल्लोयुक्त खानेकुरा हानिकारक छ ।
मिर्गाैलाका बिरामी
मिर्गाैलाका बिरामीले खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ । नुन, दुग्धजन्य पदार्थ (चिज, बटर, घिउ), हरियो सागसब्जी कम खानुपर्छ । किनकि, सागसब्जीमा अक्जालेट र दुग्धजन्य पदार्थमा क्याल्सियम अत्यधिक हुन्छ । माछा, मासु, गेडागुडी सन्तुलित रूपमा ठिक्क मिलाएर मात्रै खानुपर्छ । क्याल्सियमजन्य खाद्यपदार्थ अत्यधिक पनि सेवन गर्नुहुँदैन ।
मधुमेहका बिरामी
शरीरमा गएर ग्लुकोजको रूपमा परिणत हुने खानेकुरा मधुमेह (सुगर)का बिरामीले खानुहुँदैन । धेरै गुलियो हुने फलफूल पनि खानुहुँदैन । घिउ, चिनी मिसाएको खानेकुरा त झन् सुगर भएका मान्छेले बन्दै गर्नुपर्छ । बजारमा आएका लड्डु, पेडाजस्ता मिठाईयुक्त खानेकुरा झुक्किएर पनि खानुहुँदैन । विशेष गरी कार्बाेहाइड्रेट कम भएको खानेकुरा खानुपर्छ । ताजा सागपात, फलफूल, गेडागुडी, सागसब्जी खाँदा सुगरका रोगीलाई फाइदा गर्छ ।
कोलेस्ट्रोलका बिरामी
कोलेस्ट्रोल भएका बिरामीले सलाद, हरियो सागसब्जी, फलफूल र पानी प्रशस्त खानुपर्छ । चिल्लो पदार्थ खानुहुँदैन । शाकाहारी खाना खानु धेरै राम्रो हो । शाकाहारी मानिसले पनि दूधको प्रयोग बढी गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । त्यसैले दूधजन्य पदार्थको प्रयोग कम गरेको राम्रो हुन्छ । तारेको, भुटेको तथा चिल्लो खानेकुरालाई सकेसम्म कम गर्नुपर्छ ।
युरिक एसिडका बिरामी
अमिलो गेडागुडी, जाँडरक्सी, रातो मासु कम खानुपर्छ । टमाटर, चिल्लो कम गर्नुपर्छ । खानेकुरा धेरैपटक खायो भने असर गर्छ । प्रशस्त मात्रामा झोल पदार्थ (सुप, पानी) खानुपर्छ । सकेसम्म माछा–मासु कम खाएकै राम्रो हुन्छ ।
थाइराइडका बिरामी
खानाको अनुपात मिलाएर खाने हो भने थाइराइडको समस्या कम गर्न सकिन्छ । काँक्रो, गाँजर, भिजाइएको गेडागुडी खान मिल्छ । दाल, दूधजन्य खानेकुरा, माछा, अन्डा, च्याउ, ओखर, बदाम, नट्स, फलफूल, अदुवा, जुस, ग्रिन टी र प्रशस्त पानी पिउँदा राम्रो हुन्छ । त्यस्तै, उसिनेको खानेकुरामा आलु, तरुल र सखरखण्ड आदि खान सकिन्छ ।