साना दलले पनि खोजे प्रतिनिधित्व, कार्य–व्यवस्थाबाट टुंग्याउने
प्रतिनिधिसभाको नयाँ नियमावली पारित भएसँगै दलहरू संसदीय समिति गठनको गृहकार्यमा केन्द्रित भएका छन् । प्रतिनिधिसभामा १० वटा विषयगत समिति छन् । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समितिको गठन, सदस्य तथा सभापति चयनका लागि दलहरूले परामर्श थालेका हुन् ।
सभामुख देवराज घिमिरेले बुधबार बोलाएको सर्वदलीय बैठकमा सबै दललाई प्रतिनिधित्व हुने गरी २१ सदस्यीय कार्य–व्यवस्था समिति गठन गर्ने सहमति जुटेको छ । सहमतिअनुसार कांग्रेसबाट ६, एमालेबाट पाँच, माओवादीबाट दुई तथा रास्वपा, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति र एक सिट भएका पार्टी स्वतन्त्रसमेतबाट एक–एकजनाको प्रतिनिधित्व हुनेछ । बिहीबार बस्ने प्रतिनिधिसभा बैठकबाट समिति सदस्यको मनोनयन गरिने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
कार्य–व्यवस्थामा सहमति जुटाएको बैठक विषयगत समितिमा प्रतिनिधित्वको विषयमा विभाजित बन्यो । समितिहरूमा दलीय सामर्थ्यका आधारमा प्रतिनिधित्व गर्ने कि सबै दललाई प्रतिनिधित्व गराउने भन्ने बहस भएको थियो । संसद् सचिवालयले दलको सिट संख्याका आधारमा प्रतिनिधित्व गराउने गरी बैठकमा खाका प्रस्तुत गरेपछि साना दलहरूले असहमति जनाएको नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले बताए । ‘प्रतिशतका हिसाबले गर्दा हामीसहित जनमत, लोसपा, नेमकिपा, जनमोर्चालगायत कुनै साना नपर्ने भयो । कम्तीमा समितिमा प्रतिनिधित्व हुने हिसाबले साना दललाई एक–एकवटा हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘सबै दलको प्रतिनिधित्व गराउन कांग्रेस सकारात्मक देखियो । अब यो विषय कार्य–व्यवस्थाले पूर्णता पाएपछि त्यहीँबाट टुंगिन्छ ।’

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले कार्य–व्यवस्थामा सबै दललाई समेट्न सकिए पनि अन्य विषयगत समितिमा व्यवस्थापन गर्न जटिलता रहेको बताए । ‘कार्य–व्यवस्था र विषयगत समिति फरक हो । दलीय स्ट्रेन्थका आधारमा गर्दा कतिपय दल छुट्ने भएपछि त्यहाँ छलफल बहस भयो । सकेसम्म धेरै दल भए राम्रो हुन्छ भन्ने छ । के गर्ने भन्ने एक दुई दिनमा टुंगिन्छ,’ उनले भने ।
समितिहरूको गठनबारे सभामुख घिमिरेले मंगलबार पनि दलका सचेतक छलफल गरेका थिए । छलफलमा कुन समितिमा कुन दलबाट कति प्रतिनिधित्व हुने भन्ने संख्यात्मक भागबन्डाको प्रस्ताव भएको थियो । प्रस्तावलाई अब बन्ने कायर्–व्यवस्थाबाट टुंग्याइने एमाले प्रमुख सचेतक पदम गिरीले बताए । ‘विषयगत समिति गठनका लागि एउटा प्रस्ताव भएको छ । संख्याबारे कुन–कुन समितिमा कुन–कुन दलबाट कति–कति प्रतिनिधित्व गर्ने भन्ने शुक्रबारसम्म टुंग्याउँछौँ । त्यसपछि सम्बन्धित दलले नाम दिएर पूर्णता पाउँछ,’ उनले भने ।
प्रतिनिधिसभा नियमावलीको नियम १७५ मा प्रत्येक समितिमा सभामुखले प्रतिनिधिसभाको सहमति लिएर पदेन सदस्यबाहेक बढीमा २७ जना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था छ । एमालेले विषयगत समितिमा सदस्य चयनका लागि सांसदहरूलाई रोजाइको तीनवटा समितिको नाम पठाउन निर्देशन दिएको सचेतक महेश बर्ताैलाले बताए । उनका अनुसार धेरै सांसदले आफ्नो प्राथमिकता क्रममा तीनवटा समितिको नाम लेखेर दलमा बुझाएका छन् । ‘हामीले प्रत्येक सांसदलाई विषयगत समितिमा रहनका लागि प्राथमिकताका आधारमा कुन समितिमा रहने एक, दुई, तीन लेखेर पठाउनुस् भनेर २४ गतेसम्मको समय दिएका छौँ । त्यसका आधारमा बैठक बसेर कसलाई कहाँ राख्ने भन्ने टुंगो लगाउँछौँ,’ उनले भने ।
सत्तारूढ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले समिति गठनको प्रक्रिया अघि बढेको बताए । ‘नियमावली बनिसकेको छ । समिति बनाउने प्रक्रिया अगाडि बढेको छ । केही दिनमा टुंगिन्छ,’ उनले भने । आफ्नो दलले मापदण्ड बनाएरै समितिहरूमा सदस्य पठाउने उनले बताए । लेखकले अनुभवीलाई समितिमा पठाउन विगतमा समितिमा रहेका सदस्यहरूको नामावली संकलन गरिरहेका छन् । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले पनि समिति गठनको प्रक्रिया प्रारम्भ भएको र आफ्नो दलले सदस्य छनोटमा मापदण्ड बनाएरै अघि बढ्ने बताए । समिति बनेपछि नेतृत्वको चयनको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । रास्वपाका प्रमुख सचेतक परियारले समिति गठन र बाँडफाँटको विषय अघि बढेको बताए ।
संयुक्त समितिमा कानुनी अड्चन
दलहरूले समिति गठनको गृहकार्य थालेका वेला संघीय संसद्को संयुक्त समिति गठनमा कानुनी अड्चन देखिएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुइटा संयुक्त समिति छन् । प्रतिनिधिसभाका १२ र राष्ट्रिय सभाबाट तीन सदस्य रहने संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको गठनमा नियमावलीले अप्ठेरो पारेको हो । यी दुई समितिको गठनका लागि संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली छ । यो नियमावलीभित्र कतिपय दफामा प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम हुने भनिएको छ । ०७९ को नयाँ नियमावली सोमबार पारित भएसँगै ०७५ को नियमावली खारेज भएको छ । खारेज भएको नियमावलीसँग जोडिएको संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीकै आधारमा गर्ने कि यसलाई संशोधन गर्नेमा अन्योल देखिएको हो । माओवादी प्रमुख सचेतक पाण्डेले संयुक्त समिति नियमावली संशोधन गरेर जाने बताए । ‘पुरानोबाट जाँदैनौँ । सभाको नियमावली नै नयाँ बनाइसक्यौँ । यसमा पनि नयाँ बनाएरै जान्छौँ,’ उनले भने । कांग्रेस प्रमुख सचेतक लेखकले भने संशोधन नगरे पनि हुने बताए । ‘नियमावली संशोधन नगर्दासम्म त्यही नियमावलीले काम गरिराखेकै हुन्छ । त्यसैअनुसार गर्दा पनि हुन्छ । संशोधन गर्दा पनि हुन्छ,’ उनले भने । एमाले प्रमुख सचेतक गिरीले फास्ट ट्र्याकमा संयुक्त नियमावली संशोधन गरेर दुइटै समिति गठन गर्ने गरी अघि बढ्नुपर्ने बताए । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले संयुक्त समिति गठनमा देखिएको कानुनी अड्चनलाई कसरी समाधान गर्ने र वैधानिक हिसाबमा कसरी लाने भनेर कार्यव्यवस्थाबाटै टुंगो लाग्ने बताए ।