पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीसँग बुधबार शिष्टाचार भेट गरेका छन्।
भेटमा दुई देशबीच व्यापार र जनस्तरको सम्बन्ध तथा सार्कका विषयमा छलफल भएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ। राजदूत अधिकारीले भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल भएको जानकारी दिए।
‘दुई मित्र राष्ट्रबीचको आर्थिक सहयोग अभिवृद्धि र व्यापार तथा पर्यटनमा प्रचुर सम्भावनाको प्रयोगलगायत सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भयो,’ राजदूत अधिकारीले भेटपछि भने, ‘हामीले क्षेत्रीय सहयोग र सार्कका विषयमा पनि विचार आदानप्रदान गर्यौँ।’
भेटवार्तामा पाकिस्तानी विदेश मन्त्रालय र नेपाली राजदूताबासका उच्च अधिकारीहरू पनि सहभागी थिए।