दुर्लभ प्रजातिका १० वटा गिद्धलाई जंगलमा छाडियो

शनिबार, २७ फागुन, २०७९
डिजिटल संस्करण

पूर्वी नवलपरासी कावासोतीस्थित जटायु रेस्टुरेन्टको सब रिलिज एभिएरीमा राखिएका दुर्लभ डंगर प्रजातिका १० वटा गिद्धलाई प्राकृतिक वासस्थानमा छोडिएको छ।

चितवन राष्ट्रिय निकुञ्जको कसरा प्रजनन केन्द्रमा हुर्किएका गिद्धलाई गत कात्तिकमा नवलपरासीस्थित जटायु रेस्टुरेन्टमा ल्याइएको थियो। तिनै दुर्लभ डंगर प्रजातिको गिद्धलाई शनिबार प्राकृतिक वासस्थानमा छोडिएको संरक्षणविद् तथा जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले जानकारी दिए।

गिद्धहरूलाई प्राकृतिक वासस्थानमा छोड्नुअघि उनीहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। जंगलमा छाडएिका गिद्धको निगरानी गर्न ढाडमा स्याटेलाइट ट्याग र खुट्टामा गणनाको लागि सहज हुने नम्बर ट्याग लगाएर छाडिएको चौधरीले बताए।

यसरी ट्याग लगाएर छाडिएका गिद्धहरूको दैनिक रूपमा निगरानी गरिने भएकाले उनीहरू उडेर कहाँ पुगे या कति दूरी पार गरेका छन् भन्ने तथ्यांक आउने चौधरीले जानकारी गराए। उनका अनुसार सन् २०१७ देखि २०२३ सम्म निकुञ्जको गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका ६९ गिद्ध र जंगली गिद्ध ७० गरी १३९ वटा गिद्धलाई सेटलाइट ट्याग लगाएर प्राकृतिक वासस्थानमा छाडिएको छ।

नेपालमा पाइने गिद्धमध्ये जटायु रेस्टुरेन्ट पिठौलीमा आठ प्रजातिको गिद्धको वासस्थान रहेको छ। नेपालभर करिब १५ हजारको संख्यामा गिद्ध रहेको अनुमान गरिन्छ।

See More On

सुझावित समाचार