राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको र उक्त बैठकले बृहत्तर हितबारे निर्णय लिने बताए।
बुधबार दिउँसो १ बजे बोलाइएको बैठकले राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा बृहत्तर हितलाई हेरेर निर्णय लिने प्रवक्ता श्रेष्ठले बताए।
उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा हामी सबै विकल्पमा खुला छौँ, पार्टीको बृहत्तर हितलाई ध्यान दिएर निर्णय गर्छौँ।’
यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन्।
राप्रपाको फागुन १२ गतेको बैठकले राष्ट्रपतिको निर्वाचनमा प्रस्तापक र समर्थक दुवै नबस्ने भनेर निर्णय गरेको थियो।