प्रतिनिधिसभा नियमावलीमा के-के छन् नयाँ व्यवस्था ?

आइतबार, १९ चैत, २०७९
डिजिटल संस्करण
प्रतिनिधिसभा नियमावलीमा के-के छन् नयाँ व्यवस्था ?

प्रतिनिधिसभा नियमावली पारित गर्न आइतबार बसेको प्रतिनिसभाको बैठक । तस्बिर: अमुल थापा/नयाँ पत्रिका

प्रतिनिधिसभाले ‘प्रतिनिधिसभा नियमावली ०७९’ पारित गरेको छ। प्रतिनिधिसभाको आजको बैठकमा बहुमतबाट प्रतिनिधिसभाको नयाँ नियमावली पारित भएको हो। 

नियमावलीमा नेपाल मजदुर किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा मत जाहेर गरे। सत्तापक्ष र विपक्षी दलका बाँकी सबै सांसद पक्षमा रहे। 

बैठकमा नियमावली मस्यौदा समितिका सदस्य कांग्रेस सांसद रमेश लेखकले प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदन पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । यस्तै, मस्यौदामाथि उठेका प्रश्नको जवाफ दिएका थिए। 

नयाँ नियमावलीमा के छ?
पारित भएको नियमावलीमा प्रतिनिधिसभाको प्रत्येक बैठक सभामुखले मात्र सुरु र अन्त्य गर्ने व्यवस्था परिवर्तन गर्दै अब उपसभामुखले पनि बैठकको सुरु र अन्त्य गर्न पाउने व्यवस्था गरिएको छ। 

काबुबाहिरको परिस्थितिमा सभामुखको निर्देशनअनुसार उपसभामुखले बैठक प्रारम्भ र स्थगन गर्न सक्ने व्यवस्था नियमावलीको मस्यौदामा राखिएको छ।  

यस्तै, नियमावलीमा कुनै संसदीय समितिमा सभापति खाली भएमा १५ दिनभित्र नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरिएको छ भने स्वार्थ गाँसिएका सांसदहरूलाई समितिमा नराख्नेबारे व्यवस्था गरिएको छ। 

यसैगरी, संसद्को कार्यव्यवस्था परामर्श समितिमा पनि केही परिवर्तन गरिएको छ। यसअघि कार्यव्यवस्था समितिमा १७ जना सदस्य रहने गरेकोमा अब पदेनबाहेक २१ जना सदस्य रहने व्यवस्था गरिएको छ। 

संसदमा सांसदले उठाएका प्रश्नहरूको मन्त्रीहरूले अनिवार्य जवाफ दिनुपर्ने नियमसमेत नियमावलीमा राखिएको छ। यसैगरी, संवैधानिक निकायका पदाधिकारीमाथि लागेको महाभियोग ५ महिनाभित्र टुंगो लगाइसक्नुपर्ने नियम राखिएको छ। 

सुझावित समाचार