किशोर–किशोरीलाई अभिभावकले कस्तो व्यवहार गर्ने ?

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

किशोरावस्थामा शारीरिक र मानसिक स्वास्थ्यमा तीव्र परिवर्तन भइरहको हुन्छ । त्यसैले गर्दा उनीहरूको मुड धेरै समय एकनासको हुँदैन । उनीहरूले दुःख, सुख रिस, ईष्र्याजस्ता कुरा अभिव्यक्त गर्न थाल्छन् । यसलाई नकारात्मक रूपमा मात्रै लिनुहुँदैन । यो सामान्य मानवीय अनुभूतिको दर्पण हो । यस्ता व्यवहार प्रकटले उनीहरूको जीवनज्ञान बढेर जान्छ । अनुकूल र प्रतिकूल अवस्थाको अनुभूतिले मानसिक क्षमताको विकास गर्न सहयोग मिल्छ । जुन उनीहरूको जीवन भोगाइ र सिकाइ हुन्छ । तर, यसरी उनीहरूले प्रकट गर्ने संवेदनाहरूलाई हामीले उचित र आवश्यकताअनुसार सम्बोधन गर्न जरुरी छ । उनीहरू जिज्ञासु हुन्छन् । तर, कहिलेकाहीँ जिज्ञासा प्रश्नको रूपमा नभएर अनौठो र फरक व्यवहारका रूपमा पनि प्रस्फूटन हुन सक्छ । 

व्यवहारको रूपमा त्यो प्रकट रिस, खुसी, ईष्र्याको रूपमा त्यो प्रकट हुन सक्छ । मुड अस्थिर हुने हुँदा सही निर्णय लिन नसक्ने, ध्यान केन्द्रित नहुने, सजिलै विश्वास गर्ने आदि जस्ता व्यवहार देखाउँछन् । तसर्थ, त्यसको सम्बोधन हुनु जरुरी छ । यस्तो अवस्थामा अभिभावकले उनीहरूको स्वास्थ्यबारे विशेष ख्याल गर्नुपर्ने हुन्छ । विशेषगरी, १० देखि २४ वर्षसम्म मानसिक स्वास्थ्य एकदमै महत्वपूर्णहुन्छ । 

कस्तो व्यवहार देखाउँछन् ? 
यो उमेरसमूहका कतिपयले स–साना कुरामा झर्किने, बुबाआमासँग सधैँ विवाद गरिराख्ने, घरमा सधैँ कोठाभित्र चुकुल लगाएर मात्रै बस्ने, आफ्नो सामान स्याहार नगर्ने, हदैसम्मको हेलचेक्र्याइँ पनि गर्छन् । घरमा पाहुना आउँदा संवाद गर्न नरुचाउने र उनीहरूको क्रियाकलाप फरक किसिमको हुन्छ । कहिलेकाहीँ दुव्र्यसनमा फस्दा पनि त्यसो गर्छन् । त्यसले गर्दा पारिवारिक दूरी बढेजस्तो देखिन्छ । 

अभिभावक र छोराछोरीबीच ग्याप हुन्छ । राम्रो पारिवारिक वातावरण हुँदैन । अभिभावकले जेनेरेसन ग्यापले गर्दा यस्तो भएको होला भनेर सोच्छन् । तर, जेनेरेसन ग्यापले मात्रै हुन्छ भन्ने हुँदैन । उनीहरू विभिन्न प्रकारको मनोवैज्ञानिक समस्याबाट ग्रसित भएका हुन सक्छन् । 

भावना बाँड्न प्रोत्साहन गर्ने
उनीहरूलाई सामान्य महसुस गराउन अभिभावकले कुरा गर्ने, समस्या सुन्ने, सल्लाह दिने गर्नुपर्छ । यो अवस्थामा व्यक्तिमा मिश्रित किसिमको मनोभावना विकसित हुने हुँदा अभिभावकको सल्लाह निकै महत्वपूर्णहुन्छ । 

किशोर–किशोरीहरू हामीले गर्ने दैनिक क्रियाकलापबाट समेत निकै प्रभावित भइरहेका हुन्छन् । उनीहरूलाई घरको महत्वपूर्णसदस्य हुन् भन्ने महसुस गराउनुपर्छ । किशोरावस्थामा धेरै गल्ती दोहोरिरहेका हुन सक्छन् । जुन अभिभावकलाई मन नपर्न सक्छ, तर उनीहरूको मानसिक अवस्था बुझेर आफूलाई रोलमोडल बनाएर सल्लाह र सहयोग दिनु बढी महत्वपूर्णहुन सक्छ । किशोरावस्था भनेको स्वतन्त्रता पनि हो, यसर्थ उनीहरूलाई उचित समय र ठाउँ पनि दिनुपर्छ ।

समस्या समाधानमा सहयोग
वयस्क र किशोरावस्थाको विचार फरक हुने गर्छ । उमेर, ज्ञान र भोगाइका कारणले उनीहरूकोे सोच्ने तरिका पनि अभिभावकभन्दा निकै फरक हुन्छ । तर, उनीहरूको कुरा शान्त भएर सुन्नुपर्छ । कुनै समस्याका विषयमा कुरा गर्दा सामान्य ढंगबाट सम्झाउनुपर्छ । अभिभावकको प्रतिक्रियाले उनीहरूको धारणामा निकै ठूलो प्रभाव पार्ने हुँदा सजग हुन जरुरी हुन्छ । 

किशोर–किशोरीले सामान्य समस्या आफैँले समाधान गर्ने बानीले भविष्यमा आत्मनिर्भर बनाउँदै लैजान्छ । यस्तो कुरा अभिभावकले बुझाउन सक्नुपर्छ । निर्णय लिने, काम गर्ने, सम्बन्ध वा अन्य विषयमा उनीहरू स्वयंलाई सोच्ने समय दिनुपर्छ । यसका लागि अभिभावकले उनीहरूको भवनालाई ध्यानपूर्वक सुन्न सक्नुपर्छ । उनीहरूको भावना र भोगाइ सुन्न सकिन्छ, जसले उनीहरूमा बिस्तारै समस्या समाधानको सीप विकास हुँदै जान्छ । अभिभावकले स्वतन्त्रतासँगै आत्मनिर्भर बन्न हौसला दिन सके किशोरावस्थामा शारीरिक र मानसिक विकास सहज हुने गर्छ । 

परिवार नै रोलमोडल 
अभिभावकले अरूसँग तुलना गर्नुहुँदैन । यसले उनीहरूमा हीनताबोध, निराशा र आत्मविश्वासको कमी गराउँछ । उनीहरूका लागि परिवार नै रोलमोडल हो । परिवारभित्रका दुःख र बाध्यता उनीहरूसँग छलफल गर्नुपर्छ । यसले उनीहरूलाई जीवनशैली सिकाउँछ । परिवारले कसरी समस्या समाधान गर्छ भन्ने सीपले उनीहरूलाई जीवनमा कठिनाइ कसरी पार गर्ने भनेर परिपक्व बनाउँछ । अभिभावकले सन्तानसँग अपेक्षा राख्नु र सन्तानले पनि अभिभावकसँग अपेक्षा गर्नु कुनै अपराध होइन । 

सुझावित समाचार