बालविकासमा देखिने समस्या कसरी समाधान गर्ने ?

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

बालबालिकाको विकास राम्रोसँग हुनुपर्छ । बालविकासमा असर पुग्दा युवावस्था र त्यसपछिको उमेर पनि प्रभावित हुन्छ । तर विडम्बना ! नेपाली समाजमा बालविकासलाई त्यति धेरै प्राथमिकता भने दिएको पाइँदैन । हामीले बालबालिकाको शारीरिक तथा मानसिक विकासका क्रममा देखिने चुनौतीहरू पहिल्याएर यसको समाधान खोज्न लाग्नुपर्छ । 

देखिन्छन् यस्ता समस्या
सामान्यतः बच्चाले एक वर्ष भएपछि कम्तीमा एउटा शब्द बोल्नुपर्छ । तर, केही बच्चाको वर्षदिन पुग्दासमेत बोली फुट्दैन । कतिपयमा वंशानुगत कारणले पनि ढिलो बोल्न थाल्ने हुन्छ । समयमै बोली फुटेन भने बालबालिकालाई चिकित्सककहाँ लगेर देखाउनुपर्छ । सामान्यतया १३ महिनामा बालबच्चा हिँडडुल गर्न सक्नुपर्छ । यस्ता कुरा आफ्ना बच्चाले गरेको छ कि छैन भनेर अभिभावकले ख्याल गर्नुपर्छ । 

महिना नपुगी जन्मिदा, सुगरको मात्रा कम हुँदा वा अन्य कुनै कडा संक्रमणको कारणले गर्दा पनि बालविकासमा अवरोध पुगेको हुन सक्छ । पौष्टिक तत्व जस्तै, भिटामिन ‘ए’, ‘बी’, आइरनलगायतको कमीले गर्दा पनि बालविकास ढिला भएको हुन सक्छ । त्यसैले यस्ता समस्यालाई बेवास्ता गर्नुहुँदैन । उपचार प्रक्रिया थाल्ने हो भने समाधान पहिल्याउन सकिन्छ । त्यसका लागि चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ । 

निम्तिने कारण
ढिलो बोली फुट्नु वा सुन्ने शक्ति कमजोर हुनुको कारण अटिजम पनि हुन सक्छ । अटिजम भएका बालबालिकाको विकास अरूभन्दा पृथक् र ढिला गतिमा हुने गर्छ । उनीहरू अन्यसँग कम घुलमिल हुन्छन् । यस्ता बालबालिकालाई अभिभावकले विशेष ख्याल राख्नुपर्छ । विभिन्न थेरापीका माध्यमबाट उनीहरूलाई बोल्ने कला सिकाउन सकिन्छ । त्यस्तै, हिँडडुल गर्न उत्प्रेरित गर्न सकिन्छ । 

हामीले बुझ्नुपर्ने कुरा अटिजम भएको बच्चामा अन्य बच्चाको दाँजोमा ७० प्रतिशत बौद्धिक क्षमता बढी हुन्छ । त्यसैले उनीहरूलाई सानैदेखि विशेष हेरचाह गरेर सामाजिक कुराहरू सिकाउँदै गइयो भने हरेक कुरामा अब्बल बनाउन सकिन्छ । त्यसका लागि पहिले चिकित्सकसँग परामर्श गरेर बालबालिकाको परीक्षण गर्नुपर्ने हुन्छ । कतिपय बालबालिकामा डाउन सिन्ड्रोम पनि हुन सक्छ । बच्चाको कुनै अंगको विकास ढिलो भएको हो वा समग्र विकास ढिलो भएको हो, कुन समस्याबाट बालबालिका प्रभावित छन् भनेर चिकित्सकले परीक्षणमार्फत निक्र्योल गर्न सक्छन् । 

कतिपय बच्चालाई लेख्न, पढ्न पनि समस्या भइरहेको हुन्छ । कोही बच्चामा आवश्यकताभन्दा धेरै चकचक गर्ने स्वभाव पनि हुन्छ । यसमा पनि अभिभावकले हैरानी मान्नुहुँदैन । उनीहरूको अवस्था र मनोभाव बुझ्ने प्रयास गर्नुपर्छ । मानसिक विकासका देखिएका समस्याबारे मनोचिकित्सकसँग परामर्श गर्नुपर्ने हुन्छ । 

समाधानका केही उपाय 
बच्चालाई कापीमा कोर्न लगाउने, खेलौनाहरू खेल्न दिनेलगायत काम गरेर सक्रिय बनाउन सकिन्छ । स्कुल जाने उमेर भएपछि साथीभाइसँग घुलमिल हुन प्रेरित गर्ने गर्नुपर्छ । यसो हुँदा बालविकास सहज हुन्छ । उनीहरूलाई बिस्तारै आफैँ हात धुन सिकाउने गर्नुपर्छ । बच्चालाई मानसिक रूपमा सुदृढ बनाउनका लागि विभिन्न कलर नम्बरहरू राखिएका पजल खेल्न सिकाउने गर्नुपर्छ । यसले उनीहरूलाई स्मार्ट बनाउँछ । 

उनीहरूलाई शारीरिक गतिविधिमा सक्रिय गराउनुपर्छ । बच्चाको इच्छाअनुसार विभिन्न खेल खेलाउन सकिन्छ । कराँते, तेक्वान्दो, फुटबललगायत खेलले हातखुट्टालाई सक्रिय बनाउँछ । बच्चाको हड्डी र मांसपेशी बलियो बनाउँछ, रक्तसञ्चार राम्रो बनाउँछ र मानसिक रूपमा सुदृढ बनाउँछ ।

सुझावित समाचार