प्रशंसा मात्र लेखिएको पत्रको के काम ?

सोमबार, ४ बैशाख, २०८०
डिजिटल संस्करण

विनोवा भावे आफ्नो आश्रममा आउने हरेक पत्र ध्यानपूर्वक पठ्थे र समयमै तिनको उचित जवाफ पनि फर्काउँथे । उनी कुनै पनि पत्र नछुटाई पालैपालो आफ्नै हस्तलेखनमा जवाफ लेख्थे । एकपटक उनको आश्रममा निकै धेरै पत्र आएका थिए । त्यसैले, उनी आफ्नो आश्रमका केही वरिष्ठ अधिकारीलाई साथमा लिएर पत्र खोल्ने र पढ्ने गरिरहेका थिए । यसैक्रममा विनोवाको हातमा एउटा पत्र प¥यो । उनले सो पत्र खोलेर मनमनै पढ्न सुरु गरे । तर, पूरै पत्र पढिनसक्दै एकैछिनमा उनले त्यसलाई च्यातेर रद्दीको टोकरीमा फालिदिए ।

 उनलाई ध्यानपूर्वक हेरिरहेका आश्रमका एक अधिकारीले प्रश्न गरे– महोदय, हजुर त आश्रममा आउने हरेक पत्र ध्यानपूर्वक पढेर त्यसको जवाफ लेख्नुहुन्थ्यो । तर, यो पत्र त पूरै पढ्नु पनि भएन । झन् जवाफ पनि नलेखी च्यातेर रद्दीको टोकरीमा फालिदिनुभयो । आखिर त्यो पत्र कसले लेखेको थियो ? अधिकारीको प्रश्न सुनेपछि शान्त मनोभावमा विनोवाले जवाफ दिए– त्यो महात्मा गान्धीको पत्र थियो ।

विनोवाको जवाफ सुनेपछि ती अधिकारी झनै चकित भए । उनले प्रश्न गरे– हजुर यो के भन्दै हुनुहुन्छ महोदय ? तपाईंले बापुको पत्र पूरै नपढी किन च्यातेर फालिदिनुभयो ? विनोवाले जवाफ दिए– यत्तिकै ! ती अधिकारीलाई उनको जवाफले चित्त बुझेन । उनले रद्दीको टोकरीबाट च्यातिएको पत्र निकालेर जोडजाड गरी पढे । पत्रमा महात्मा गान्धीले विनोवाको मुक्तकण्ठले प्रशंसा गरेका थिए । पत्र पढिसकेपछि ती अधिकारीले भने– महोदय, यो त विशेष संग्रहणीय पत्र रहेछ । यो त एउटा ऐतिहासिक धरोहर पो हो त । 

विनोवाले पहिलेझैँ शान्तभावमै जवाफ फर्काए– जसमा केवल प्रशंसा मात्र लेखिएको हुन्छ, त्यो के पत्र ? यस्तो पत्रले त मनमा अहं भरिदिन्छ, मनलाई कलुषित बनाइदिन्छ र मानिसलाई कर्तव्यच्यूत पनि बनाउन सक्छ । त्यसैले, यस्ता पत्र पढेर समय बर्बाद पार्नुहुँदैन ।
 

सुझावित समाचार