नगर विकास समितिको जग्गामा कांग्रेस नेताको घर, ‘ड्राफ्ट’ गरिएकाे पत्र अलपत्र !

मंगलबार, ५ बैशाख, २०८०
डिजिटल संस्करण

कांग्रेसका नेता जानकीलाल बस्नेतले लमही नगर विकास समितिको जग्गामा घर बनाएको आरोप लागेको छ। 

नगर विकास समितिको चैलाही २ च कित्ता नम्बर ५९७ को जग्गा मिचेर बस्नेतले घर बनाएको आरोप लागेपछि समितिले लमही नगरपालिकामा छलफल पनि गरेको थियो । उक्त छलफल निष्कर्षविहीन बन्दा बस्नेतले घरको पिलर राखिसकेका छन् । 

नेता बस्नेतलाई उक्त स्थानमा घर नबनाउन भन्दै चिठी लेख्न लमही नगरपालिकाका प्रमुख तथा नगर विकास समितिका अध्यक्ष जोगराज चौधरी हिच्किचाएको स्रोतको दाबी छ। 

‘नगर प्रमुखले प्रशासकीय प्रमुखलाई हस्ताक्षर गराउनुपर्छ भन्नुहुन्छ,’ स्रोतले भन्यो, ‘प्रशासकीय प्रमुखले मेयरलाई हस्ताक्षर गराउनुपर्छ भनेर एकले अर्कालाई देखाएर पन्छिरहेका छन्।’ १४ फागुनमा नै बस्नेतलाई पठाउने गरी चिठीको ‘ड्राफ्ट’ तयारी गरिएको थियो । तर, नगर प्रमुख चौधरीले हस्ताक्षर गर्न नमानेपछि पत्र अलपत्र परेको छ । 

जुन पत्रमा चैलाही २ च कित्ता नं. ५९७ को जग्गा मिचिएको र त्यस स्थानमा घर निर्माण रोक्न भनिएको छ । नापी कार्यालय लमहीबाट अमिन र नगर विकास समितिको रोहवरमा जग्गा यकिन गरेर मात्रै घर निर्माण अगाडि बढाउने व्यहोरा पत्रमा छ।

लमही नगरपालिका– ५ मा बस्नेतले घर निर्माण भने जारी राखेका छन् । उनको घरसँगै केही ऐलानी जग्गा पनि छ । ऐलानी जग्गासँगै जोडिएको करिब सात मिटर जग्गा मिचिएको नगर विकास समितिको अनुमान छ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि बस्नेतले भने उक्त जग्गा अरूबाटै किनेको प्रतिक्रिया दिए । ‘मैले रत्न केसीमार्फत जग्गा किनेँ, त्यही ठाउँमा ओमप्रकाश सुवेदी र घनश्याम खनालको पनि जग्गा थियो,’ उनले भने, ‘तीनैजनाको सहमतिअनुसार सबै जग्गा लिएको हुँ ।’ पहिले त्यो जग्गा गुठीको रहेको र नगर विकास समितिले पनि त्यहाँको जग्गा पछि लिएको उनको प्रतिक्रिया थियो । बस्नेत ०७४ मा प्रदेश सभा सदस्यका उम्मेदवार थिए । उनी एमालेका रेवतीरमण शर्मासँग पराजित भएका थिए।
 

सुझावित समाचार