सरकारले विदेशी लगानी स्वीकृति स्वचालित मार्ग (अटोमेटिक रुट) बाट गर्ने भएको छ। १० करोडसम्मको वैदेशिक लगानी यो प्रणालीबाट स्वीकृत गर्ने व्यवस्था गरेको हो।
कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृतिजस्ता सेवा स्वचालित मार्ग (अटोमेटिक रुट) बाट प्रदान गर्न सक्ने व्यवस्था गरेको छ।
चालू आर्थिक वर्ष ०७९–०८० को बजेट वक्तव्यको बुँदा नं. ६६ मा १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइने उल्लेख भएको थियो। साबिकमा भौतिक फायलमार्फत मात्र विदेशी लगानी स्वीकृत गर्ने गरिएको थियो।
यस प्रणालीलाई पूर्ण कार्यान्वयन गर्दै नेपाल सरकारका सम्बद्ध निकायहरूसँग आबद्ध गर्ने र विभागको सेवालाई पूर्ण अटोमेसन गर्ने गरी विभागले तयारी गरिरहेको उद्योग विभागले जानकारी दिएको छ।
प्रशासनिक सुधारकै चरणमा निकट भविष्यमा मानवीय संलग्नताविना स्वचालित प्रणालीबाट विदेशी लगानी स्वीकृत हुने प्रणाली अवलम्बन गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ संशोधनको निर्णय भई नेपाल राजपत्रमा सूचना प्रकाशन हुने क्रममा रहेको उल्लेख छ । सोको कार्यान्वयनका लागि विभागले वेबमा आधारित अटोमेटिक रुट प्रणाली निर्माण गरेको छ।
विदेशी लगानीकर्ताले शतप्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्न सक्ने, लगानी स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतका सम्बद्ध निकायलाई प्रणालीमार्फत नै स्वचालित रूपमा हुनेछ।
लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृति लिइरहनु नपर्ने व्यवस्था यस प्रणालीका आकर्षण रहेको विभागले जानकारी दिएको छ।
हाललाई दुई करोडदेखि १० करोडसम्मको परियोजना प्रस्ताव भएका तोकिएका उद्योगहरूमा यस प्रणालीमार्फत विदेशी लगानी गर्न सकिने व्यवस्था गरिएको छ।
सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दाकै बखतबाट कार्यान्वयनमा लैजाने गरी विभागले आन्तरिक तयारी पूरा गरेको छ।
भारत, बंगलादेशलगायतका हाम्रा छिमेकी मुलुकमा समेत यो प्रणाली लागू भइसकेको छ। नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्न उद्योग विभागले प्रशासनिक प्रक्रियालाई थप सरलीकरण गर्न यो प्रणालीको विकास गरेको जनाएको छ।
यस प्रणालीको प्रयोग गरी विदेशबाट पनि विदेशी लगानी स्वीकृत गराउन सकिने र विदेशी लगानी स्वीकृत गराउन उद्योग विभाग आइरहनु नपर्ने हुँदा विदेशी लगानी स्वीकृति प्रक्रिया सरल तथा सहज हुन गई सेवाप्रवाह थप प्रभावकारी हुने आशा विभागले गरेको छ।