आइतबारदेखि सुरु भएको चीनको नेसनल पिपुल्स कंग्रेस (एनपिसी) १३ मार्चसम्म जारी रहनेछ । यो कंग्रेसले विविध मुद्दामाथि छलफल गर्नेछ । चीनको राज्य परिषद्ले कंग्रेसमा यो वर्षको वार्षिक बजेट पेस गर्दै आर्थिक वृद्धिको लक्ष्य ५ प्रतिशत तोकेको छ, जुन दशककै कम हो ।
बेइजिङ गत वर्षको अन्तमा लकडाउन, सामूहिक परीक्षण र क्वारेन्टिनको आफ्नो कठोर शून्य कोभिड नीति परित्याग गरेपछि विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई गति दिन चाहन्छ । सन् २०२२ मा चीनको अर्थतन्त्र ३ प्रतिशतले बढ्यो, जब कि आर्थिक वृद्धिदरको लक्ष्य ५.५ प्रतिशत थियो । त्यो पूरा हुन नसक्नुका मुख्य कारण सुस्त उपभोग, उच्च बेरोजगारी दर, ओरालिँदो घरजग्गा कारोबार, व्यवसायहरूको आत्मविश्वासमा कमी, स्थानीय सरकारको ऋण समस्या तथा अमेरिकाले थोपरेको प्रविधि–प्रतिबन्ध आदि रहेको बताइएको छ ।
सन् २०२० लाई छोडेर हेर्ने हो भने गत वर्षको आर्थिक वृद्धिदर ४६ वर्ष (सन् १९७६) यताकै न्यून हो, जुन चिनियाँ नेता माओत्से तुङको सांस्कृृतिक क्रान्तिको अन्तिम वर्ष थियो ।यद्यपि, गत महिनाको उत्पादन गतिविधि हेर्दा चीनको अर्थतन्त्र महामारीपछि फेरि लयमा फर्किन थालेको देख्न सकिन्छ । एक दशकभन्दा लामो समय तीव्र गतिले विस्तार भइरहेको अर्थतन्त्रमा आगामी दिनमा जोखिम आउन सक्ने चिनियाँ अधिकारी बताउँछन् ।
चीनको आगामी दिनको वृद्धिका लागि ठूलो क्षमता र गतिशीलतालाई स्वीकार गर्दै कियाङले बाह्य परिस्थितिमा अनिश्चितताको उदयतिर इसारा गरे । उनको इसारामा उच्च मुद्रास्फीति, चीनलाई दबाउने र एक्ल्याउने बाहिरी प्रयासतर्फ थियो । उनको यो भनाइले अमेरिकासँग चलिरहेको तातो भूराजनीतिलाई संकेत गर्छ । अधिकांश अर्थशास्त्रीले चीनको उच्च वृद्धिदरको युगलाई प्रत्येक वर्ष दोहोर अंकको वृद्धिले चित्रित गरेको बताउँछन्, जुन अहिले ‘अतीत’ बनिसकेको छ ।
वृद्धि लक्ष्यलाई पछ्याउन चीनको अर्थतन्त्र हाँक्न छानिएका चार नयाँ सारथिले निजी क्षेत्रको आत्मविश्वास कसरी बढाउँछन्, हेर्न बाँकी छ । यो सञ्चित कोष र मौद्रिक नीतिभन्दा महत्वपूर्ण कुरा हो ।
गत वर्ष मार्चमा अस्ट्रेलियन थिंक ट्यांक लोई इन्स्टिच्युटले जारी गरेको एक रिपोर्टमा सन् २०५० सम्म प्रत्येक वर्ष चिनियाँ अर्थतन्त्र औसतमा २ देखि ३ प्रतिशतसम्म वृद्धि हुने प्रक्षेपण गरेको थियो । लामो समयदेखि चलिरहेको अड्कलबाजीमा शंका जनाउँदै इन्स्टिच्युटले विश्वकै ठूलो अर्थतन्त्र अमेरिकालाई उछिन्दै चीनले आगामी दशकमा त्यो स्थान कब्जा गर्ने रिपोर्टमा उल्लेख गरेको थियो ।
कंग्रेसको उद्घाटन समारोहमा कियाङले बेइजिङले विकास वृद्धिका लागि सरकारको ढुकुटीमा बोझ नथप्ने, निजी खपतलाई पुनर्जीवित गर्ने र खर्चलाई स्थिर गर्नेतर्फ जोड दिनुपर्ने बताए । उनका अनुसार सरकारले सन् २०२३ मा सञ्चित कोष घाटा ३ प्रतिशत कायम राख्ने बताए । यस्तो घाटा गत वर्षको २.८ प्रतिशतभन्दा ०.२ प्रतिशतले मात्रै बढी हो । यही वर्ष एक करोड २० लाख नयाँ सहरी रोजगारी सिर्जना गर्नेमा पनि कियाङको जोड थियो । यस्तो रोजगारीको लक्ष्य गत वर्ष एक करोड १० लाख थियो ।
हङकङस्थित एसिया प्यासिफिकका प्रमुख अर्थशास्त्री एलिसिआ गार्सिया हिरेरोले चीनले अपेक्षालाई व्यवस्थित गरेको बताउँछन् । उनका अनुसार चीनले सरकारी अनुदान घोषणालाई घटाइरहेको छ । कारण, चीन बजेट घाटा कम गर्न चाहन्छ । खासमा चीनको आर्थिक सुधार अस्पष्ट थियो । सरकार परिवर्तनको स्थितिलाई हेर्दै आगामी महिना नियुक्त हुने अर्थतन्त्र हाँक्न चुनिएका चार नयाँ सारथिले निजी क्षेत्रको आत्मविश्वास कसरी बढाउँछन्, हेर्न बाँकी छ । यो सञ्चित कोष र मौद्रिक नीतिभन्दा महत्वपूर्ण हो ।
वृद्धिदरको लक्ष्य कति सहज ? : अधिकांश अर्थशास्त्रीले चीनले यो वर्षका लागि लिएको ५ प्रतिशतको लक्ष्य पूरा भई सम्भवतः सो लक्ष्य कट्न सक्ने बताउँछन् । आइएनजी फाइनान्सियल ग्रुपले भने यो धेरै आशावादी नभएको र विकासलाई बढावा दिन खर्च पनि धेरै गर्न नसक्ने बताएको छ ।
ग्रुपका अनुसार बजेट दीर्घकालीन वृद्धिको चुनौतीमा केन्द्रित रहनेछ । तर, ५ प्रतिशतको लक्ष्य प्राप्त गर्नमा भने खासै चुनौती देखिँदैन । ‘गत वर्षको आर्थिक गतिविधि हेर्दा आर्थिक वृद्धिदर ५ प्रतिशतभन्दा कम हुँदैन,’ पिनप्वाइन्ट एसेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झिवी झाङ भन्छन्, ‘एनपिसीले वृद्धि प्रोत्साहन नीति अख्तियार गर्ने सम्भावना छैन । किनकि, आर्थिक सुधार पहिलेदेखि नै लयमा छ ।’ गार्सिया चालू वर्षमा चीनको अर्थतन्त्र सम्भवतः ५ प्रतिशतभन्दा बढीले विस्तार हुने बताउँछन् ।
एजेन्सीको सहयोगमा