उपनिर्वाचनमा दलहरूको परीक्षण

१० वैशाखमा हुने उपनिर्वाचनको प्रचारप्रसार तीव्र, भिन्न रणनीतिका साथ प्रमुख दलहरू मैदानमा

डिजिटल संस्करण

तनहुँ १ : कांग्रेसको साखको लडाइँ

उपनिर्वाचनको परिणाम जेसुकै आए पनि कांग्रेसको संसद्को सबैभन्दा ठूलो दलको अंकगणितीय हैसियतमा धेरै फरक पर्दैन । तर, कांग्रेसका लागि चितवन २ र बारा २ को तुलनामा तनहुँ १ को उपनिर्वाचन प्रतिष्ठाको लडाइँ हो । तनहुँ १ को लडाइँ हार्दा जाने राजनीतिक सन्देशबाट भयभीत कांग्रेस सम्पूर्ण शक्तिका साथ मैदानमा छ । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त तनहुँ १ उपनिर्वाचनमा गुम्दा त्यसले पार्ने दीर्घकालीन प्रभावलाई मध्यनजर गरेर कांग्रेस नेतृत्व हरहालतमा जोगाउने रणनीतिमा छ । 

डा. मीनेन्द्र रिजाल नेता, कांग्रेस 
पछिल्लो निर्वाचनमा हामीले जितेको सिट हो । ०७४ को निर्वाचनबाहेक ०४८ देखि कांग्रेसले सधैँ जितेको ठाउँ हो । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको क्षेत्र भएकाले स्वाभाविक रूपमा महत्वको छ । पार्टीमा अस्तिसम्म क्रियाशील रहेका र पार्टीबाट टिकटको दाबी राखेका साथी पार्टी छाडेर निर्वाचनमा गएकाले जित्नैपर्छ भनेर गम्भीरतापूर्वक लाग्नु स्वाभाविक हो ।

कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई हुन् । तर, मैदानमा कमान्डर छन् महामन्त्री गगन थापा । कांग्रेसका लागि मात्र होइन थापाका लागि पनि तनहुँ १ परीक्षा हो । चुनाव जिताउँदा पार्टीभित्र थापाको भूमिका थप प्रभावकारी हुनेछ भने नतिजा प्रतिकूल आए उनको भूमिकामाथि प्रश्न उठ्नेछ । महामन्त्री थापासँग सहकार्य गरेका स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि कांग्रेस भोट सुरक्षित गर्न असन्तुष्ट समूहसँग छलफलमा छ । वाग्लेले पनि चुनावी अभियान तीव्र बनाएका छन् । 

०७४ मा बाहेक ०४८ यताका सबै निर्वाचन जितेको र अहिले गठबन्धन हुँदा पनि राष्ट्रपतिको क्षेत्र गुम्यो भने दीर्घकालीन प्रभाव पर्न सक्ने कांग्रेस नेताहरूकै बुझाइ छ । 

कांग्रेस नेता डा. मीनेन्द्र रिजाल चुनौतीको परीक्षा भएकाले तनहुँ १ को निर्वाचन कांग्रेसका लागि महत्वपूर्ण रहेको बताउँछन् । ‘पहिलो– पछिल्लो निर्वाचनमा हामीले जितेको सिट हो । ०७४ को निर्वाचनबाहेक ०४८ देखि कांग्रेसले सधैँ जितेको ठाउँ हो । दोस्रो– रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको क्षेत्र भएकाले स्वाभाविक रूपमा महत्वको छ । तेस्रो– पार्टीमा अस्तिसम्म क्रियाशील रहेका र पार्टीबाट टिकटको दाबी राखेका साथी पार्टी छाडेर गएकाले जित्नैपर्छ भनेर गम्भीरतापूर्वक लाग्नु स्वाभाविक हो,’ उनले भने ।  

तनहुँ १ को निर्वाचन आफूअनुकूल बनाउन कांग्रेस केन्द्रीय नेतृत्व लागिरहेको छ । निर्वाचन परिणाम फेरबदलमा निर्णायक हुन सक्ने आकलनसहित कांग्रेसले गोविन्दराज जोशी समूहसँग छलफल तीव्र बनाएको छ । यसका लागि सभापति शेरबहादुर देउवादेखि महामन्त्री थापालगायत पदाधिकारी र केन्द्रीय सदस्य सक्रिय छन् । जोशी समूहका अनुसार कांग्रेस नेताहरू निरन्तर सम्पर्कमा छन् । जोशीका छोरा दीपकराज जोशीले उपनिर्वाचनमा सहयोगका लागि कांग्रेस नेताले निरन्तर भोट गरिरहेको बताए । उनले महामन्त्री थापासँग सुरु भएको वार्ता सभापति देउवासम्म पुगेको बताए । उनका अनुसार सोमबार सभापति देउवासँग छलफल भएको थियो । देउवाले आफूलाई भेटका लागि धुम्बाराहीस्थित निवासमा बोलाएर निर्वाचनमा सघाउन आग्रह गरेको उनले बताए । देउवासँगको भेटबारे कांग्र्रेस पूर्वसहमहामन्त्रीसमेत रहेका जोशीलाई जानकारी गराउने र देउवासँग निर्णायक छलफल हुने उनले बताए । 

कांग्रेस कार्यसम्पादन समिति बैठकले उपनिर्वाचन हुने तीन क्षेत्रमा कारबाहीमा परेकाको कारबाही फुकुवाको निर्णय गरेको थियो । तर, जोशी फुकुवा मात्रले सन्तुष्ट छैनन् । जोशी समूहले पनि आफूले सघाउनुपर्ने अवस्थामा जोशी र आफ्ना समूहको नेता–कार्यकर्ताको सम्मानजनक व्यवस्थापनको माग राखेको छ । बारा २ मा कांग्रेसको उम्मेदवार छैन । चितवन २ मा कांग्रेसले आफ्नो साख जोगाउन चुनौती देखेको छ । सोहीकारण पनि कांग्रेस तनहुँ १ मै केन्द्रित छ । तनहुँमा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । 

चितवन २ : फराकिलो जित निकाल्ने रास्वपाको रणनीति

गत ४ मंसिरको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेचितवन २ बाट देशभरमै सबैभन्दा धेरै मतान्तर (३४ हजार तीन सय १२ मतान्तर) ले निर्वाचित भएका थिए । तर, नागरिकता प्रकरणमा सर्वाेच्च अदालतको फैसलासँगै सांसद पद गुमेपछि यहाँ उपनिर्वाचन हुँदै छ । यसलाई कांग्रेस उम्मेदवारजितनारायण श्रेष्ठ र एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले चुनावी मुद्दा बनाएका छन् । लामिछाने भने फराकिलो मतान्तरले जित निकाल्ने रणनीतिमा छन् ।

मनीष झा सांसद, रास्वपा
चितवन २ बाट हाम्रो अभियान सुरु भयो र निर्वाचनमा स्थापित पनि भयो । यो ठाउँ मंसिर ४ को निर्वाचनमा हाम्रो ‘क्याप्टेन’ले जित निकालेको क्षेत्र हो । परिवर्तनको लहर सुरु भएको चितवन २ यसै पनि हाम्रा लागि विशेष छ । यसकारण पनि रास्वपालाई यो क्षेत्र प्रतिष्ठाको निर्वाचन क्षेत्र बनेको छ ।

चितवन २ मा पुनः निर्वाचन जितेर लामिछानेमाथि लागेको आरोप जनमतबाट खण्डन गर्ने रास्वपाको योजना छ । रास्वपा सांसद मनीष झाका अनुसार पार्टीको अभियान स्थापित भएको निर्वाचन क्षेत्र भएकाले उसका लागि चितवन २ विशेष छ । त्यसमाथि गत निर्वाचनमा  सभापति लामिछानेले लोकप्रिय मतसहित सानदार जित निकालेकाले रास्वपाका लागि यो आधारक्षेत्र पनि रहेको उनको भनाइ छ ।

रास्वपाका संसदीय दलका नेता डिपी अर्यालले चितवनसहित तीनवटै निर्वाचन क्षेत्र आफ्ना लागि उत्तिकै महत्वपूर्ण भएको बताए । उनले चितवनबाहेकका दुई निर्वाचन क्षेत्रमा यसअघि रास्वपाले जित ननिकालेको भए पनि उपनिर्वाचनमा कम आँक्न नमिल्ने जिकिर गरे । ‘हाम्रा लागि तीनवटै निर्वाचन क्षेत्र उत्तिकै महत्वका हुन्, तीनै उम्मेदवारले निर्वाचन जित्नुपर्छ,’ उनले भने । 

चितवनमा एमाले र कांग्रेस आफ्ना नेता तथा कार्यकर्ताको भोट सकभर रास्वपामा जान नदिने कसरतमा छन् भने रास्वपा भने ठूलो मतान्तरले जितेको पुरानो विरासत कसरी जोगाउने भन्ने चिन्तामा देखिन्छ । 

कांग्रेस उम्मेदवार श्रेष्ठ निर्वाचन परिणाम गठबन्धनकै पक्षमा आउने दाबी गर्छन् । ‘चितवनको माटोमा गरेको काम, यहाँका जनताको सुखदुःखमा दिएको साथ र चितवनको भूगोल बुझेकै कारण यो निर्वाचनमा मेरो जित सुनिश्चित छ । गठबन्धन एकढिक्का छ । म सेवक भएर जनताको बीचमा जान्छु भनेर २७ वर्षदेखि लाग्दै आएको छु । अघिल्लो परिणाम हाम्रो पक्षमा रहेन । जसको पक्षमा परिणाम आयो ती मान्छे योग्य थिएनन् भनेर अहिले प्रश्न आएको छ,’ उनले भने । 

एमाले उम्मेदवार न्यौपानेको तर्क छ, ‘जितेर गएका सांसद कति ‘इथिकल’ हुनुहुँदोरहेछ भन्ने कुरा त प्रमाण देखापरेका छन् । यो निर्वाचन कसका कारण भएको हो ? अहिले जनताले त्यो विषयलाई राम्रोसँग बुझ्नुभएको छ । चितवनको आन्दोलनमा लागेको, यहाँको दुःखसुखमा जोडिएको व्यक्ति उम्मेदवार बनेको भन्दै शुभकामना पाएको छु ।’

लामिछाने भने अघिल्लो चुनावमा सहरी क्षेत्रमा पाएको भोटलाई कायम राख्दै पहाडी क्षेत्रमा पकड बढाउने रणनीतिमा छन् । विगतजस्तै कांग्रेस र एमालेका मतदातालाई आफ्नो पक्षमा ल्याउन रास्वपाका कार्यकर्ता सक्रिय भएर लागेका छन् । उम्मेदवार नभएका माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत दलका कार्यकर्तालाई पनि फकाइरहेको छ रास्वपाले । 

लामिछानेले आफूहरूको अभियानको जित हुने बताए । ‘म व्यक्तिलाई नभई अभियानलाई समर्थन गर्न पनि मेरो जित आवश्यक छ । भ्रष्टाचारी, विवादमा परेकाहरूलाई मैले आँखा लगाएको छु । समृद्धि, सुशासन, आउँदो पुस्ताको सुन्दर भविष्य कोर्नका लागि, पार्टीभित्रको आन्तरिक लोकतन्त्र मजबुत गर्दै मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न तथा नयाँ पुस्ताको प्रतिनिधित्वका लागि मेरो उम्मेदवारी हो,’ उनले भने ।

लामिछानेले आफ्नो सम्बोधनमा गृहमन्त्री रहँदा जुनसुकै समयको भ्रष्टाचारको फाइल खोलिदिन्छु भनेकै कारणले फसाउने प्रयास भइरहेको जनतासँग बताउँदै आएका छन् । उनले यसपालि एकको बदला तीन जित्ने र पाँच वर्षपछि दुईतिहाइ जित्न सक्छौँ भनेर मत आकर्षित गरिरहेका छन् ।

बारा २ : जसपाको प्रतिष्ठा 

तनहुँमा कांग्रेसका लागि जस्तै बारा २ को उपनिर्वाचन जसपाका लागि प्रतिष्ठाको बनेको छ । बारा २ मा सत्तागठबन्धनका ठूला दलको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा छन् । यस निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य रहेका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि हुन थालेको उपनिर्वाचन जसपाले जसरी पनि आफ्नो पक्षमा पार्न चाहेको छ । त्यसमाथि जसपा पार्टी अध्यक्षलाई अगाडि सारेर मधेसमा आफ्नै वर्चस्व रहेको देखाउने दाउमा छ । 

मनीष सुमन, प्रवक्ता, जसपा
‘बारा २ जसपाको बलियो सांगठनिक संरचना भएको क्षेत्र हो । निर्वाचन क्षेत्र बनेदेखि नै हामीले अनवरत संघ, प्रदेशदेखि वडासम्म निर्वाचन जितेको क्षेत्र हो । अर्को महत्वपूर्ण पक्ष पार्टीबाट सबैभन्दा योग्य उम्मेदवार अध्यक्ष उपेन्द्र यादवलाई मैदानमा उतारेका छौँ । आत्मविश्वासका साथ हामीले भन्दै आएका छौँ– हामी जित्छौँ ।

जसपा प्रवक्ता मनीष सुमनले बारा २ जसपाका लागि महत्वपूर्ण रहेको बताए । ‘बारा २ जसपाको बलियो सांगठनिक संरचना भएको क्षेत्र हो । निर्वाचन क्षेत्र बनेदेखि नै हामीले अनवरत संघ, प्रदेशदेखि वडासम्म निर्वाचन जितेको क्षेत्र हो । अर्को महत्वपूर्ण पक्ष पार्टीबाट सबैभन्दा योग्य उम्मेदवार अध्यक्ष उपेन्द्र यादवलाई मैदानमा उतारेका छौँ,’ उनले भने, ‘उहाँ संघीयता र मुलुकमा परिवर्तनका लागि सशक्त नेतृत्व गर्दै आउनुभएको नेता हुनुहुन्छ । सबै आधारले हाम्रा लागि यो क्षेत्र महत्वपूर्ण छ । आत्मविश्वासका साथ हामीले भन्दै आएका छौँ– हामी जित्छौँ ।’ 

बारा २ उपराष्ट्रपतिले तत्कालीन पाँचदलीय सत्तागठबन्धनसँग प्रतिस्पर्धा गरेर जसपाले जित निकालेको क्षेत्र हो । त्यसवेला निर्वाचन जितेका रामसहायप्रसाद मुलुकको दोस्रो सर्वोच्च पद उपराष्ट्रपतिका रूपमा छन् । उपराष्ट्रपतिले छाडेको निर्वाचन क्षेत्र हुनुले पनि जसपालाई यहाँको जित अर्थपूर्ण हुनेछ ।

उपनिर्वाचनका लागि ४ मंसिरको निर्वाचनमा पराजित बनेका अध्यक्ष उपेन्द्र आफैँ लामो प्रयास गरेर संसद् छिर्ने महत्वाकांक्षासहित मैदानमा छन् । यो निर्वाचन जसपा र उपेन्द्रको राजनीतिक भविष्यमाथिको प्रश्नचिह्नका रूपमा पनि रहने भएकाले महत्वपूर्ण छ । कांग्रेसले अध्यक्ष यादवलाई जिताउन अजय चौरसिया र लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश अध्यक्ष जितेन्द्र सोनललाई खटाएको छ ।

उपेन्द्रलाई रोक्न जनमतका अध्यक्ष सिके राउतले उम्मेदवार खडा गरेपछि प्रतिस्पर्धा रोचक बनेको छ । जनमत पार्टीले ४ मंसिरको निर्वाचनमा तीन सय ५४ मतले पराजित माओवादीका उम्मेदवार शिवचन्द्रप्रसाद कुसवाहलाई आफ्नो पार्टीमा भित्र्याएर यादवविरुद्ध मैदानमा उतारेको छ । जनमतले पनि यो क्षेत्रमा आक्रामक निर्वाचन प्रचार गरिरहेको छ ।

चुनावी प्रतिस्पर्धामा रास्वपाले पूर्वडिआइजी रमेश खरेललाई अघि सारेको छ । एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार छन् । गठबन्धनमै आबद्ध नागरिक उन्मुक्तिका कमरुल्लाह अन्सारी पनि मैदानमा छन् । मधेसमा गर्मीको पारो तातिरहेका वेला उम्मेदवारहरू घरदैलोदेखि खेतबारीसम्मै पुगेका छन् । यादव र खरेल फरक निर्वाचन क्षेत्रबाट आएपछि जनमतका उम्मेदवार कुसवाहले टुरिस्ट उम्मेदवारको ट्याग लगाएका छन् । 

कुसवाह आफू बारा २ को धर्तीपुत्र भएको भन्दै मतदाताको घरघर गएर मत माग्ने गरेका छन् । ०६४ को संविधानसभा सदस्यमा निर्वाचित भएयता उनले चुनाव जितेका छैनन् । कुसवाहले आफ्नो प्रतिस्पर्धा कुनै पार्टीसँग नरहेको भन्दै जनताले पार्टीभन्दा व्यक्तिलाई हेरेर मतदान गर्ने दाबी गरे । पौडेल १५ हजार संगठनात्मक मत रहेकाले चुनावमा राम्रो परिणाम ल्याउने दाबी गर्छन् । 

मंसिरमा भएको निर्वाचनमामा काठमाडौं १ बाट चुनाव लडेका सुशासन पार्टीका अध्यक्ष खरेल रास्वपाका उम्मेदवार हुन् । खरेल प्रहरी उपरीक्षक हुँदा पर्साको नेतृत्व गरेका थिए । ‘जनताले सबै पार्टीका काम देखिसकेका छन्, अब देश बनाउने जिम्मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्छ भन्ने मनसायमा रहेका छन्,’ खरेलले भने । 

सुझावित समाचार