यसरी बनाउन सकिन्छ मनमोहक बगैँचा

सोमबार, २७ चैत, २०७९
डिजिटल संस्करण

पछिल्लो समय दसैँ–तिहार, विवाह तथा विशेष समारोहका अवसरमा मात्रै नभएर घरको बैठक कोठामा, ढोकाको प्रवेशद्वार, विवाह उत्सवको हल, सभाकक्ष, घरको भर्याङ, डाइनिङ टेबलसमेतमा फूल सजिन्छन् । अर्काे, कसैलाई बधाई, शुभकामना र प्रेम प्रकट गर्न पनि फूलकै प्रयोग गरिन्छ । अहिले फूलको बगैँचा बनाएर घर सिँगार्ने चलन बढ्दो छ ।

सहरी क्षेत्रमा बगैँचा बनाउनका लागि सबैसँग पर्याप्त जग्गा हुँदैन । यद्यपि, सानो ठाउँमा पनि आकर्षक बगैँचा तयार गर्न सकिन्छ । यसले घरको सुन्दरता पनि बढाउन सहयोग पुग्छ । तर, घरमा कुन मौसममा कस्तो फूल रोप्नेबारे अधिकांशलाई थाहा नहुन पनि सक्छ । त्यसैले घरमा सधैँ आकर्षक देखिने मौसम र माटोसुहाउँदो फूल रोप्नुपर्छ ।

काठमाडौं बुढानीलकण्ठस्थित एसआर नर्सरीका सञ्चालक सुनील स्याङ्तान सानो क्षेत्रफल भएको ठाउँमा धेरै प्रजातिका फूल लगाउन सकिने बताउँछन् । उनी भन्छन्, ‘जग्गाको क्षेत्रफल र मौसमअनुकूलताअनुसार फूलका प्रजातिको छनोट गर्नुपर्छ । त्यसमा पनि फूल फुल्ने र नफुल्ने बिरुवा मिलाएर रोप्नुपर्ने हुन्छ ।’ त्यस्तै, कीर्तिपुरस्थित थापा नर्सरीका सञ्चालक कृष्ण थापा पनि जग्गाको क्षेत्रफलअनुसार बगैँचाको डिजाइन गर्नुपर्ने बताउँछन् । ‘फुल्ने तथा नफुल्ने धेरै प्रजातिका फूल पाइन्छन् । तर, बगैँचामा सबै प्रजातिका फूल लगाउन सम्भव हुँदैन । त्यसैले मौसमी फूल वा एकपटक फुल्ने तर वर्षभरि रहने फूल पनि रोप्न सकिन्छ,’ उनले भने । 

थापाका अनुसार घरको बगैँचा बनाउँदा धेरै हेरचाह गर्नुनपर्ने जातका फूल छनोटमा विचार पुर्याउनुपर्छ । उनी भन्छन्, ‘घरको कुन स्थानमा गार्डेन बनाउने भन्ने कुराले पनि अर्थ राख्छ । घाम लाग्ने ठाउँमा र माटो मलिलो भएको ठाउँमा रोपेका फूल राम्ररी फस्टाउँछन् । कहाँ, कुन प्रजातिको फूल रोप्ने, मौसमी फूल वा बाह्रै मास फुल्ने फूल रोप्ने, कहाँ गमला राख्ने भन्नेबारे विचार गरेर मात्रै फूल रोप्नुपर्छ । 

स्याङ्तान पनि घरमा बगैँचा बनाउन ठाउँ र हावापानी पनि ख्याल नराखी नहुने बताउँछन् । ‘बजारमा फूल नफुल्ने आकर्षक बिरुवा पनि छान्न सकिन्छ । धेरैजसोको रोजाइमा मौसमी फूल पर्ने भए पनि केहीको चाहना बहुवर्षे फूलमा पनि देखिन्छ । यो मौसमा सजिलै सर्ने भएकाले यसको फैलावट गर्न सजिलो हुन्छ ।’

बगैँचामा एक सय २० जातका फूलका बिरुवा रोप्न मिल्छ । जाडोभन्दा गर्मी मौसममा दोब्बर संख्यामा फूलका बिरुवा भित्रिन्छ । स्याङ्तान थप्छन्, ‘अहिले बिरुवाको पुरानो पात झरेर नयाँ पात हरियो भएर आउने सिजन हो । जाडो महिनामा सुक्खा हुने भएकाले फूल फुलेको हुँदैन । गर्मीमा बिरुवाको प्रशस्तै वृद्धि विकास हुन्छ । फूलको प्रकार पनि जाडो महिनाभन्दा गर्मी मौसममा धेरै आउँछ ।’

कस्तो फूल रोप्ने ? 
घरको बगैँचामा गार्डेनिया, हाइडेन्जिया, एजेलिया, क्यामेलियालगायत चमेलीका विभिन्न जातका फूल रोप्न सकिन्छ । अरब चमेली, सेतो चमेली, वन चमेली, शीतकालीन चमेली, स्पेनिस चमेलीलगायत विभिन्न प्रजाति र रङमा चमेलीका फूल पाइन्छन् । यो फूल वसन्त ऋतुको आगमनदेखि शरद ऋतुसम्म फुल्छ । यस्तै, सयपत्री, बोनान्जा, जिनिया, साल्भिया, सोलिसियालगायतका मौसमी फूल लगाउन सकिन्छ ।

अहिले जिरानियम, गुलाब, डेलिया, लालुपातेलगायतका फूलमा पनि मानिसको चाख बढ्दै गएको छ । रातो, सुन्तला, पहेँलो, निलो, हल्का पिंक, बैजनीजस्ता रङका फूल फुल्ने बिरुवामा अधिकांशको चासो हुने गरेको छ । सुन्दर र मगमग बास्ना आउने भएकाले धेरैले गमलामा लगाउने गरेका छन् । 

बगैँचामा अम्बा, एभोकाडो, स्याउ, कागती, जुनार, सुन्तला, स्ट्रबेरी, चेरी, लिजजस्ता हाइब्रिड फलफूलका बिरुवा पनि रोप्न सकिने थापा नर्सरीका सञ्चालक कृष्ण थापा सुझाउँछन् । उनी भन्छन्, ‘फूल रोप्दा फूलको प्रजातिअनुसार दूरीको ख्याल राख्नुपर्छ । फूलको बिरुवा र गार्डेनलाई कस्तो बनावट दिने भन्नेबारे पनि विचार पुर्याउनुपर्छ । मौसमी फूललाई हेरचाह पनि गरिहनुपर्छ । फूलसँग उम्रने झार हटाइदिनुपर्छ, नत्र झारका कारण फूलमा रोग लाग्ने जोखिम पनि हुन्छ । त्यसैले वेलावेलामा गोडमेल, मलजल गर्नुपर्छ ।’

सुझावित समाचार