चिसो छल्न बेँसी झरेकाहरू घर फर्किँदै

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

हिमाली क्षेत्रमा जाडो बढेसँगै चिसो छल्न बेँसी झारेका भोटे जनजातिहरू गर्मी बढेपछि घर फर्किन थालेका छन्।

बाजुराको उत्तर–पूर्वी क्षेत्रका गौमुल, स्वामिकार्तिक, जगनाथ, हिमाली, बुढीनन्दा नगरपालिकाको उच्च हिमाली भूभागमा बसोबास गर्ने अधिकांशको मुख्य पेसा भेडाबाख्रा, गाईगोरु, घोडा–खच्चड पालन हो। हिमाली भेगमा कात्तिकदेखि चिसो बढ्न थालेसँगै उनीहरू हिउँदको पाँच महिना चिसो छल्न बेँसी झर्छन्। गर्मी बढेसँगै चिसो छल्न बेँसी झरेका भोटे जनजातिहरू लेकाली भेगतिर लागेका हिमाली गाउँपालिका– ३ की वसन्ती गुरुङले बताइन्।

हिउँ परेपछि गाईवस्तुलाई बस्न र चर्न समस्या हुने भएकाले हिउँदका केही महिना बेँसी झर्ने गरेको भेडीपालक लाप्पा थापा भोटेले बताए। पहिले गाउँका सबै वन खुला हुने गरेकाले भेडा बाख्रापालनमा निकै सहज हुन्थ्यो। अहिले गाउँका ती सबै वन सामुदायिक भएपछि  आफूहरूलाई भेडापालनमा समस्या भएको उनको भनाइ छ।

हिउँदमा हिमपातका डरले बेँसी झर्नुपर्ने, तर बेँसीमा पनि सामुदायिक वन उपभोक्ता समितिलाई महँगो कर तिर्नुपर्ने भएपछि भेडाबाख्रापालनमा समेत चुनौती थपिएको बुढीनन्दा नगरपालिका– १० पाण्डुसैनका लोपा गुरुङले बताए। गुरुङले भने, ‘पहिले गाउँमा एकै परिवारले २० सयभन्दा बढी भेडाबाख्रा पाल्ने गर्थे। पहिले बेँसी झर्दा वनको समेत कर तिर्नुपर्दैनथ्यो।’ भोटे जनजाति महासंघका जिल्ला अध्यक्ष गम्वीरसिंह गुरुङका अनुसार बाजुरामा २० प्रतिशत भेटे जनजातिहरूको बसोवास छ।

सुझावित समाचार