०६८ मा तीन करोड ४५ लाख रुपैयाँ लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको कान्द्रा नदीको पुल ११ वर्षपछि सम्पन्न हुने चरणमा
मुलुकमा विकास आयोजना कति ढिला भइरहेका छन् भन्ने उदाहरण बनेको छ, हुलाकी राजमार्गअन्तर्गतको कान्द्रा पुल । कैलालीको भजनी नगरपालिकाको ठेकीपुरस्थित कान्द्रा नदीमाथि निर्माण सुरु भएको पुल ११ वर्षपछि बल्ल अन्तिम चरणमा पुगेको छ । जब कि पुल दुई वर्षभित्र बनिसक्नुपर्ने सम्झौता भएको थियो ।
निर्माण कम्पनीको लापरबाहीले लामो समयसम्म पुल निर्माणको काम अलपत्र पर्दा स्थानीयले सास्ती भोग्दै आएका छन् । अब भने सास्ती र जोखिमपूर्ण यात्राको बाध्यता अन्त्य हुने स्थानीयको विश्वास छ । नदीमा पुल नहुँदा स्थानीय बासिन्दा पैसा तिरेर वर्षामा डुंगा र अरू वेला काठको अस्थायी पुलबाट नदी तर्दै आएका छन् । ‘यस वर्षदेखि यो बाध्यता हटेको छ,’ भजनी– ५ लालबोझीका सन्तराम चौधरीले नयाँ पत्रिकासँग भने, ‘११–१२ वर्षपछि पुल निर्माणको काम सकिन थालेको छ । अब नदी तर्दा भोग्नुपर्ने दुःख अन्त्य हुन्छ भन्ने विश्वास पलाएको छ ।’
वर्षायाममा बाढीले उर्लने कान्द्रा नदीमा अरू वेला पानीको सतह कम हुन्छ । वर्षामा स्थानीयले जोखिम मोलेर डुंगामा नदी तर्ने गर्छन् । वर्षा सकिएदेखि अर्को वर्षा सुरु नभएसम्म नगरपालिकामार्फत ठेकेदारले काठको पुल राखेर नदी तरेको पैसा असुल्ने गर्छन् । निर्माणाधीन पुलबाट अहिले पैदल ओहोरदोहोर गर्न दिइएको उल्लेख गर्दै सन्तरामले वर्षाअघि नै गाडी गुड्ने गरी पुलको काम सकिने आशा व्यक्त गरे । ‘पुल निर्माण सुरु भएदेखि प्रत्येक वर्ष पुलबाट ओहोरदोहोर गर्न पाइएला भन्ने आशा लाग्थ्यो, वर्षा लागेपछि नदी तर्दा उस्तै सास्ती भोग्नुपथ्र्यो,’ उनले भने, ‘ढिलै भए पनि यो पुल बन्यो, अब हामीलाई निकै सहज हुन्छ ।’
बिरामीदेखि विद्यार्थीसम्मलाई राहत
पुल नहुँदा खास गरी बिरामीलाई अस्पताल पुर्याउन निकै सकस पर्दै आएको छ । नदीवारिका स्थानीयले वर्षायाममा बिरामीलाई नदीपारि रहेको अस्पताल पुर्याउन निकै कठिनाइ भोग्दै आएका छन् । भजनी– ५ का अध्यक्ष केशवबहादुर बुढाले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । पुल निर्माण भएसँगै राजमार्ग पनि वारिपारि जोडिने उनले बताए । ‘हस्तान्तरण नभए पनि यो वर्षामा पुलबाट ओहोरदोहोर गर्न पाइने भयो । वर्षामा बाढी आएका वेला पनि ज्यान जोखिममा राखेर डुंगाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने भयो,’ वडाध्यक्ष बुढाले भने, ‘१० वर्षअघि नै पुल बनिसक्नुपर्ने हो, ठेकेदारले लापरबाही गर्दा यतिका वर्ष हामीले सास्ती भोग्यौँ ।’
यो पुलले भजनी नगरपालिकाको वडा नम्बर ३ र ५ लाई जोड्छ । किनमेल, उपचार, कारोबारका लागि कान्द्रा नदीपारि पर्ने ठेकीपुर, लालबोझीलगायत बस्तीका बासिन्दा सयौँ बासिन्दा भजनी बजारलगायत ठाउँ जान्छन् । भजनी बजारमा रहेको क्याम्पस र विद्यालयमा अध्ययनका लागि पनि विद्यार्थी जाने गर्छन् । तर, नदीमा पुल नहुँदा उनीहरूले समस्या भोग्नुपरेको थियो । पुल बनेपछि स्थानीयलाई सहज हुनुका साथै हुलाकी राजमार्गअन्तर्गत धनगढी–टीकापुर खण्डमा चारपांग्रे सवार साधन चलाउन सकिनेछ । कान्द्रा नदीमा पुल नहुँदा यो खण्डमा चारपांग्र्रे सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
अब के छन् बाँकी काम ?
तीन करोड ४५ लाख लागतमा एक सय मिटर लामो यो पुलको निर्माणका लागि लामा–साल्पा–शेर्पा–बिरुवा जेभीसँग जेठ ०६८ मा निर्माण सम्झौता भएको थियो । सुरुमा पुलको डिजाइन परिवर्तन गरिएका कारण केही ढिलाइ भए पनि पछि निर्माण कम्पनीको लापरबाहीले काम अलपत्र पारेको थियो । पुलमा रेलिङ राख्ने, कटान नियन्त्रणका लागि वारिपारि तारजाली लगाउने, पहुँच मार्ग बनाउने काम बाँकी रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले बताए । निर्माण कम्पनीले यो महिनाभित्रै पुल निर्माणको काम सक्ने प्रतिबद्धता जनाएको उनले बताए ।
पुलले जोड्यो मोहनापारिको बस्ती हौसलपुरलाई
मोहना नदीमा झोलुङे पुल निर्माण भएपछि कैलारी गाउँपालिका– ७ मा पर्ने सीमावर्ती बस्ती हौसलपुर नदीवारि नेपाली बस्तीसँग जोडिएको छ । नेपालतर्फ आउजाउ गर्न मोहना नदीमा पुल नहुँदा दैनिक व्यवहारका अधिकांश कामका लागि हौसलपुरवासी सीमावर्ती भारतीय क्षेत्रमा निर्भर रहँदै आएका थिए ।
नदीपारिका नेपाली बस्तीसम्म पुग्न डुंगामा नदी तर्नुपर्ने र बाटोसमेत राम्रो नभएकाले त्यहाँका स्थानीय अत्यावश्यक कामबाहेक शिक्षा, स्वास्थ्य, किनमेल, कारोबारलगायत अधिकांश व्यवहारमा भारतीय क्षेत्रमा निर्भर छन् । बर्खामा आउने बाढीले नदी तर्न नसकिने हुँदा बालबालिकाहरू सीमावर्ती गाउँका भारतीय विद्यालयमा अध्ययन गर्दै आएका छन् । उपचारका लागि पनि भारतीय स्वास्थ्य संस्थाकै भर पर्र्न बाध्य थिए ।
झोलुङे पुल निर्माण भएपछि भने हौसलपुरका बासिन्दाले नदीपारि नेपाली बस्तीसम्म पुग्न सहज भएको छ । हौसलपुरवासीलाई नेपालतर्फ आवतजावतमा सहजताका लागि संघीय सरकारको ७५ लाख रुपैयाँ लगानीमा एक सय २० मिटर लामो झोलुङे पुल निर्माण गरिएको हो । हालै सम्पन्न पुलको हस्तान्तरण हुन बाँकी छ । नेपाली बस्तीतर्फ आउजाउ गर्न स्थानीयले चार दशकदेखि डुंगाको सहारा लिँदै आएका थिए । हौसलपुरका भन्मन्सा टीकाराम चौधरीले पुल बनेपछि नेपालतर्फ आवतजावत गर्न सहज भएको बताए । ‘रातबिरात बिरामी पर्दा नजिकको हसुलिया, धनगढी बजारका अस्पताल जान सक्थेनौँ,’ उनले भने, ‘पुलले जोडिएपछि धेरै सुविधा भएको छ ।’
बर्खायाममा मोहना नदीमा अत्यधिक बाढी आउने भएकाले नदीपारि रहेको खेतबारी पुग्नसमेत समस्या हुँदै आएको उनले बताए । ‘पुल बनेपछि धेरै सुविधा भएको छ, तर पुल वारिपारि बाटो राम्रो छैन । बर्खामा हिलोले हिँड्न नसकिने अवस्था हुन्छ,’ भन्मन्सा चौधरीले भने, ‘बाटो पनि बनिदिए धेरै सुविधा पुग्थ्यो ।’ उनका अनुसार हौसलपुरका करिब ४० बालबालिका भारतीय विद्यालयमा अध्ययन गर्छन् । पुलसँगै बाटो पनि बनिदिए नदीपारिका विद्यालय जान चाहनेलाई सहज हुने चौधरीले बताए ।
हौसलपुरमा चौधरी र कठरिया समुदायका २९ घरधुरी छन् । उनीहरूसँग जग्गाधनी प्रमाणपुर्जा छैन । स्थानीयले कठरिया र थारू भाषा बोल्छन् । गाउँपालिकाले यसअघि त्यहाँ नेपाली भाषाको प्रशिक्षण कक्षा पनि सञ्चालन गरेको थियो । त्यहाँ बालविकासको पठनपाठन सुरु गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । हौसलपुरबाट सबैभन्दा नजिक पर्ने रामपुर चार–पाँच किलोमिटर दूरीमा पर्छ, जहाँ माध्यमिक तहसम्मको विद्यालय छ । हौसलपुरमा एक वर्षअघि विद्युतीकरण गरिएको थियो । ‘त्यहाँका बासिन्दालाई हामी नेपाली हौँ भन्ने अनुभूति थिएन । हामीले गाउँमा विद्युत् पुर्यायौँ । हौसलपुरलाई प्राथमिकता दिएर गत वर्ष जग्गाको निस्सा बाँडेका थियौँ,’ कैलारी– ७ का पूर्ववडाध्यक्ष कमलप्रसाद चौधरीले भने, ‘धेरैजसो कामका लागि भारतमा आश्रित उनीहरूलाई पुल बनेपछि सहज भएको छ ।’ त्यहाँसम्म पुग्ने बाटोको समस्या रहेको उनले बताए । वडाध्यक्ष दीपेन्द्रबहादुर बमले एक सातादेखि पुलमा ओहोरदोहोर सुरु भएको र यसले स्थानीयलाई सहज भएको बताए । उनले हौसलपुर जोड्ने बाटोसँगै अन्य सुविधा विस्तार गर्दै लगिने बताए ।