ग्यास चुहावटबाट भएको आगलागीमा परी गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीको उपचारका लागि सरकारले ५५ लाख ८८ हजार एक सय ६४ रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । उनको हाल भारतको मुम्बईमा उपचार भइरहेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत ११ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सो आर्थिक सहायता दिने निर्णय गरेको हो । जसअनुसार एयर एम्बुलेन्सको भाडा गृह मन्त्रालयबाट भुक्तानी भइसकेको छ । गत ४ फागुनमा बुद्धनगरस्थित डेरामा ग्यास चुहावट भएर आगलागी हुँदा आमा र भण्डारी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा आमाको निधन भएको थियो । मुम्बईमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको छ ।
त्यस्तै, सिराहाका वीसेन्द्र पासवान, लमजुङका रामबाबु अधिकारी तथा कालीकोटका संग्रामे सार्कीलाई तीन–तीन लाख रुपैयाँका दरले आर्थिक सहायता वितरण भएको छ । पूर्वउपराष्ट्रपति परमानन्द झाको चालकका लागि एक वर्षको एकमुष्ट तलब दुई लाख ७६ हजार रुपैयाँ भुक्तानी गरिएको छ । ड्राइभरको तलबका लागि झाले गृहमा निवेदन दिएका थिए ।