मधेसमा पहुँच बढाउने गरी काम गर्न बिमा कम्पनीलाई निर्देशन

शनिबार, २५ चैत, २०७९
डिजिटल संस्करण

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कारोबार कम भए पनि बिमाप्रतिको विश्वसनीयता कायम हुने गरी बिमा व्यवसाय गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बिमा प्राधिकरणको आयोजनामा मधेस प्रदेशका बिमकहरूका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरूसँग बिहीबार भएको अन्तक्र्रियामा उनले पहुँच बढाउन निर्देशन दिएका हुन् ।  

नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स), वीरगन्जका पदाधिकारीहरूसँग भएको छलफलमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले वित्तीय जोखिमाङ्कनमा सुधार गर्न र व्यावसायिक दक्षताका साथ काम गर्न निर्देशन पनि दिए । ‘मधेस प्रदेशमा बिमाको पहुँच ८ प्रतिशत मात्र छ । मधेसमा बिमाको पहुँच बढाउन बिमा कम्पनीहरू नयाँ ढंगले अगाडि बढ्नुपर्यो । योग्य र दक्ष बिमा अभिकर्ताका माध्यमबाट बिमा व्यवसाय गर्नाले बिमाको पहुँच बढ्छ, त्यसतर्फ ध्यान दिनुपर्यो,’ उनले भने, ‘बिमा गरेपछि विपन्न परिवारले क्षतिको क्षतिपूर्ति बिमा कम्पनीबाट पाउँछन्, मिटरब्याजीकोमा जानुपर्दैन । तसर्थ, बिमाले मिटरब्याजीलाई निरुत्साहित गर्छ ।’ 

अध्यक्ष सिलवालले बिमा व्यवसायमा देखिएका समस्याहरूको समाधानका लागि विकल्पसहित आउन आग्रह गर्नुहुँदै सोहीअनुरूप समस्या समाधान गर्न प्राधिकरण तयार रहेको बताए । 

यस्तै, बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रदेश प्रमुख र शाखा प्रमुखहरूले नयाँ बिमालेख र बिमाशुल्कमा मात्र ध्यान दिन नहुने उनले बताए । पोलिसी ल्याप्स तथा सरेन्डरको समस्या आउन नदिन बिमालेख नवीकरणमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा दाबी भुक्तानीलाई छिटो–छरितो बनाउन र अस्वस्थ प्रतिस्पर्धा नगर्न बिमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक दिनेशकुमार लाल, प्राधिकरणका मधेस प्रदेश कार्यालयका प्रमुख कुसुम शर्मा, बिमा कम्पनीका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूका प्रमुख र कर्मचारीहरू, निप्स, वीरगन्जका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
 

सुझावित समाचार