पर्यटक भित्र्याउन युरोप–नेपालको हवाईभाडा घटाउनुपर्छ

शुक्रबार, १ बैशाख, २०८०
डिजिटल संस्करण

गैरआवासीय नेपाली संघ (एनआरएन) बेल्जियम शाखाले नेपाली नयाँ वर्ष–२०८० को अवसर पारी यही अप्रिल १५ मा बेल्जियममा ‘नेपाल फेस्टिभल–२०२३’ आयोजना गर्दै छ । युरोपेली बजारमा नेपाली उत्पादन, कला–संस्कृति र पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित आयोजना हुन गइरहेको फेस्टिभलबारे कार्यक्रमका संयोजक एवं एनआरएन बेल्जियम शाखा उपाध्यक्ष तीर्थराज धमलासँग नयाँ पत्रिकाकर्मी मीनराज बसन्तले गरेको कुराकानी :

‘नेपाल फेस्टिभल’ आउन केही दिन मात्रै बाँकी छ । यसको तयारी कहाँसम्म पुग्यो ?  
नेपाली नयाँ वर्ष २०८० को अवसर पारी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेल्जियमको आयोजना, नेपाली दूतावास ब्रसेल्सको संरक्षकत्व, बेल्जियमको लुभेन नगरपालिकाका अन्य स्थानीय संघसंस्थाको समन्वय र बेल्जियमस्थित नेपाली संघसंस्थाको पार्टनरसिपमा यही १५ अप्रिलमा नेपाल फेस्टिभल–२०२३ हुँदै छ । फेस्टिभलमा ३०–३२ वटा सांस्कृतिक नृत्य प्रस्तुत हुनेछन् । नेपालबाट आएका गौतम बुद्ध अभियानका अभियन्ता एवं गायक धीरज राई जोडिँदै हुनुहुन्छ । त्यसैगरी, स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुति दिनेछन् । 

कार्यक्रमको मुख्य उद्देश्य के हो ?
कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपाली भाषा, कला–संस्कृति, संगीत, नेपाली मौलिक खाना र नेपाली उत्पादनलाई एउटै मञ्चमार्फत प्रवर्धन गर्ने हो । यसअघि पनि एनआरएन बेल्जियम शाखाले प्रत्येक वर्ष कार्यक्रम गर्दै आइरहेको छ । एनआरएन अन्तर्राष्ट्रिय सम्वन्वय परिषद्कै अवधारणाअन्तर्गत आ–आफ्नो देशमा वर्षको एकचोटि नेपाली संस्कृति, कला, पर्यटन र नेपाली उत्पादन प्रवर्धन तथा नेपाली मौलिक खानाको प्रवर्धनका लागि यस्ता कार्यक्रम गर्दै आइरहेका छौँ ।

नेपाली समाजलाई एकीकृत गर्दै बेल्जियममा स्थानीय समुदायसँग नेपाली समुदाय घुलमिल भई नेपाली समाजको स्थायित्व गर्नुपर्ने दायित्व भएकाले त्यसका लागि पनि यो कार्यक्रम सान्दर्भिक हुन्छ भन्ने विश्वास हामीलाई छ । यस्तै, यहाँका स्थानीय समुदायलाई नेपालबारे जानकारी गराउने, नेपालका विभिन्न कुरालाई उनीहरूसमक्ष प्रस्तुत गर्ने र समग्रमा नेपाल र नेपाली पर्यटनको प्रवर्धन गर्ने काम गर्छौं । 

त्यसैगरी, डायस्पोरामा रहेका हाम्रा दोस्रो पुस्ताका भाइबहिनीलाई विभिन्न कला, संस्कृति, पर्यटन, मौलिक खाना आदिबारे जानकारी गराई नेपाली भाषा र नेपालको जानकारी गराउँदै भाषा उत्थानका लागि काम गर्दै उहाँहरूलाई पनि एनआरएन अभियानमार्फत नेपालसँग जोड्नुपर्छ भन्ने हाम्रो अर्को उद्देश्य हो । त्यही उद्देश्यलाई साकार पार्न वार्षिक रूपमा यस्ता कार्यक्रम आयोजना गर्छौं । यो त्यसकै निरन्तरता हो । 

नेपाल फेस्टिभलको मुख्य उद्देश्य नेपाली भाषा, कला–संस्कृति, संगीत, नेपाली मौलिक खाना र नेपाली उत्पादनलाई एउटै मञ्चमार्फत प्रवर्धन गर्नु हो

यस्तै, पर्यटन प्रवर्धनमा नेपाल सरकारको सहयात्री हुने गरी पनि कार्यक्रम सञ्चालन गर्छौं । किनकि, एनआरएनका विभिन्न ८६ वटा देशमा नेसनल कोअर्डिनेसन काउन्सिल छन् । तिनीहरूले नेपाल सरकारसँग मिलेर पर्यटन दूतका रूपमा काम गरिरहेका हुन्छन् । त्यो पनि हाम्रो नेपाल प्रवर्धनको मुख्य उद्देश्य हो । 

नेपाल फेस्टिभल कसरी मनाउँदै हुनुहुन्छ त ?
अहिले हुन गइरहेको १५औँ संस्करण हो, जुन विगतका वर्षदेखि गर्दै आइरहेको कार्यक्रमको निरन्तरता हो । एनआरएन आइसिसीकै अवधारणअन्तर्गत हरेक एनसिसीले नेपाल र नेपालीको प्रवर्धनका लागि आफू बसेका ठाउँबाट नेपाललाई प्रवर्धन गर्ने कार्यक्रम हो । यसैअन्तर्गत एनसिसी बेल्जियमले पनि नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर खुसी साटासाट तथा नेपाल र नेपालीको प्रवर्धनार्थ नेपाल फेस्टिभल आयोजना गरेको हो । यहाँका स्थानीय समुदायलाई हाम्रो कला संस्कृति, मौलिक उत्पादन तथा खाना देखाउन पनि यो कार्यक्रम आयोजना गरिएको हो । समग्रमा यसको उद्देश्य नेपालको प्रवर्धन गर्नु नै हो । 

अहिले ठुल्ठूला बिग स्क्रिनमार्फत नेपाल प्रवर्धनको तयारी गरेका छौँ । नेपाली मौलिक पञ्चेबाजा, मौलिक नृत्य, मौलिक खानेकुरा, नेपाली हस्तकला, उत्पादनका सामान विभिन्न १२ वटा स्टलमार्फत स्थानीय समुदायलाई सर्भ गर्ने हाम्रो योजना छ । यस्तै, हाम्रा यहाँका विशिष्ट अतिथिलाई उपहारस्वरूप नेपालको झन्डा, नेपालबाटै ल्याइएका टोकन अफ लभ, ढाकाटोपी, सलजस्ता सामान यहाँका विशिष्ट अतिथिलाई दिनेछौँ । यसले नेपालको प्रवद्र्धनमा केही सहयोग पुर्याउने हाम्रो अपेक्षा छ ।

यस्ता कार्यक्रमले नेपालको प्रवद्र्धन कसरी हुन्छ ? 
नेपालमा पर्यटकको वृद्धि होस् भन्ने नै आमगैरआवासीय नेपालीको चाहना हो । त्यही चाहनाअनुसार नेपाल चाँडै समृद्ध होस् भन्ने चाहन्छौँ । त्यसो भएको खण्डमा भोलि हामी पनि नेपाल फर्केर केही गर्न सक्ने सम्भावना रहन्छ । यही चाहनाले पनि नेपाललाई प्रवर्धन गर्ने विभिन्न कार्यक्रम गरिरहेका छौँ । 

नेपाल चिनाउने, नेपालबारे जानकारी दिने यस्ता कार्यक्रमले नेपालमा पर्यटकको संख्या वृद्धि गराउन सकियो भने, नेपाली उत्पादनलाई धेरैभन्दा धेरै स्थानीय बजारमा उपभोग गराउन सकियो भने भोलि नेपाली उत्पादकलाई प्रोत्साहित गर्दै उनीहरूको सामान विदेशमा ल्याएर बेच्ने वातावरण बनाउन सकिन्छ । त्यसले समग्रमा स्थानीय उत्पादकलाई प्रोत्साहन गर्छ । प्रोत्साहन पाएपछि उत्पादन बढाउनेतिर लाग्छन् ।

उत्पादन बढाउनु भनेको नेपालको आर्थिक वृद्धिदर बिस्तारै बढ्दै जानु हो । साथै, उत्पादक र बिजनेस म्यानले आफ्नो उत्पादन बढाएर आर्थिक रूपमा अगाडि बढ्ने बाटो सहज बन्न सक्छ । अहिलेको वैश्विक युगमा आयात–निर्यात भनेको अपरिहार्य चिज हो । 

यसबाट नेपाललाई कसरी फाइदा पुग्छ ?
एनआरएन संस्था त्यो हो, जसले नेपाल सरकारका लागि पर्यटन दूतका रूपमा काम गर्छ । नेपाल सरकारले आफ्नो बजेटको हिस्सा नै मार्केटिङमा लगाउनुपर्ने अवस्थालाई एनआरएनले सरलीकरण गरिदिएको छ, सहज बनाइदिएको छ । यसकै नेटवर्किङमार्फत नेपालका उत्पादन, नेपालका पर्यटन क्षेत्र र पर्यटन उद्योगलाई एनआरएनले प्रवर्धन गर्ने काम गरेको छ । त्यसकारण पनि हामीले गर्ने यस्ता कार्यक्रमले नेपाल सरकारलाई प्रत्यक्ष रूपमा भोलिका दिनमा पर्यटन प्रवर्धन , वृद्धिसँगसँगै अन्य आयामबाट फाइदा हुने पनि देखिन्छ । 

यस्ता कार्यक्रम किन आवश्यक छन् ?
हाम्रा बालबच्चालाई नेपाल र नेपालीप्रति जानकार बनाइराख्नुपर्ने हुन्छ । माथि भनेझैँ नेपाली भाषा, कला संस्कृति, संगीत, उत्पादन, खानपानबारे हाम्रा दोस्रो–तेस्रो पुस्ताका बालबच्चालाई जानकारी गराउनुपर्छ, ताकि नेपालबाट टाढा भए पनि नेपाल नभुलुन् । नेपालप्रति झुकाव बढाउन पनि यस्ता कार्यक्रम आवश्यक छन् । 

अर्को कुरा, हामी जुन देशमा बस्छौँ, त्यो देशको सरकार, समाजले हाम्रो देशलाई कुन रूपमा हेर्छ भन्ने पनि महत्वपूर्ण कुरा हुन्छ । उदाहरणका लागि नेपाली समुदायलाई बेल्जियमको सरकारले कसरी हेर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामी नेपाली समुदाय एकीकृत भई एउटै आवाज बनाएर अगाडि बढ्यौँ भने भोलिका दिनमा बेल्जियम सरकारले नेपाली कम्युनिटीलाई हेर्ने दृष्टिकोण नै फरक पर्छ । यसकारण पनि हामी एकजुट भएर यस्ता किसिमका कार्यक्रममार्फत यहाँको समाजसँग घुलमिल हुन जरुरी छ । प्रवासमा बसेर नेपाल र नेपालीको प्रवद्र्धन गर्दैगर्दा त्यसले पक्कै पनि नेपालको गौतम बुद्ध, लुम्बिनी, सर्वोच्च सगरमाथाको भूमि आदि भनेर प्रचार गरिरहेका हुन्छौँ । यस्ता कार्यक्रममार्फत यहाँको समुदायलाई त्यो म्यासेज दिने काम गर्छौं ।

यसमा नेपाल सरकारले गर्नुपर्ने केही काम छन् ? 
नेपाल सरकारले अविलम्ब गर्नुपर्ने केही विषय छन् । युरोपबाट डाइरेक्ट नेपाल जान भाडादर असाध्यै महँगो छ । त्यसले गर्दा कतिपय युरोपियन चाहेर पनि नेपाल जान सक्दैनन् । यसलाई कसरी मिनिमाइज गर्ने भन्नेबारे सरकारले सोच्नुपर्छ । अहिले नेपाल जान भाडादर मात्रै करिब १०००–१२०० युरो तिर्नुपर्छ । यदि त्यो कम हुने हो भने नेपालमा युरोपियन मुलुकबाट जाने पर्यटकको संख्या छिटै दोब्बर, तेब्बर हुन्छ । साथै, अलिकति पूर्वाधार र सुरक्षाको व्यवस्था हुनासाथ पर्यटकको संख्या वृद्धि हुन्छ र पर्यटन उद्योग फस्टाउँछ । 

सुझावित समाचार