सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण रोक्न परेको रिटलाई खारेज गरेसँगै नेपाल धितोपत्र बोर्डले दोस्रोपटक आवेदन खुला गरेको छ । बोर्डले बिहीबार सूचना जारी गर्दै १० दिनको समय दिएर आवेदन खुला गरेको हो ।
यसअघि २ असोजमा बोर्डले पहिलोपटक सूचना जारी गरेर नयाँ स्टक एक्सचेन्ज कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्ससम्बन्धी आवेदन माग गरेको थियो । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि ४५ दिनको समय तोकिएको थियो । आवेदन दिन सकिने १० दिन मात्र बाँकी रहँदा सर्वोच्चमा रिट परेपछि बोर्डबाट लाइसेन्स वितरण गर्न तत्काललाई रोकेको थियो । ब्रोकर लाइसेन्समा भने यसअघि नै ४५ वटा कम्पनीको आवेदन परिसकेको छ ।
बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली, धितोपत्र व्यवसायी नियमावली, २०६४ र धितोपत्र बजार सञ्चालक नियमावली, २०६४ संशोधन गरेर निजी क्षेत्रबाट पनि नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रस्तावलाई २१ भदौमा बसेको तत्कालीन मन्त्रिपरिषद्को बैठकले परित गरेको थियो ।
नयाँ कम्पनी खोल्न चाहनेले न्यूनतम तीन अर्ब चुक्ता पुँजी राख्नुपर्ने भएको छ । कम्पनी सञ्चालनमा आएको दुई वर्षपछि ३० प्रतिशत साधारण सेयर निष्कासन गर्नुपर्नेछ । एकल लगानीकर्ता सीमा १५ प्रतिशत राखिएको छ ।