‘संघीय शिक्षा ऐन जारी गरी सबै समस्या एकमुष्ट सम्बोधन गर्छौँ’

सोमबार, २९ फागुन, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताएका छन्। सोमबार पद्माेदय विद्यालयको हीरकजयन्तीको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले सरकार र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको र शिक्षा क्षेत्रका सम्पूर्ण समस्या एकमुस्ट रूपमा सम्बोधन गर्न लागेको बताए।

सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी आधुनिक विज्ञान, प्रविधि र व्यावसायिक बनाउन वर्तमान बदलिएको राजनीति र सामाजिक व्यवस्थाअनुरूपका पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उल्लेख गरे। 

प्रधानमन्त्री दाहालले प्राविधिक शिक्षालाई जोड दिँदै विश्वबजारमा प्रतिस्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षा अनुसन्धानमुखी बनाउन आवश्यक रहेको बताए। 

यसका निम्ति नीतिगत, कानुनी, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य आवश्यक रहेको बताए। प्रधानमन्त्री प्रचण्डले शिक्षाको विकास देश र जनताको सर्वांगीण विकासको आधारस्तम्भ भएको बताए। 
 

सुझावित समाचार