संखुवासभाको विभिन्न ठाउँमा गाईबस्तुको छालामा विभिन्न खाले रोग (लम्पी स्किन डिजिज) देखिएपछि किसान चिन्तित भएका छन् । खाँदबारी नगरपालिका वडा नम्बर २ र ६ मा यो रोगको संक्रमण सबैभन्दा बढी देखिएको भेटरिनरी अस्पताल संखुवासभाका कार्यालय प्रमुख हिमालय पोखरेलले जानकारी दिए । उनका अनुसार नगरपालिकाको वडा नम्बर ७, ८, ९ र १० र पाँचपखन नगरपालिकाको वडा नम्बर १, ३, ४ र ५ का साथै भोजपुरको षडानन्द नगरपालिकामा समेत फाट्टफुट्ट देखिएको छ ।
खाँदबारी नगरपालिका– २ र ६ मा रोगको संक्रमण सबैभन्दा बढी देखिएपछि घरघरमै पुगेर पशुहरूको उपचार गरिएको थियो । कार्यालय प्रमुख पोखरेलका अनुसार पशुपंक्षी तथा मत्स्य विभाग निर्देशनालय विराटनगर, पशुसेवा अन्वेषण प्रयोगशाला विराटनगरको सहभागितामा पशु चिकित्सक हिमालय पोखरेल, अधिकृत पुरुषोत्तम पाण्डे, डा. लाखकुमार राई, प्राविधिक मनोज पोखरेल, सञ्जय सिंह, मिलन भट्टराईको संयुक्त टोलीले अभियानकै रूपमा स्थानीयको घरघरमा पुगेर पशुहरूको उपचार गरिएको छ ।
अभियानकै रूपमा स्थानीयको घरघरमा पुगेर उपचार गरिए पनि सचेत रहन सबै पशुपालक किसानलाई अनुरोध गरिएको कार्यालय प्रमुख पोखरेलले बताए । ‘खाँदबारी नगरपालिकाको पशु सेवा उपशाखा र भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रबाट मात्रै नभएर प्रदेश निर्देशनालयको सहयोगमा पशुहरूको उपचार गरिएको हो । थप महामारीको रूपमा फैलिन नदिन रोग लागेका पशुहरूलाई आइसोलेसन गरेर राखिएको छ । समस्या परेमा खबर गर्न अनुरोध गरेका छौँ । जिल्लाभर नै सचेतना फैलाइरहेका छौँ । सबै पालिकाहरूलाई खबर गरिएको छ,’ उनले भने, ‘यो रोगलाई लम्पी स्किन डिजिज भनिन्छ । यो रोगबाट पशुहरूको खुट्टा, च्यापु, माल, अन्डकोष, फाँचो सुनिने, शरीरभरि फोका आउने, दाना, घाँसपानी नखाने, नउग्राउने, ज्वरो आउने, दुहुना पशुको दूध सुक्ने, ब्याउने पशु तुहिने, कमजोर पशु हुनेलगायतका लक्षण हुने गर्दछ ।’
रोग थप पशुहरूमा फैलिन नदिन सबैतिर सचेतना तथा अनुशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाइएको पशु चिकित्सक पोखरेलले बताए । गाईबस्तुको शरीरभरि फोका आउने, ज्वरो आउनेजस्ता अनेकौँ लक्षण देखिएपछि भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र संखुवासभाले सचेत रहन आग्रह गरेको छ ।