घुर्ने समस्या छ ? यी कुरामा ध्यान दिनुस्

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

निदाएका वेला सास फेर्ने बाटो जति खुल्नुपर्ने हो, त्यति खुला भएन भने सास लिन अलि गाह्रो हुन्छ । त्यसपछि बल गरेर अक्सिजन तान्दा आउने आवाज नै घुर्ने समस्या हो ।

यसकारण हुन्छ घुर्ने समस्या

मुख्यतः सास फेर्ने नलीमा भित्रपट्टि मासु पलाउँदा वा भित्रको मांसपेशीले काम नगर्दा घुर्ने समस्या हुन्छ । त्यसैगरी, मानिस मोटाउँदै जाँदा घाँटीमा बोसोको मात्रा बढेर सास फेर्ने ठाउँ साँघुरो हुन सक्छ र समस्या देखिन्छ । घुर्ने समस्या बालबालिकामा पनि हुन्छ । नाकको पछाडि भागमा हुने मासु बढ्यो भने बालबालिकामा घुर्ने समस्या देखिन सक्छ । त्यसैगरी, वयस्कमा मोटोपनाका कारण यो समस्या हुन सक्छ । घुर्ने समस्याका कारण धेरै छन् । नाकको हड्डी बांगो भएमा, नाकको पछाडिको भाग सुन्निएमा, घाँटीमा टन्सिल भएमा, सास फेर्ने नली साँघुरो हुँदा घुर्ने समस्या देखिन्छ । 

घुर्नुलाई सामान्य मानिने गरिन्छ । तर, पछिल्लो समय मेडिकल साइन्समा घुर्नुले धेरै असर गर्छ भनेर देखाएको छ । बालबालिकामा घुर्ने समस्या देखिँदा उनीहरूको विकासमा असर पुर्याउन सक्छ । उनीहरू राम्रोसँग सुत्न पाएनन् भने दैनिक क्रियाकलापमा असर पर्ने हुन्छ । झर्को मान्ने, शारीरिक तथा मानसिक विकासमा समस्या देखिने, खानपिन र व्यवहारमा परिवर्तन आउने हुन्छ । लामो समयसम्म यो समस्या रह्यो भने यसले बालबालिकाको फोक्सो र मुटुमा समेत असर पुग्न सक्छ । 

त्यसैगरी, वयस्क मानिसमा पनि घुर्ने समस्या निरन्तर भइरहेमा अक्सिजनको कमीले फोक्सोमा असर गर्ने, मुटुमा असर पुग्ने र सँगसँगै यसको असर दिमाग र पूरै जीवनमा नै पर्न सक्छ । काम गर्ने मानिस राम्रोसँग निद्रा नपुग्दा काम गरेको वेलामा निदाउने हुन्छन् । स–साना कुरामा झर्को लाग्ने, ब्लड प्रेसरको समस्या आउने सम्भावना हुन्छ । कहिलेकाहीँ निद्रामा घुर्नु सामान्य नै हो । तर, नियमित घुर्ने बानी पर्यो भने चेकजाँच गराउनुपर्छ । 

लक्षण
घुर्नु नै यसको लक्षण हो । तर, यससँग सम्बन्धित लक्षण अरू पनि छन् । कहिलेकाहीँ घुर्दाघुर्दै सास रोकिने र एकछिनपछि आत्तिएर उठ्ने हुन्छ । यो साना तथा ठूला व्यक्ति दुवैमा हुन्छ । त्यसैगरी, बिहान उठ्दा मुड फ्रेस नहुने, जता बस्यो त्यहीँ निदाउने, काम गर्न मन नलाग्ने वा बिग्रँदै जाने, प्रेसर बढ्ने, सास फेर्न गाह्रो हुनेलगायतका लक्षण देखिन सक्छन् । 

के गर्ने ?
नियमित घुर्ने समस्या छ भने चिकित्सकको सल्लाहमा उपचार थाल्नुपर्छ । यो रोग लागेकाहरूलाई इन्डोस्कोपी गरेर छाती तथा मुटुको जाँच गर्ने गरिन्छ । त्यसैगरी, सुतेको वेलामा कस्तो समस्या आउँछ भनेर अस्पतालमा मेसिन लगाएर रातभर प्रविधिमार्फत जाँच पनि गरिन्छ । सामान्य वा जटिल कस्तो अवस्थाको समस्या छ भनेर पत्ता लगाइन्छ । त्यसअनुसार उपचार गरिन्छ । यो समस्या भएकाले नियमित व्यायाम गर्ने, चिया, कफीबाट टाढा रहने गर्नुपर्छ । 

सुझावित समाचार