अफगानिस्तान महिला अधिकारका दृष्टिले विश्वकै दमनकारी

तीन करोड ८० लाख अफगानीमध्ये आधाभन्दा बढीले भोकमरीको सामना गरिरहेका छन्, करिब ४० लाख बालबालिका कुपोषणबाट ग्रस्त छन्

शुक्रबार, २६ फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रसंघले तालिबान सरकारको अधीनमा रहेको अफगानिस्तान महिला अधिकारका लागि ‘विश्वको सबैभन्दा दमनकारी देश’ रहेको र यहाँका अधिकारीहरूले महिला र केटीहरूलाई उनीहरूको घरमै सीमित रहन बाध्य पारेको जनाएको छ । अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानको सुरक्षा गर्न आह्वान गर्दै करिब २० महिलाले बुधबार काबुलको सडकमा एउटा दुर्लभ प्रदर्शन गरे । तालिबान सरकारले इस्लामको कठोर व्याख्यालाई परिपालना गर्छ । त्यसैले उसले सन् २०२१ को अगस्टमा सत्तापलट गरेदेखि केटी र महिलामाथि थुप्रै प्रतिबन्ध लगाएको छ ।

‘अफगानी महिला र केटीहरूलाई सार्वजनिक क्षेत्रबाट बाहिर राख्ने तालिवानको योजनाबद्ध र व्यवस्थित प्रयास देख्दा दुःख लागेको छ,’ अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय नियोगकी प्रमुख रोजा ओतुनबायेभाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भनिन् ।

अफगानिस्तानले विश्वको सबैभन्दा ठूलो मानवीय र आर्थिक संकटको सामना गरिरहेको वेला महिलामाथिको दमन ‘राष्ट्रिय आत्मसम्मानमा क्षतीको कार्य’ भएको संयुक्त राष्ट्रसंघीय मिसनले टिप्पणी गरेको छ । तालिबान अधिकारीहरूले महिलालाई सबैखाले सरकारी सेवाबाट बेदखल गरेका छन् । र, महिला कर्मचारीलाई घरमै बस्न बाध्य पारेका छन् । महिलाहरूलाई पार्क, मनोरञ्जनस्थल  जिम, र सार्वजनिक नुहाउने स्थानमा जानबाट पनि रोक लगाइएको छ ।  सार्वजनिक स्थानमा हिँडडुल गर्दा बुर्का लगाएर अनुहार छोप्न आदेश दिइएको छ ।

सन् २०२१ को अगस्टमा सत्तापलट गरेदेखि तालिबानले महिलामाथि थुप्रै प्रतिबन्ध लगाएको छ । महिलालाई पार्क, मनोरञ्जनस्थल  जिम, र सार्वजनिक स्नानागारलगायतका स्थानमा जान रोक लगाइएको छ । सबैभन्दा ठूलो दमन किशोरी र विश्वविद्यालयका छात्रामाथि भएको छ । 

तर, सबैभन्दा ठूलो दमन किशोरी र विश्वविद्यालयका छात्रामाथि भएको छ । अधिकारीहरूले उनीहरूलाई माध्यमिक विद्यालय र उच्च शिक्षाका संस्थानहरूमा जानबाट रोक लगाएका छन् । गिरफ्तारी, हिंसा र सामाजिक कलंकको जोखिम मोलेर केही महिलाहरूले भने प्रतिबन्धविरुद्ध छिटपुट विरोध प्रदर्शन गरिरहेका छन् । तर, तालिबान सरकारका अधिकारीहरूले प्रायः उनीहरूलाई तत्काल तितरबितर पार्ने गरेको छ । ‘राष्ट्रसंघले अफगानिस्तानी जनताको भाग्यबारे निर्णायक र गम्भीर निर्णय लिने समय आएको छ,’ काबुल र्यालीमा प्रदर्शनकारीहरूमध्ये एकले भनिन् । कुनै पनि देशले आधिकारिक रूपमा तालिबान सरकारलाई अफगानिस्तानको वैध शासकको मान्यता दिएका छैनन् ।

उनीहरूले महिलाहरूको शिक्षाको अधिकारलाई सहायता र मान्यताको पूर्वसर्त बनाएका छन् । अहिले देशका तीन करोड ८० लाख मानिसमध्ये आधाभन्दा बढी भोकमरीको सामना गरिरहेका छन् । करिब ४० लाख बालबालिका कुपोषणबाट ग्रस्त रहेको सहायता एजेन्सीहरूले बताएका छन् । गत वर्षको अन्त्यतिर तालिबान नेतृत्वले अफगान महिलालाई गैरसरकारी संस्थाहरूसँग काम गर्न प्रतिबन्ध लगाएपछि धेरैजसो सहायता एजेन्सीहरूले आफ्ना कामकारबाही स्थगित गर्नुपर्ने परिस्थिति उत्पन्न भयो र संकट थप गहिरो भयो ।

तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानको सम्पत्ति अमेरिकाले रोक्का गरेसँगै वैदेशिक सहायतामा पनि नाटकीय रूपमा गिरावट आएको छ, जसले संकटलाई गम्भीर बनाएको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघकी महिला विशेष प्रतिनिधि एलिसन डेभिडियनले सरकारको कट्टर स्लामिक नीतिले ‘सम्पूर्ण अफगानिस्तानलाई असर गरेको र यसको प्रभाव पुस्तौँ प्रतिध्वनित हुने’ बताइन् ।

 

सुझावित समाचार