पूर्वी नवलपरासीमा विषाक्त सिनो खाएका कारण गिद्धहरू मरेका छन्। कावासोती नगरपालिका– ३ केरुङे खोलामा विषाक्त मासु वा आहार खाएर मरेका तीनवटा स्यालको सिनो खाएर चारवटा गिद्ध मरेका छन् भने एक दर्जनभन्दा बढी बिरामी परेका छन्।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको पिठौली आसपासका क्षेत्रमा प्रकृतिका कुचीकार गिद्ध संरक्षणका लागि जटायु रेस्टुरेन्ट नै सञ्चालन गरिएको छ। जसका कारण यहाँ लोप हुनै लागिसकेका गिद्धहरू बिस्तारै बढ्न थालेका छन्।

तर, छरछिमेक गाउँ र जिल्लाहरुमा विषाक्त सिनोका कारण गिद्धको मृत्यु हुन्छ भन्ने सचेतना फैलाउन नसक्दा वेलावेलामा गिद्ध संरक्षण अभियानमा ठूलो धक्का लाग्ने गरेको छ।
सोमबार कावासोतीमा यस्तै भएको छ। कावासोती– ३ को केरुङे खोलामा मरेर तीनवटा स्यालको सिनो (मासु) गिद्धले खाएपछि कतिपय मरेका छन् भने कतिपय बिरामी परेका छन्।
अहिलेसम्म बिरामी गिद्धका खोजी भइरहेको छ। भेटिएकामध्ये चारवटा गिद्धको मृत्यु भइसकेको छ। अहिलेसम्मको खोज र प्रारम्भिक अनुसन्धानको क्रममा विषाक्त आहार खाएर निधन भएको जटायु रेस्टुरेन्टका व्यवस्थापक ईश्वरी चौधरीले बताए।

गत वर्ष पनि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा विष खुवाएर मारिएका कुकुरका सिनो खाएर ठूलो संख्यामा गिद्ध मरेका थिए।
अहिलेसम्म भेटिएका घटनामा घरपालुवा जनवार गाई, कुकुर आदिको विषाक्त मासु (सिनो) खाएर गिद्ध मर्ने गरेको पाइएको भए पनि जंगली जनावरको मासु खाएर गिद्ध मरेको घटना नेपालमै यो पहिलो हो।
स्याललाई विष हालेको मासु वा कुनै आहार खुवाएर मारेको वा स्यालले कुनै विषाक्त आहार खाएर मरेका कारण सोही स्यालको सिनो मासु खाएर गिद्ध मरेको डिभिजन वन कार्यालय नवलपुर कावासोतीका सहायक वन अधिकृत शिशिर लम्सालले बताए।
गिद्ध मरेको र बिरामी परेको थाहा पाएपछि गिद्ध संरक्षणकाे अभियान थालेका जटायु रेस्टुरेन्टका कर्मचारी, डिभिजन वन कार्यालयका कर्मचारी र जिल्ला प्रहरी कार्यालय नवलपुरका टोलीले गिद्धको उद्धार गर्दै उपचार गरेका छन्।
उद्धार स्थलमा खटिएका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले आफूले यस विषयमा अनुसन्धान गरिरहेको र यदि कसैले स्याललाई विषाक्त आहार खुवाएर मारेको पाइए कारबाही प्रक्रिया अगाडि बढाउने बताए।

जंगली जनावरबाट घरपालुवा पशु–पक्षीहरू बाख्रा, कुखुरा, हाँस आदि जोगाउन नियतवश कसैले स्याललाई विष हालेर आहार खुवाएको भए पनि वा भूलवश कसैले विषाक्त खानेकुरा फालेर स्यालले खाएर मरेको भए पनि त्यही स्यालको सिनो अर्थात् मासु खाएर गिद्ध मर्नु भनेको अझै गिद्ध संरक्षणको सचेतना अभियान समुदायस्तरसम्म पुग्न नसकेको प्रमाणित हुनु हो।
विषाक्त सिनो खाएर डंगर जात, हिमाली गिद्ध मरेको र बिरामी परेको पाइएको हो। घटनास्थल वरवर जंगल भएका कारण खोजीकार्य अझै केही दिन लाग्न सक्ने देखिएको छ। नवलपुरमा दुई दिनअघि मात्र डंगर जातको १० वटा गिद्ध प्रजनन केन्द्रबाट हुर्काएर प्राकृतिक वासस्थान जंगलमा छाडिएको थियो।