ओरालो लागिरहेको डलरको वर्चस्व र मुद्रा विविधीकरण

आइतबार, २६ चैत, २०७९
डिजिटल संस्करण

हालको डलरको प्रभाव घट्ने प्रवृत्ति एक जटिल र बहुआयामिक परिघटना हो, जसले विश्व अर्थतन्त्रको गतिशील पाटोलाई प्रतिबिम्बित गर्छ

दाेस्रो विश्वयुद्धदेखि अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा प्रभुत्व जमाइरहेको अमेरिकी डलरको उपेक्षा गर्दै चीन र ब्राजिल आ–आफ्नो मुद्रामा आपसी व्यापार गर्न सहमत भएका छन् ।

अमेरिकी डलर अन्तर्राष्ट्रिय लेनदेनका लागि सबैभन्दा व्यापक प्रयोग हुने मुद्रा हो र विश्वभरका केन्द्रीय बैंकले राखेको प्राथमिक सञ्चिति मुद्रा पनि यही हो । अमेरिकी डलरको प्रभुत्वका पछाडि कैयौँ कारण छन्, जसमा अमेरिकाको आर्थिक र राजनीतिक प्रभावका साथै अन्तर्राष्ट्रिय वित्तीय बजारमा मुद्राको भूमिका पनि समावेश छ । तर, अमेरिकी डलरको स्थिरता र विश्वव्यापी वित्तीय प्रणालीमा डलरको भूमिकाले विभिन्न चिन्ता चासो निम्त्याएको छ । विश्वको प्राथमिक सञ्चिति मुद्राका रूपमा अमेरिकी डलर हुनुले अमेरिकी मौद्रिक नीतिमा हुने परिवर्तनले विश्वव्यापी वित्तीय प्रणालीमा महत्वपूर्ण प्रभाव पार्न सक्छ । उदाहरणका लागि अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले सन् २०२२ मा ब्याजदर बढाउने निर्णय गरेपछि विश्वव्यापी वित्तीय बजारमा प्रभाव पारेको थियो, अर्थात् उदीयमान बजार अर्थतन्त्रमा वित्तीय उथलपुथल निम्त्याएको थियो । विश्व वित्तीय व्यवस्था अमेरिकी डलरमा केन्द्रित हुँदा पनि अस्थिरता निम्तिन सक्छ । अमेरिकी डलरको प्रभुत्वले ‘डोमिनो प्रभाव’ निम्त्याउन सक्छ, जहाँ अमेरिकी डलरले जोडिएकामध्ये कुनै एक मुलुकमा संकट आउँदा अन्य बाँकी मुलुकलाई पनि असर पार्न सक्छ । अमेरिकी डलरका मामिलामा अमेरिकी अर्थतन्त्र नै दिगो हुने वा नहुनेमा धेरैको शंका छ । अमेरिकाका ठूला राष्ट्रिय ऋण छन् र धेरैले अमेरिकाको ती ऋण चुक्ता गर्न सक्ने सामथ्र्यमा शंका व्यक्त गर्ने गरेका छन् । त्यसमाथि चीनजस्ता अन्य विश्वशक्तिको उदय र युरो एवं चिनियाँ युआनजस्ता वैकल्पिक मुद्राको बढ्दो प्रयोगले अमेरिकाको डलर वर्चस्वलाई भविष्यमा चुनौती दिन सक्छ ।

त्यसैगरी अमेरिकी सरकारले बारम्बार गर्ने विभिन्न किसिमका आर्थिक नाकाबन्दीले पनि डलरको वर्चस्व गिराउनमा महत्वपूर्ण भूमिका खेलेको छ । विश्वभर कैयौँ यस्ता मुलुक छन्, जो यी अमेरिकी नाकाबन्दीका सिकार भएका छन् । यी नाकाबन्दीले स्वभावतः यी मुलुकका अर्थतन्त्रलाई गम्भीर ढंगले प्रभावित पार्ने गर्छ । तसर्थ, नाकाबन्दी लगाइएका यी मुलुकले अमेरिकी डलरको निर्भरता घटाउँदा नाकाबन्दीको प्रभावलाई घटाउन सक्छन् ।    

कतिपय मुलुकले अमेरिकी डलरको वर्चस्वले आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रतामै जोखिम निम्त्याउन सक्छ भन्ने ठान्छन् । यी मुलुकले डलरलाई अमेरिकी विदेश नीतिको संयन्त्रका रूपमा हेर्छन्, जसलाई अन्य मुलुकमा प्रभाव पार्न र नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ । यी राष्ट्रले आफ्नो स्वतन्त्रतामा दाबी गर्न सक्छन्, अर्थात् डलरमा आफ्नो निर्भरता घटाएर अर्थव्यवस्थामा अमेरिकाको प्रभावलाई कम गर्न सक्छन् ।

अमेरिकी डलर अन्तर्राष्ट्रिय व्यापार एवं वित्तीय व्यवस्थामा लामो समयदेखिको वर्चस्वशाली मुद्रा हो । विदेशी सञ्चितिमा उल्लेख्य डलर धनराशी भएका मुलुक ठूलो जोखिममा छन् । व्यवस्थापनको कठिनाइ एवं लागतका कारण यी मुलुकले सम्भावित मुद्रा जोखिम व्यहोर्न सक्छन् । विभिन्न मुद्रामा आफ्नो मुद्रा सञ्चिति विस्तारको विविधीकरण गरेर यी मुलुकले मुद्रा जोखिमलाई टार्न सक्छन् । 

अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी डलर वर्चस्वले व्यापारिक असन्तुलन निम्त्याउन सक्छ । अमेरिकामा आफ्नो मालवस्तु निर्यात गर्ने मुलुकले सामान्यतया डलरमा भुक्तानी पाउँछन् र यी मुलुकले डलर भुक्तानी आफ्नो मुद्रामा परिणत गर्नुपर्ने हुन्छ । यसले अमेरिकी डलरको माग वृद्धि गर्न सक्छ, जसले मुद्राको मूल्य बढाउन सक्छ । अन्ततः अमेरिकामा गरिने निर्यात महँगो बनाउँछ, नतिजा यसले व्यापार असन्तुलनमा ठूलो भूमिका खेल्छ । अमेरिकी डलरमा आफ्नो निर्भरता घटाएर मुलुकले आफ्नो अर्थतन्त्रमा हुने यी असन्तुलनको प्रभाव कम गर्न सक्छन् । उदाहरणका लागि ब्रिक्स मुलुकले द्विपक्षीय मुद्रा विनिमय सम्झौतामा हस्ताक्षर गरेका छन्, जहाँ यी मुलुकलाई अमेरिकी डलरको सट्टा आफ्नै मुद्रामा व्यापार गर्न अनुमति मिल्नेछ । यी सम्झौताले विभिन्न मुलुकलाई अमेरिकी डलरको ठूलो सञ्चिति राख्ने आवश्यकतालाई कम गरेको छ र विश्वव्यापी अर्थतन्त्रमा मुद्रा विविधतालाई प्रोत्साहन गरेको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र र एक प्रमुख निर्यातक रहेको चीनले अमेरिकी डलरप्रतिको आफ्नो निर्भरता घटाउनु र मुद्रा विविधतालाई बढाउनु आफ्नो हितअनुकूल देख्छ । चीन यो लक्ष्य हासिल गर्न सम्भव सबै उपायमा काम गरिरहेको छ । 

हालको डलरको प्रभाव घट्ने प्रवृत्ति एक जटिल र बहुआयामिक परिघटना हो, जसले विश्व अर्थतन्त्रको गतिशील पाटोलाई प्रतिबिम्बित गर्छ । विश्व वित्तीय व्यवस्थामा डलरको प्रभाव घट्ने प्रवृत्तिका सम्भावित परिणाम हालका मितिसम्ममा स्पष्ट छैन । केही विज्ञले अमेरिकी डलरबाट हुने ठोस परिवर्तनले विश्वव्यापी अर्थतन्त्रमा अस्थिरता निम्त्याउन सक्छ भन्दै चेतावनी दिएका छन्, किनभने डलर लामो समयदेखि अन्तर्राष्ट्रिय व्यापार र वित्त व्यवस्थामा प्रमुख मुद्रा बनेको छ । तत्कालै विश्व वित्तीय व्यवस्थामा डलरको प्रभाव घट्ने प्रवृत्तिको सम्भावित परिणाम आकलन गर्न निकै गाह्रो छ । तर, आउँदा वर्षमा अमेरिकी डलरको प्रभाव घट्ने प्रवृत्तिमा थप बढोत्तरी हुने देखिन्छ र मुद्रा विविधीकरणमा ठूलो प्रोत्साहन मिल्नेछ ।

(लिउ बेइजिङको सेन्ट्रल युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्सका सह–प्राध्यापक हुन्) सिजिटिएनबाट

सुझावित समाचार