यतिवेला बालबालिकाको स्कुल बिदा छ । स्कुल बिदा हुँदा अधिकांशलाई रमाइलो हुन्छ । तर, कतिपय बालबालिकालाई विद्यालय जान नपाउँदा नरमाइलो हुन सक्छ । लामो समय घरमा बस्नुपर्दा उनीहरूलाई तनाव हुन सक्छ । किनभने नियमित स्कुल जाने बानी परेको हुन्छ । कुनै पनि हिंसामा परेका र मनोसामाजिक समस्या भएका बालबालिकाका लागि झन् स्कुल बिदा तनावपूर्ण हुन्छ । त्यसैले बिदाको समय सदुपयोग गर्ने कुनै योजना नभएका बालबालिकाका निम्ति लामो बिदा तनावपूर्ण हुन्छ । त्यसैले अभिभावकले बालबालिकालाई पर्याप्त समय दिनुपर्छ । बालबालिकाको भावना बुझ्ने, उनीहरूको भावनालाई सम्मान गर्ने तथा भावना व्यक्त गर्ने वातावरण सिर्जना गर्नुपर्छ । उनीहरूको चाहना पूरा गर्ने कोसिस गर्नुपर्छ । पढाइको अनावश्यक बोझ कम गर्ने र खेल्ने तथा मनोरञ्जन गर्ने वातावरण मिलाउनुपर्छ ।
लक्षण
लामो समय घरमा बस्नुपर्दा परिवारसँग रिसाउने, झर्किने , मोबाइल वा टिभी हेर्ने , ढिलो उठ्ने, खाना नखाने, जंक फुडका लागि झगडा गर्ने, एक्लै बस्ने, उदास हुने, टोलाउने, घरमा आउने पाहुनासँग संवाद नगर्नेजस्ता लक्षण बालबालिकामा देखिन सक्छ । अझ कतिपय अवस्थामा नियमित काममा फर्किन नसक्ने र पुनः स्कुल जान नमान्ने पनि हुन सक्छ ।
यस्तो वातावरण बनाउनुपर्छ
- बालबालिकाको मनोस्वास्थ्यका लागि बिदाको सदुपयोग धेरै नै महत्वपूर्ण छ । बिदाको समयमा अभिभावकले घरमा समय दिनु आवश्यक हुन्छ ।
- बालबालिकाको बिदाको समय अभिभावकले घर बस्ने समय बढाउने प्रयास गर्नुपर्छ । नियमित कामबाट फर्केपछि उनीहरूसँग संवाद गर्ने र उनीहरूले कसरी दिन बिताए भन्ने प्रसंग चाख लिएर सुन्ने गर्नुपर्छ ।
- बिदाको समयमा मोबाइल वा टिभी हेर्ने लत बस्न सक्छ । तसर्थ आफ्नो समय मिल्नासाथ उनीहरूसँग घुम्ने वा सँगै सरसफाइ गर्नेजस्ता गतिविधि गर्नुपर्छ ।
- बिदाको समयमा पढाइमा बढी दबाब दिनुहुँदैन । बरु बालबालिकाको रुचिअनुसार पाठ्यपुस्तकबाहिरका किताब किनेर दिने, नयाँ सीप जस्तै– किचेनमा सँगै नयाँ परिकार बनाउन सिकाउनेजस्ता कुरामा प्रेरित गर्नुपर्छ । यसो गर्दा उनीहरूले काम सिक्छन् ।
- अधिकांश बालबालिकाको स्कुल छिटो सुरु हुने र ढिलो बिदा हुने गर्छ । जसले गर्दा बिहान–बेलुका सँगै खाना खाने समय हुँदैन । अहिले बालबालिकाको बिदाको समयमा परिवारसँगै बसेर खाने गर्दा उनीहरूलाई परिवारको महत्व बुझाउन सकिन्छ ।
- बिदाको समय उनीहरूलाई कुनै स्वयंसेवी काममा अभिप्रेरित पनि गर्नुपर्छ । यसले उनीहरूलाई समाजसँग जोडिन सहयोग गर्छ ।
- कहिलेकाहीँ बिदाको समय बालबालिका अल्छी भएर छिटै सुत्ने, अलि ढिलो उठ्नेजस्ता क्रियाकलाप गर्छन् । यस्तो अवस्थामा उनीहरूलाई सकेसम्म गाली गर्नुहुँदैन । स्कुल बिदा हुँदा उनीहरूलाई कहिलेकाहीँ इच्छाअनुसार दिन बिताउन दिनुपर्छ । यसले उनीहरूमा शारीरिक र मानसिक थकावट कम हुन्छ र उनीहरू नियमित कर्ममा फर्किन सक्छन् ।